सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
२०७६ मङ्सिर १७ मंगलबार ०९:१४:००
अर्थ

लद्दाखको यात्रा : लाइफ टाइम एक्स्पेरियन्स

२०७६ मङ्सिर १७ मंगलबार ०९:१४:००

साहसिक बाइक रियालिटी साे 'पल्सर डेयर भेन्चर'काे चाैथाे सिजन भारतकाे लद्दाखमा आयाेजना भयाे । अघिल्ला सिजनहरु नेपालकै मुस्ताङ, साेलुखुङ्बु र मनाङमा आयाेजना गरिएका थिए । यसपटक विश्वकै बाइक राइडरहरुकाे लाेकप्रिय गन्तव्य लद्दाखका लागि १२ जना प्रतियाेगी राइडरले कञ्चनपुरकाे महेन्द्रनगरबाट सीमा पार गरेका थिए । उनीहरुले विदेशी भूमिमा आफ्नाे बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्राभरि असीमित राेमाञ्चक अनुभव बटुलेका छन् । विश्वकै अग्ला माेटरेबल पासहरु पार गर्दै राइडरहरु लद्दाखकाे  पाङओङ लेक पुगे । नेपाली नम्बर प्लेटका बाइकमा देशकाे राष्ट्रिय झन्डा फहराउँदै लद्दाख यात्रामा निस्किएका १२ राइडरसँग नगया पत्रिकाकर्मीले गरेकाे कुराकानी 

आत्मविश्वास बढ्यो

 जितबहादुर बडैला

म कैलालीमा जन्मिएँ, त्यहीँ हुर्किएँ । मेरो गाउँ अझै दुर्गम ठाउँमा पर्छ, विकासले छुन सकेको छैन अझै । अहिले श्रीमती र सातवर्षे छोरासँग काठमाडौंमा बस्छु । तीन वर्षदेखि काठमाडौंको काँडाघारी वीरेन्द्रचोकमा मासु पसल सञ्चालन गरिरहेको छु । काठमाडौं आउनुअघि गाउँमै खेतीपाती गर्थें । एकपटक सशस्त्र प्रहरीमा पनि भर्ती भएको थिएँ, दुई वर्ष नबित्दै जागिर छाडेँ । मलाई अझ राम्रो जागिर खाने मुड चल्यो । तर, सोचेजस्तो कहाँ हुन्छ र !

मेरा धेरै सोख छन् । तीमध्ये एक हो, बाइक राइडिङ । सानो छँदा अरूले बाइक चलाएको देखेर सपनामा पनि बाइक चलाएको देख्थेँ । पछि साथीभाइका बाइक कुदाउन थालेँ । अनि आफैँ किनेँ पनि । रफ तरिकाबाट मैले बाइक चलाएको देख्ने मान्छे डराउँथे । त्यही हँकाइले होला, मलाई पल्सर डेयर भेन्चरसम्म पु-यायो ।

पल्सर डेयर भेन्चरबारे नयाँ पत्रिका पढेर थाहा पाएको हुँ । बजाजले भारतको लद्दाख लैजाँदै रहेछ । म नियमित जाने जिमखानाका साथीहरूको सल्लाहमा पल्सर डेयर भेन्चर सिजन–४ मा आवेदन दिएँ र छनोट पनि भएँ । विदेशी भूमिमा बाइक राइड गर्न पाइयो । त्यो पनि निकै लामो यात्रा । यात्रामा रमाइलो भयो र गाह्रो पनि । जीवनमा कहिल्यै नपुगिने ठाउँमा पुगियो । यस्तो राइडिङ यसअघि कहिल्यै गरेको थिइनँ । यसले मेरो आत्मविश्वास बढायो । अनुशासित भएर बाइक चलाउन सिकियो । अब जतिसुकै कठिन बाटोमा पनि बाइक कुदाउन सक्छु । पल्सर डेयर भेन्चरले मलाई धेरै कुरा सिकायो ।

