मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका धनगढी
२०७६ मङ्सिर १८ बुधबार ०६:२९:००
Read Time : < 1 मिनेट
समाचार

वित्तीय सम्मेलन गर्दै सुदूरपश्चिम सरकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ मङ्सिर १८ बुधबार ०६:२९:००

सुदूरपश्चिम प्रदेश सरकारले आगामी शुक्रबार वित्तीय सम्मेलन गर्ने भएको छ । प्रदेशको आर्थिक विकासका लागि गर्न लागिएको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशमा वित्तीय पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले पहिलोपटक वित्तीय सम्मेलन गर्न लागिएको बताए ।

प्रदेशमा सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गरी यहाँको आर्थिक विकासमा सम्मेलन महत्वपूर्ण रहने उनले बताए । प्रदेशलाई समृद्धिको बाटोमा लैजाने उद्देश्यले सरकारले वित्तीय सम्मेलन गर्न लागेको मन्त्री बोहराले बताए । वित्तीय पहुँचको सुनिश्चतता गर्ने, ससानो बचत परिचालनमार्फत् पुँजी निर्माण गर्ने, प्रदेशवासीलाई आधुनिक बैंकिङ प्रणालीमा आबद्ध गर्ने र वित्तीय पहुँचका माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको मार्गमा अघि बढाउने सम्मेलनको उद्देश्य रहेको सरकारको भनाइ छ ।  

सम्मेलनको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेशले कर्जा लगानी कसरी गर्ने, सरकारको आर्थिक विकासको रणनीतिलगायतका विषयमा विज्ञहरूसँग सम्मेलनमा छलफल गरिने जानकारी दिए । वित्तीय पहुँच, लगानीलगायत विषयमा विज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गर्ने बताइएको छ । वित्तीय संघसंस्थाका प्रतिनिधिसमेत सम्मेलनमा सहभागिता हुनेछ ।  

सम्मेलनले सुदूरपश्चिमका स्थानीय तहहरूमा बैंकिङ सुविधा विस्तारमा मद्दत पुग्ने सरकारको अपेक्षा छ । अहिले प्रदेशका ८८ मध्ये पाँच तहमा बंैकिङ सुविधा पुगेको छैन । प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलनसमेत गर्दै छ । लगानी सम्मेलनलाई पनि वित्तीय सम्मेलनले सहयोग पुग्ने सरकारको अपेक्षा छ ।