मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका प्युठान
२०७६ मङ्सिर १८ बुधबार १०:१४:००
Read Time : > 1 मिनेट
प्रदेश

दुर्गम गाउँ दाङवाङमा कफी खेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका प्युठान
२०७६ मङ्सिर १८ बुधबार १०:१४:००

ऐरावती गाउँपालिका–१ को दुर्गम गाउँ दाङवाङमा कफीखेती फस्टाउन थालेको छ । गाउँको अमिली च्यानधनारा बस्तीमा खुमप्रसाद बेलवासेले ०६९ सालदेखि सुरु गरेको कफी लोकप्रिय बन्दै गएको हो । 

०६८ सालमा तालिमसँगै विभिन्न जिल्लाको अवलोकनपछि उनले गाउँमा कफी खेती सुरु गरेका हुन् । प्रतिबोट १० रुपैयाँका दरले एक सय बोटबाट कफी खेती सुरु गरेका बेलवासेको पछिल्लो समय कफी खेती बढाएका छन् । उनले झिमरुक औद्योगिक एकीकृत विकास केन्द्रको सहयोगमा नर्सरी राखेर कफी उत्पादन सुरु गरेका थिए । 

बेलवासेले आठ रोपनी जग्गामा कफी खेती गर्दै आएका छन् । सुरुमा सय बिरुवाबाट सुरु गरेका उनले अहिले एक हजार तीन सय कफीका बिरुवा लगाएका छन् । उनले लगाएको कफी अहिले लटरम्म फलेको छ ।

अघिल्लो वर्ष तीन क्विन्टल कफी उत्पादन गरेका उनले यो वर्ष अझ बढ्ने बताए । कफी गाउँसँगै छिमेकी जिल्लाहरू अर्घाखाँची, गुल्मीलगायतका जिल्लामा लगेर बेचेको बेलवासेले बताए । उनले कफीको प्रतिकेजी चार सय ५० रुपैयाँमा बेच्दै आएका छन् ।

वार्षिक डेढ लाख आम्दानी 
बेलवासेले १० कक्षासम्मको अध्ययन पूरा गरेका छन् । उनले गाउँमा केही नमुना काम गर्ने उद्देश्यले व्यावसायिक कफी खेती सुरु गरेको बताए । उनले कफी उत्पादनबाटै वार्षिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको बताए । 

बेलवासेले कफीसँगै केरा, मौरीपालन, तरकारी, गोरु, बाख्रा, भैँसीपालनसमेत गर्दै आएका छन् । उनले कफी खेतीबाट वार्षिक एक लाख ५० हजार र केराखेती, मौरीपालनबाट वार्षिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए ।

उनले काममा श्रीमती शारदा बेलवासेको सहयोग पाएको बताए । गाउँमै एक मात्र नमुना खेती गरेका बेलवासे पछिल्लो समय यो पेसाप्रति सन्तुष्टि भएको बताए । 

दुर्गम ठाउँ दाङवाङमा खानेपानीको अभाव छ । खानेपानीसँगै सिँचाइ गर्ने पानी पनि अभाव छ । बेलवासेलाई कफी खेतीसँगै अन्य तरकारी खेती उत्पादनमा सिँचाइ अभावले समस्या भएको छ ।

सिँचाइ सुविधा हुने भए कफी उत्पादन बढ्ने उनले बताए । उनले स्थानीय सरकारसँग सिँचाइका लागि पानीको माग गरेका छन् ।