मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १८ बुधबार ०९:३०:००
Read Time : > 1 मिनेट
खेलकुद

एथलेटिक्समा नेपाली महिलालाई पहिलो स्वर्ण

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १८ बुधबार ०९:३०:००

भारतीय प्रतिस्पर्धीलाई शून्य दशमलव ०१ सेकेन्डले पछि पारेर सन्तोषीले जितिन् महिलातर्फ पहिलो स्वर्ण  

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले एथलेटिक्सको महिलातर्फ पहिलो स्वर्ण जितेको छ । सागमा सन्तोषी श्रेष्ठ नेपाललाई स्वर्ण दिलाउने पहिलो धाविका बनिन् । उनले १० हजार मिटर दूरी ३५ मिनेट ०७ दशमलव ९४ सेकेन्डमा पार गरिन् । श्रेष्ठकी निकटतम प्रतिस्पर्धी भारतकी कविता यादव ०.०१ सेकेन्डले पछि परिन् । उनले ०७ दशमलव ९३ सेकेन्डमा निर्धारित दूरी पार गरेकी हुन् । ३५ मिनेट ५९ दशमलव ०२ सेकेन्डमा दौड पूरा गरेकी श्रीलंकाकी निलान्थी लंकाले कांस्य जितिन् । 

अन्तिम ५० मिटरको संघर्ष
श्रेष्ठले सुरुवातबाटै अग्रता लिएकी थिइन् । तर, उनका लागि अन्तिम ५० मिटर निकै संघर्षपूर्ण रह्यो । सागकै सर्वाधिक रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम ल्याप सकिन ५० मिटर छँदा एक्कासि सन्तोषीलाई भारतकी कविताले झन्डै उछिनेकी थिइन् । तर, सन्तोषीले ट्र्याक चेन्ज गर्दै आफ्नो दायाँ पाइला फिनिसिङ लाइनमा टच गरिन् ।

नसोचेको उपलब्धि
‘जितपछिको खुसी शब्दमा बयान गर्न सक्दिँन, यो ठाउँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु,’ स्वर्ण विजेता श्रेष्ठले भनिन्, ‘यो मेरो दिमागले नै नसोचेको उपलब्धि हो । प्रतिस्पर्धा अद्भुत रह्यो । निरन्तरको अभ्यास र सकारात्मक सोचले सफलता मिलेको उनले बताइन् । ‘म हरेक बिहान राम्रोका लागि प्रार्थना गर्छु । सोहीअनुसार ट्रेनिङमा पनि राम्रो गर्छु,’ उनले भनिन् । धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएकी श्रेष्ठ ९ वर्षको उमेरमै अध्ययनका लागि काठमाडौं आएकी थिइन् । ‘पहिलोपटक म गीतामाता स्कुल स्वयम्भूका लागि दौडिएकी थिएँ । आज देशका लागि दौडिएर पदक जिताउन सकेँ,’ उनले भनिन् ।

रघु वन्त, प्रशिक्षक
यो उपलब्धिले नयाँ ढोका खोलेको छ । नेपालका धाविका पनि अन्तर्राष्ट्रियस्तरको पदकका हकदार छन् भन्ने प्रमाणित भएको छ । धेरै वर्षअघि कान्छीमाया कोजू यसरी नै दौडिएकी थिइन्, तर उनी दोस्रो स्थानमै सीमित भइन् । अहिले सन्तोषीले सुरुवातबाटै लिड गरिन् । पछि बसेर दौडन जति सहज हुन्छ, लिड गरेर जानु धेरै चुनौतीपूर्ण छ । यो कठिन दौड थियो, मैले उनलाई कसैको वास्ता नगरी अगाडि बढ्नु भनेको थिएँ । उनले अद्भुत प्रदर्शन गरिन् । यसरी नै एथलेक्टिसको विकास हुने हो भने हामी छिटै एसियनस्तरमा पुग्छौँ । यो स्वर्णको महत्व एथलेटिक्समा ठूलो रहनेछ, म सबै कुरा बिर्सिएर सफलताको खुसी मनाउन व्यस्त छु । 

मिहिनेतको फल मिल्यो 
यो निरन्तर सफलताको नतिजा हो । आजको खेल मेरो जीवनकै स्वर्णिम उपलब्धि हो । दौड सुरु हुँदा अन्य खेलाडीभन्दा केही पछि बस्छु भन्ने सोचेकी थिएँ । तर, जब झन्डै दुई सय मिटर दौड पूरा गरेँ, तब मलाई नियमित ट्रेनिङको दाँजोमा धेरै ढिला भएको फिल भयो । अनि आफ्नै सुरुमा अघि बढेँ । त्यसैले, सुरुवाती ल्यापबाटै मेरो अग्रता बन्यो । दौडन सजिलो छैन, तर कसैको वास्ता नगरी सधैं अघि बढ्ने हो भने सफलता मिल्ने रहेछ । एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङकै ट्रेनिङ प्लान फलो गरेर यहाँसम्म आइपुगेकी हुँ । प्रशिक्षक रघु वन्तलगायत प्रशिक्षकहरूले धेरै सिकाउनुभएको छ ।  मेरा बाबुआमा, दाइ केदार श्रेष्ठसहित परिवार र साथीभाइको साथ ठूलो छ । सबैको मोटिभेसनका कारण सफलता सम्भव भएको हो । पब्लिक हेल्थकी विद्यार्थी हुँ, भविष्यमा पढाइ र एथलेटिक्सलाई एकसाथ अघि बढाउँछु ।