मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर १८ बुधबार ०८:०३:००
Read Time : > 1 मिनेट
सम्पादकीय

अमानवीय छाउगोठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर १८ बुधबार ०८:०३:००

रजस्वला बार्ने क्रममा छुट्टै छाउगोठमा बसेकी साँफेबगर नगरपालिका–३ अछामकी एक २१ वर्षीया महिला पार्वती बुढा राउतले सोमबार ज्यान गुमाएकी छिन् । झ्याल नभएको साँघुरो छाउगोठमा चिसोबाट जोगिन आगो बालेर सुत्दा निसास्सिएर उनको मृत्यु भएको हो ।

अछाममा मात्रै विगत ११ वर्षमा छाउगोठमा १४ महिलाले ज्यान गुमाएका छन् । समग्रमा नेपालभरि नै केही अपवादलाई छाडेर रजस्वलालाई अपवित्र मान्ने अन्धविश्वास अझैसम्म गहिरो गरी कायम छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा छाउगोठमा सर्पले टोकेर, चिसोमा कठ्यांग्रिएर या निसास्सिएर प्रशस्त महिलाले अकालमै मृत्यु वरण गरेका छन् । मासिक स्रावका वेला छाउगोठ र अन्यत्रै पनि परिवारसँग छुट्टिएर बेग्लै रहँदा कतिपय बालिका र महिला यौनहिंसालगायत अन्य हिंसात्मक घटनाको समेत सिकार भएका छन् । 

वयस्क महिलामा हुने मासिक स्राव वैज्ञानिक रूपमा हेर्दा विशुद्ध प्राकृतिक, नियमित र स्वाभाविक विषय हो । मासिक स्राव मानवलगायत अन्य कतिपय प्राणीमा समेत हुने प्रजननको अभिन्न प्रक्रिया हो । मासिक स्रावका कारण नै वयस्क महिलाको शरीर गर्भाधारणका लागि तयार हुन्छ ।

मानव जीवनलाई निरन्तरता दिन नभई नहुने प्राकृतिक प्रक्रिया कसरी अपवित्र हुन्छ ? यसलाई त उल्टै पवित्र र अत्यावश्यक प्रक्रिया ठानिनुपर्छ । यसरी, महिनावारी नियमित, प्राकृतिक, स्वाभाविक र अत्यावश्यक प्रक्रिया भए पनि यसलाई अपवित्र ठान्ने अन्धविश्वासले नेपाललगायत विभिन्न मुलुकमा गहिरो गरी जरा गाडेको छ । महिनावारी भएका महिलाले नियमित काम गर्न नहुने, फलफूललगायत बोट छुन नहुने, गाईभैँसी दुहुन नहुने, परिवारका पुरुष सदस्यलाई छुन नहुने, पूजापाठ गर्न र मन्दिर छुन नहुनेसम्मका आधारहीन र अवैज्ञानिक प्रचलन कायम छन् । कतिपय अवस्थामा शिक्षित र सभ्य भनिएको समाजमा समेत महिनावारी बार्ने चलनले निरन्तरता पाएको छ ।

महिनावारी नियमित, प्राकृतिक, स्वाभाविक र अत्यावश्यक प्रक्रिया भए पनि यसलाई अपवित्र ठान्ने अन्धविश्वासले महिलालाई छाउगोठमा निसास्सिएर अकालमा ज्यान गुमाउन बाध्य बनाइरहेको छ

शिक्षित र जानेबुझेका महिलाले पनि सामाजिक र पारिवारिक दबाबका कारण महिनावारी बार्ने गरेको पाइन्छ । यो अमानवीय अन्धविश्वासले नेपालको खासगरी सुदूरपश्चिममा यति गहिरो गरी जरो गाडेको छ कि त्यहाँका दूरदराजमा अझै पनि महिनावारी भएका महिलालाई घरमा नराखेर सानो र साँघुरो छाउगोठमा राख्ने गरिन्छ । त्यस क्षेत्रमा महिनावारी भएका महिलालाई घरमा राखेमा देवीदेउता रिसाउने अन्धविश्वास कायम छ । 

महिनावारीबारे रहेको अन्धविश्वास र छाउप्रथा हटाउन सरकारी र गैरसरकारीस्तरबाट विभिन्न प्रयत्न भएका छन् । मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १० मा कुनै पनि नागरिकलाई जातपात, लिंग, क्षेत्र, भाषा, धर्म आदिका आधारमा विभेद गर्नु दण्डनीय अपराध हुने जनाइएको छ । सोही परिच्छेदमै महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न र त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउनु दण्डनीय हुने जनाइएको छ ।

नेपालको संविधानले समेत कुनै पनि आधारमा हुने भेदभावलाई अस्वीकार गरेको छ । महिनावारीमा बारिने छाउपडीलगायत विभिन्न क्रियाकलापविरुद्ध जनचेतना जगाउने गैरसरकारी निकायका विभिन्न प्रयास अझै पनि सफल नभएको देखिन्छ ।

यस्तो अमानवीय कुप्रथाविरुद्ध कानुनी प्रावधान त हुनैपर्छ, तर महिनावारी प्राकृतिक प्रक्रिया भएको र वैज्ञानिक रूपमा अपवित्र नभएको सन्देश सर्वसाधारणले बुझ्ने भाषामा समाचार, सडक नाटक, टेलिफिल्म, सामाजिक सञ्जालको प्रयोग र घरदैलो कार्यक्रमका माध्यमद्वारा लग्न सकिन्छ । बलियो गरी जरा गाडेको अन्धविश्वासविरुद्ध लड्न सरकारी र गैरसकारी निकायको समेत दीर्घकालीन, सक्रिय, सचेत र परिणाममुखी क्रियाकलाप जरुरी छ ।