अनुशासन सिकियो

प्रदीप तामाङ

मेरो घर नुवाकोटको ककनी हो, जुन काठमाडौंबाट नजिकको गन्तव्य हो । कृषक परिवारमा जन्मिएको हुँ, म । घुमफिरको सौखिन हुँ । बमलाई राइडिङ गर्न खुब मन पर्छ । पल्सर डेयर भेन्चरमा सहभागी भएपछि बाइकको सोख अझ बढेको छ । म पल्सर डेयर भेन्चरमा सुरुदेखि नै सहभागी छु । सिजन–१ मा पनि भाग लिएको थिएँ । सिजन–३ मा अब्स्ट्याकलमा फालिएको थिएँ । सिजन–४ आउन ढिलो भयो । तैपनि, एक वर्ष कुरेर बसेँ ।

पहिलाको सिजनमा राम्रो गर्न नसकेको हुनाले चौथो सिजन कुरेको हुँ । चौथो सिजनको विज्ञापन देख्नेबित्तिकै आवेदन दिइहालेँ । लद्दाख यात्रा अविस्मरणीय र रोमाञ्चक बन्यो । पहिलोपटक विदेशमा एडभेन्चर राइडिङ गर्दा खुसीको सीमा रहेन । यत्तिकै लद्दाख जान सकिँदैन । यो अवसर पल्सर डेयर भेन्चरले दिलाइदियो ।

मार्सल दाइहरूको अनुशासनमा रहेर बाइक कुदाइयो । त्यसका कारण अनुशासित भएर राइडिङ गर्न सिकियो । हामी कि त राइडिङ, कि त टास्क गरिरहेका हुन्थ्यौँ । एकछिन फुर्सद हुँदैनथ्यो । खाने, बस्ने र सुत्ने समयको ठेगान हुँदैनथ्यो । विश्वकै अग्ला पासहरू पार ग-यौं । त्यो अद्भूत अनुभव थियो । हामी हपहपी गर्मीदेखि अत्यन्तै चिसो ठाउँसम्म पुग्यौँ । पहिले क्यामेरा फेस गर्न धेरै गाह्रो हुन्थ्यो, अब सक्छु । यो आत्मविश्वास पल्सर डेयर भेन्चरले नै बढाएको हो । यात्रामा निकै रमाइलो गरियो । साथीहरूसँग झगडा पनि भयो र दोस्ती पनि ।

उत्तरी भारत घुमियो

 सिजनराज महत

मेरो घर पोखराको छोरेपाटन हो । मैले भारतको पञ्जाबबाट यसै वर्ष एमबिए सिध्याएँ । अहिले नेपाल एसबिआई बैंकको पोखरा शाखामा जुनियर अफिसर छु । म पल्सर डेयर भेन्चरमा जाँदा बैंकमा नाम निस्किसकेको थियो । हामी लद्दाखतिर बाइक राइडिङ गरिरहेका थियौँ, यता बैंकको जागिरले कुरेर बसिरहेको थियो ।

मैले भारत बसेर पढेको हुनाले कस्मिर, हिमाचल प्रदेश घुमिसकेको थिएँ । भारतको उत्तरी भेगमा लद्दाख मात्र बाँकी थियो । त्यो पल्सर डेयर भेन्चरले पूरा गरिदियो । घरमा बाइक आएको मैले एसएलसी दिएपछि हो । सानोमा कसैको बाइक देख्नेबित्तिकै चाबी मागेर कुदाइहाल्थेँ । दुईपटक बाइकमै मुस्ताङ पुगिसकेको छु । भारतमा पनि राजस्थान, हिमाचल प्रदेशका सिमला, मनाली र धर्मशालाको आठ दिनको बुलेट टुर नै गरेको छु ।

