मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १८ बुधबार ०९:४४:००
Read Time : > 1 मिनेट
विश्व

पशु चिकित्सकको सामूहिक बलात्कारपछि हत्या, भारतभर विरोध प्रदर्शन

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार ०९:४४:००

हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि हत्याको भारतभर विरोध भएको छ । दोषीलाई कडा कारबाहीको माग गर्दै हजाराैंले प्रदर्शन गरेका छन् । २७ वर्षकी ती चिकित्सकलाई घर फर्किने क्रममा एक साताअघि बलात्कारपछि हत्या गरी जलाइएको थियो ।  बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

आरोपितमध्येका दुईजनाका आमाले आफ्ना छोरा दोषी पाइए उनीहरूमाथि कडा कारबाही गर्न सरकारलाई आह्वान गरेका छन् । ‘दोषी भएको प्रमाण भए उनीहरूलाई सजाय दिइयोस् । मेरी पनि एउटी छोरी छिन्,’ एक महिलाको भनाइ उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

बलात्कारविरुद्ध आक्रोश 
हैदराबादको एउटा प्रहरीचौकीमा बलात्कारको विरोध गर्दै हजाराैं मानिस भेला भएका थिए । दोषीलाई मृत्युदण्ड दिनुपर्ने उनीहरूले माग गरेका थिए । देशका अन्य सहरमा पनि बलात्कारको विरोधमा प्रदर्शन भइरहेका छन् । पीडित बसोवास गर्ने हैदराबादको सम्साबादमा टोल प्रवेश गर्ने मुख्य गेट बन्द गरी एउटा प्लेकार्ड झुन्ड्याइएको छ, जसमा लेखिएको छ– ‘सञ्चार माध्यम, प्रहरी र बाहिरी मानिस कोही आउनुपर्दैन । कसैले सहानुभूति दिनुपर्दैन, केबल न्याय दिइयोस् ।

के भएको थियो पीडितलाई ?
डाक्टरसँग एपोइन्टमेन्ट लिएकी ती युवती आफ्नो स्कुटीमा स्थानीय समयअनुसार गत बुधबार साँझ ६ बजे घरबाट बाहिर निस्किएकी थिइन् । केही समयपछि उनले घरमा फोन गरी स्कुटीको टायर पन्चर भएको र एक लरीचालकले सहयोग गर्ने बताएको जानकारी गराएकी थिइन् । त्यसको केही समयपछि उनको मोबाइलमा सम्पर्क हुन सकेको थिएन । बिहीबार बिहान युवतीको जलेको शव फ्लाइओभरमुनि फेला परेको थियो । भारतीय कानुनअनुसार बलात्कारपीडितको पहिचान मृत्युपछि पनि सार्वजनिक गर्न मिल्दैन । तर, शुक्रबार युवतीको नाम ट्विटरको ट्रेन्डिङमा थियो । आक्रोशित दसौँ हजार ट्विट प्रयोगकर्ताले दोषीमाथि कारबाहीको माग गरेका थिए ।

‘दोषीलाई मृत्युदण्ड दिनुपर्छ’
माथिल्लो सदन राज्यसभाकी सदस्य जया बच्चनले पशु चिकित्सकलाई सामूहिक बलात्कार गर्नेलाई फाँसी दिनुपर्ने बताएकी छिन् । ‘मेरो भनाइ सुन्दा कतिलाई निर्दयी लाग्न सक्छ, तर बलात्कारीलाई सार्वजनिक स्थलमा लगेर मृत्युदण्ड दिनुपर्छ,’ संसद्मा बोल्दै बच्चनले भनिन् । बच्चन समाजवादी पार्टीको तर्फबाट सन् २००४ देखि राज्यसभाको सदस्य छिन् । पूर्वबलिउड अभिनेत्री बच्चनले संसद्मा महिलाका हक–अधिकारका विषयमा बारम्बार आवाज उठाउँदै आएकी छिन् ।