१६ सय मिटर अग्लो चुरे पहाड, देख्दै डरलाग्दो ठूलो चट्टानी कटौंजे भिर । त्यही चट्टान फोडेर बनाइएको छ साबिकको खैराला गाविस पुग्ने मोटर बाटोको ट्र्याक । सानो गाडी मुस्किलले अटाउने भिरको बाटोमा ठाउँ–ठाउँमा मोड छन् । त्यो पनि ठाडै उकालोमा । कैलालीको विकट पहाडी क्षेत्र खैराला जोड्ने धरापजस्तै यो सडकमा चल्ने जिपहरूबाट जोखिम मोलेर यात्रा गर्न बाध्य छन् स्थानीय ।
तराईमाथिको अग्लो चट्टानी पहाड छिचोलेर जिल्लाको सबैभन्दा दुर्गम मानिने खैरालाको राणाकालीन गर्भा दरबारसम्म गत कात्तिकमा मोटरबाटोको ट्र्याक पु¥याइएको छ । ‘सडक सञ्जालसँग गाउँ जोडिएपछि खुसी त भएका छौँ, तर बाटो अत्यन्तै जोखिम छ,’ चुरे गाउँपालिका–४ वडाध्यक्ष अध्यक्ष कृष्ण मल्लले भने, ‘यात्रा गर्दा कतिवेला के पो हुने हो भन्ने डर लागिरहन्छ ।’
यो सडकले साबिकको खैराला गाविसलाई तराईको चौमाला बजारसँग जोड्छ । उपभोग्य वस्तु खरिद, किनमेल र उपचारलगायत अधिकांश काममा खैरालाका स्थानीय पूर्व–पश्चिम राजमार्गमा पर्ने चौमाला बजारसँग निर्भर छन् । गाडी पुगेसँगै पैदल हिँडेर आउनुपर्ने बाध्यताको अन्त्य त भएको छ, तर कहाँनेर के हुने हो भन्ने जोखिम मोलेर यात्रा गरिरहेका छन् । पैदल हिँडेर चौमाला पुग्न दिनभर लाग्ने भएकाले जिपमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष मल्लले सुनाए ।
चौमाला–खैराला करिब २४ किलोमिटरमध्ये भिर पर्ने चुरे पहाडको चुचुरोको करिब तीन किलोमिटर खण्ड अन्त्यन्तै जोखिम रहेको कांग्रेसका स्थानीय नेता टीकाराम ढुंगानाले बताए । ‘ट्र्याक खोलिएको बाँकी खण्ड पनि स्तरीय छैन,’ उनले भने, ‘एक करोडको ठेक्का ३९ लाखमा दिएपछि कसरी गुणस्तरीय बन्छ ?’ सबैभन्दा ठूलो भिर भएको कटौंजेदेखि मोहन्यालको चुचुरोमा पुग्ने खण्डको सडक निकै ठाडो र साँघुरो बनाइएको स्थानीय पदमसिंह धामीले बताए । ‘भिरमै साँघुरा मोड छन् । बाटो र मोड चौडा गरिदिएको भए यात्रा गर्दा डराउनुपर्ने अवस्था हुन्थेन,’ उनले भने ।
ट्र्याक खोल्नेबित्तिकै गाडी चलाउने प्रवृत्ति
सडक जस्तो भए पनि ट्र्याक खोल्नेबित्तिकै गाडी चलाउने प्रवृत्तिले ठूलो जोखिम निम्त्याउने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।ऐतिहासिक गर्भा दरबारमा हालै जिल्ला सभा सम्पन्न भयो । सभामा जिल्लाबाट पहिलोपटक डेढ दर्जन सवारीसाधन पुगे । अतिथिलाई लिएर गएका चालक नवीन सिंह सडकमा सवारीसाधन चलाउनै नमिल्ने बताउँछन् । उकालोमै साँघुरा मोडहरू बनाइएकाले अत्यन्तै जोखिम रहेको उनको भनाइ छ ।
‘प्राविधिक पक्षलाई ध्यानै नदिई बनाइएको यस्तो बाटोमा सवारीसाधन चलाउने अनुमति नदिनुपर्ने हो,’ उनले भने, ‘सुविधाभन्दा पनि खराब बाटोका कारण हुनसक्ने दुर्घटनालाई ध्यान दिनुपर्छ ।’ बाटो कति उकालो, ओरालो बनाउने ? मोडहरू कहाँ राख्नेजस्ता प्राविधिक पक्षलाई ध्यानै नदिइएको उनको बुझाइ छ । वातावरणीय र प्राविधिक पक्षलाई ध्यानै नदिई डोजर चालकको विवेकको भरमा बाटो काटिएको एक स्थानीयले बताए । चौमाला–खैराला सडक निर्माण सुरु भएको दशकपछि ट्र्याक खोल्ने कार्य पूरा भएको हो ।
२० किलोमिटर सडकमा यात्रा गर्दा साढे दुई सय भाडा
यो सडकमा चल्ने सवारीसाधनले रुट परमिट लिएका छैनन्, तर भाडामा भने मनोमानी गरेको स्थानीयको गुनासो छ । करिब २० किलोमिटर लामो यो सडकमा यात्रा गर्दा साढे दुई सय रुपैयाँ भाडा तिर्नुपर्छ । चौमालाबाट खैरालासम्म दैनिक दुई–तीनवटा जिप चल्छन् ।
तरकारीको भारी बोक्नुपर्ने झन्झटबाट मुक्ति
खैराला बैंसेनीका चन्द्रबहादुर भुलको बारीमा गत वर्ष फलेको सुन्तला ५० रुपैयाँ किलो पनि बिक्री भएन । पिठ्युँमा बोकेर बजारसम्म पु-याउन नसक्दा केही सुन्तला बारीमै कुहिए । यस वर्ष भने उनी बारीमै प्रतिकिलो ८० रुपैयाँका दरले सुन्तला बिक्री गरिरहेका छन् । धरापजस्तै जोखिमपूर्ण बाटो भए पनि गाउँमा मोटर पुगेपछि स्थानीयलाई तराई आउन सहज मात्र भएको छैन, गाउँमा उत्पादित उपजले बजार पनि पाएको छ । खैराला सुन्तला उत्पादनको पकेट क्षेत्र हो ।
यसअघि सक्नेले चार–पाँच घन्टा पिठ्यँुमा बोकी चौमाला पु-याएर बिक्री गर्थे । अहिले जिपमा राखेर चौमालासम्म पु-याउन सजिलो भएको छ । सडक पुगेर जीप चल्न थाल्दा गाउँमा बिक्री नभएको सुन्तला, अदुवा बजारसम्म पु-याउन सहज भएको अर्का स्थानीय दुर्गाप्रसाद ढुंगानाले बताए । ‘कोही बिरामी भए पिठ्युँमा बोकेर लैजानुपथ्र्यो । अब त्यो बाध्यता पनि रहेन,’ उनी भन्छन्, ‘तर सडक सजिलो बनिसकेको छैन ।’