मलाई पल्सर डेयर भेन्चरको दोस्रो, तेस्रो सिजन हेर्दै गएपछि सहभागिताको रुचि  बढ्दै गयो । एमबिए सकेर जागिर खोज्दै थिएँ, त्यही बखत पल्सर डेयर भेन्चरको चौथो सिजन आउन लागेको विज्ञापन देखेँ । तत्कालै आवेदन दिएँ । सौभाग्यवश छनोटमा पनि परेँ ! लद्दाख यात्रा एकदमै रमाइलो भयो । जित्नु, हार्नु आफ्नै ठाउँमा छ, तर लाइफ लाइम एक्सपेरियन्स भयो । कति साथीहरूसँग झगडा पनि भयो । ड्रामा पनि गरियो । राजनीति पनि गरियो । विश्वका उच्च मोटरेबल पासहरू पार गरियो । बलिउड फिल्म ‘थ्री इडिएट्स’मा देखेका लोभलाग्दा दृश्यहरू हेरेर फर्कियौँ ।

रातभर बाइक कुदाइयो

 प्रियंका सिटौला

काठमाडौंको बालाजु नेपालटारमा बस्छु । मेरो पुरानो घर झापाको बुधबारे हो । अहिले बिबिएस सकेर बसिरहेकी छु । ८–९ कक्षा पढ्दादेखि नै बाइक चलाउन सिकेकी हुँ । बाइक कुदाउन थालेको सात वर्ष भइसक्यो । लाइसेन्स निकालेको पनि करिब चार वर्ष भयो । मैले सडकमा बाइक कुदाएको देख्दा मान्छेहरू छक्क पर्दै फर्कीफर्की हेर्छन् । सायद महिलाले बाइक कुदाएको देखेर होला । ‘ऊ हेर त केटीले बाइक चलाएकी’ भन्छन् । मान्छेले यसो भनिदिँदा झन् उत्साहित हुन्छु ।


मैले पल्सर डेयर भेन्चर रियालिटी सो हेर्न थालेको अघिल्लो सिजनदेखि हो । यसमा भाग लिन मन लागे पनि पढाइलगायत कारणले सकेकी थिइनँ । तर, नियमित फलोअप गरिरहेकी थिएँ । चौथो सिजन लद्दाखमा हुन लागेको कुरा फेसबुकबाट थाहा पाएँ । यसपटक सहभागी हुनैपर्छ भन्ने लाग्यो र आवेदन दिएँ ।

एउटै रङका पल्सर बाइक, नेपाली नम्बर प्लेट, अझ राष्ट्रिय झन्डा राखेर विदेशी भूमिमा कुदाउँदा गौरव महसुस हुँदोरहेछ । हामी पुगेका हरेक ठाउँ सुन्दर र मनमोहक थिए । चर्को गर्मीदेखि चिसो ठाउँसम्म हामीले बाइक कुदायौँ । यो यात्रा सोचेभन्दा धेरै रमाइलो भयो । रातभरि बाइक कुदाएको कहिल्यै बिर्सिन सक्दिनँ । भारतको चण्डीगढदेखि मनालीसम्म रातभरि बाइक कुदाएका थियौँ ।

पल्सर डेयर भेन्चरले नौलो अनुभव दिलायो । अब राइडिङमै करिअर बनाउन चाहन्छु । मेरो लक्ष्य नै राइडर बन्ने छ । यही फिल्डमा केही गरेर देखाउँछु । मलाई यो आत्मविश्वास पल्सर डेयर भेन्चरले दिलाएको हो ।

खाने र सुत्ने ठेगान हुँदैनथ्यो

 उर्मिला श्रेष्ठ

मेरो पुख्र्यौली घर काभ्रे हो । अहिले काठमाडौं स्युचाटारमा बस्छौँ । मलाई बाइक राइडिङ निकै मन पर्छ । मैले बाइक चलाउन थालेको करिब तीन वर्ष भयो । मलाई स्कुटर चलाउन मन लागेन । किनकि, स्कुटर लिएर लामो यात्रामा जान सकिँदैन । मैले बाइकबाटै लाइसेन्स निकालेँ, दादाले बाइक चलाउन सिकाउनुभयो । मैले बाइक कुदाउँदा मान्छे छक्क पर्छन् ।

