१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोपलाल अर्याल गुल्मी
२०७६ मङ्सिर १९ बिहीबार ०७:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बाग्लुङ जिप दुर्घटना : शोकमा कार्की गाउँ

Read Time : > 1 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७६ मङ्सिर १९ बिहीबार ०७:३०:००

उमा कार्कीका आँखा ओभाएका छैनन् । मंगलबार घरमुलीसहित तीनजना दुर्घटनामा परे । कुलपूजाका लागि बाग्लुङ निसिखोला हिँडेका उमाका श्रीमान् धनबहादुरको शव बुधबार मात्रै फेला पर्‍यो ।

दुर्घटनास्थलमा बुहारी सूचना कार्की मृत थिइन् । घाइते अवस्थामा फेला परेका नाति चार वर्षीय हिमाल कार्की काठमाडौंमा उपचाररत छन् । ‘मन अड्याउने ठाउँ बाँकी रहेन, बुबासँगै दिदी–बहिनीहरू गुमे,’ किरिया बसेका धनबहादुरका छोरा थम्मनले भने, ‘गाउँनै रित्तो भएको छ ।’

सोही गाउँका तिलबहादुर कार्कीले दुर्घटनाको अघिल्लो रात सम्झिएर आँसु झारे । उनले श्रीमती भूमि कार्कीलाई कुलपूजामा नजान आग्रह गरेका थिए । तर, कहिल्यै नगएको भन्दै उनी हिँडेकी थिइन् । ‘म बिरामी छु आगामी कुलपूजामा मर्ने–बाँच्ने ठेगान छैन, मै जान्छु तिमी फेरि जाउली भनेको हो,’ उनले स्मरण गर्दै भने, ‘मर्न लेख्या रहेछ, कहिल्यै गएकी छैन भन्दै गइन् ।’ भूमिको १६ वर्षीय छोरा विष्णु कार्की आमाको किरिया बसेका छन् ।

१० को सामूहिक दाहसंस्कार

जिप दुर्घटनामा मृत्यु भएका १० जनाको सामूहिक दाहसंस्कार गरिएको छ । इस्मा गाउँपालिका–५ को हुलाकेघाटमा उनीहरूको दाहसंस्कार गरिएको हो । प्रदेश ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, नेकपाका जिल्लासचिव वीरबहादुर कार्की, कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दुर्घटनामा मृत्यु भएका महेन्द्र कार्की, सूचना कार्की, सीता कार्की, झवि कार्की, भूमि कार्की, मीना बस्नेत, धनबहादुर कार्की र अनुष्का कार्की तथा इस्मा गाउँपालिका–५ की वसुन्धरा कार्की, माया थापाको सामूहिक दाहसंस्कार गरिएको स्थानीय लंकबहादुर वस्नेतले बताए ।

बाग्लुङ बडिगाड गाउँपालिका–५ की लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेको लक्ष्मीका भाइ पीताम्बर कार्कीले बताए । इस्मा गाउँपालिका–४ का गाडीचालक रेशम थापाको शव मंगलबार नै परिवारले बुझेका थिए । नवलपरासी बर्दघाट नगरपालिका–२ की मुना कार्कीको शव नवलपरासी लगिएको छ । 

गाउँपालिकाले आवश्यक सहयोग गर्ने
इस्मा गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ । मंगलबार कुलपूजाका लागि हिँडेका इस्मा गाउँपालिका ४ र ५ का १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा दिएको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । उनले दुर्घटनाले गाउँपालिकालाई ठूलो क्षति पुर्‍याएकाले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । अहिले विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाले १८ मंसिरमा स्थगित प्रावि तहको परीक्षा १९ मंसिरमा र निमावि तथा माविको स्थगित परीक्षा २० मंसिरमा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।