मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १९ बिहीबार ०७:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

मजदुरका छोराछोरीले टिकाएको लक्ष्मी प्रावि

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १९ बिहीबार ०७:५४:००

जिल्ला सदरमुकाम बेँसीसहरमा रहेको बाल लक्ष्मी मन्दिर प्राथमिक विद्यालय ४८ वर्षअघि स्थापना भएको हो । यस विद्यालयबाट कखरा सिकेर धेरैले उच्च शिक्षा हासिल गरे ।

कतिपय देशको विशिष्ट तहमा समेत पुगेका छन् । तर, उनीहरूको नजरमा यो विद्यालय कहिल्यै परेन । शिक्षित भनिएका परिवारले छोराछोरीलाई निजी स्कुलमा भर्ना गरेपछि यो विद्यालयलाई मजदुरका छोराछोरीले टिकाएका छन् । 

विद्यालयका प्रधानाध्यापक भगवती जोशीका अनुसार घरआँगनमै रहेको सामुदायिक विद्यालय छोडेर स्थानीयहरू  टाढाको बोर्डिङमा छोराछोरी पठाउँछन् । उनले भनिन्, ‘पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच उनीहरूमा छ ।

गाउँको स्कुल फर्केर पनि हेर्दैनन् ।’ ०४२ सालमा स्थानीयले नै जग्गादान र श्रमदान गरी यो विद्यालय बनाएका थिए । आफैँले स्थापना गरेको विद्यालयलाई उनीहरूले ३० वर्षपछि वास्ता गर्न छाडेका छन् । 

शिशु कक्षामा मात्रै १० विद्यार्थी  

यस विद्यालयमा शिशुदेखि ५ कक्षासम्म पढाइ हुन्छ । विद्यालयमा जम्मा ४२ विद्यार्थी छन् । प्रधानाध्यापक जोशीका अनुसार कक्षा १ मा ६ जना विद्यार्थी छन् जसमा ४ छात्रा र २ छात्र छन् भने कक्षा २ मा ७ जना विद्यार्थी छन् । जसमा ५ छात्रा र २ छात्र छन् ।

कक्षा ३ मा पनि ६ जना विद्यार्थी अध्ययनरत छन् । जसमा ४ छात्रा र २ छात्र छन् । यस्तै, कक्षा ४ मा ७ जना अध्ययनरत छन् जसमा ३ जना छात्रा ४ जना छात्र छन् । कक्षा ५ मा १ जना छात्रा र ३ जना छात्र अध्यनरत छन् ।

शिशु कक्षामा १० जना विद्यार्थी अध्यनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयमा एकजना काज, तीनजना दरबन्दी र एकजना बालविकास गरी ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन् ।

‘विद्यार्थी भर्ना अभियानलाई जतिसुकै प्रभावकारी बनाउने प्रयास गरे पनि स्थानीयले छोराछोरी भर्ना गर्न ल्याएनन्,’ प्रअ जोशीले भनिन्, ‘गाउँलेलाई वास्तै छैन । यहाँ पढ्न आउने निम्न आर्थिक अवस्थाका मजदुरका छोराछोरी मात्रै हुन् ।’

विद्यालयमा भर्ना भएका विद्यार्थी पनि सबै आउँदैनन् । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थी नियमित विद्यालय नआएको शिक्षकहरूको भनाइ छ । केही ठूला केटाकेटी बाबुआमासँगै मजदुरी गर्न जान्छन् ।

प्रअ जोशीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालबालिका विदाको समयमा सिजनअनुसार जंगलमा निगुरो र टुसा खोज्न जाने गर्छन् । निगुरो र टुसा बेचेको रकमबाट कापी कलम किन्ने गरेको प्रअ जोशी बताउँछिन् ।