मलाई बाइक सिक्ने रहर लागेको पल्सर डेयर भेन्चरले गर्दा पनि हो । पहिलो सिजन थाहा नै पाइनँ । दोस्रो सिजन हेरेपछि बाइक सिक्नुपर्छ भन्ने लाग्यो । र, यसमा भाग लिन मन लाग्यो । तेस्रो सिजन आउँदा लाइसेन्स निकालिसकेकी थिएँ । तैपनि, आत्मविश्वास नभएर भाग लिने आँट आएन । चौथो सिजनमा आत्मविश्वास बढिसकेको थियो ।

पल्सर डेयर भेन्चरको चौथो सिजन कुरेर बसिरहेकी थिएँ । एक वर्ष ढिला हुँदा अब हुँदैन कि भन्ने पनि लाग्यो । तर, एक्कासि फेसबुकमा विज्ञापन देखेपछि आवेदन दिइहालेँ । यो यात्रा ‘लाइफ टाइम एक्सपेरियन्स’ भयो । यति लामो राइडमा गएकै थिइनँ । यात्राका क्रममा धेरै कुरा सिकियो । परिवारसँग छुटेर नयाँ साथीहरूसँग लामो समय बितायौँ । आपसमा मिलेर टास्क गर्नुपथ्र्यो । खाने र सुत्ने ठेगान हुँदैनथ्यो । बाइक राइड र टास्क मात्र हुन्थ्यो । कुनै पनि टास्कबाट पछाडि हटिनँ । अग्ला पासहरू पनि बाइक चलाएरै पार गरियो । अब फेरि समय मिलाएर लद्दाख पाङओङ लेकसम्म अवश्य पुग्नेछु । र, सुन्दर लेकको मजा लिनेछु ।

प्यासनले लद्दाख पुर्‍यायो

 सौरभ केसी

मेरो घर बाग्लुङ बजारमा हो । गाउँमा माओवादी द्वन्द्व चर्किंदै गएपछि हामी बजारमा झरेका हौँ । बुबा सेनामा हुनुहुन्थ्यो । मैले स्कुलको पढाइ सिध्याउँदा नौवटा स्कुल परिवर्तन गर्नुपर्‍यो । स्कुल फेरिरहँदा मेरो पढाइ पनि तलमाथि भइरह्यो । अहिले बिबिएस सकेँ । म आर्मीको बास्केटबल कोच हुँ । स्कुलमा पनि बास्केटबल सिकाएँ/पढाएँ । बास्केटबलको अन्डर १९ मा राष्ट्रिय टिममा छनोट भएको थिएँ ।

सामाजिक काममा पनि सक्रिय छु । एकपटक विदेशतिर जान प्रयास गरेको थिएँ, तर भिसा लागेन । अहिले आफ्नै मुलुक घुमिरहेको छु । फोटोग्राफी गर्छु, त्यही पैसाले घुम्छु । मसँग अहिले पनि आफ्नो बाइक छैन । साथीभाइको मागेर चलाउँदाचलाउँदै सिकेको हुँ । सबैभन्दा ठूलो कुरा प्यासन रहेछ, जुन मसँग छ । मैले हिमाचल प्रदेशबारे धेरै सुनेको थिएँ ।

एक दिन पल्सर डेयर भेन्चर सिजन ४ को विज्ञापन देखेँ । लेखिएको थियो, ‘लद्दाख कलिङ ।’ बजाज कम्पनीले हिमाचल प्रदेश हुँदै राइडरलाई लद्दाखसम्म लैजाँदै रहेछ । मलाई पनि यसमा सहभागी हुने हुटहुटी जाग्यो । म स्पोर्टस्म्यान हुँ, राइडिङ गर्न पनि सक्छु । पल्सर डेयर भेन्चरमा किन भाग नलिनु ? मैले युट्युब सर्च गरेर तेस्रो सिजन हेरेँ । हेर्दा निकै मजा आयो । चौथो सिजनमा आवेदन दिएँ । छनोटमा पनि परेँ । यो यात्रामा धेरै कुरा सिक्ने मौका मिल्यो । नयाँ–नयाँ ठाउँ देख्यौँ । बाइक चलाएरै लामो दूरी पार गरियो । जीवनमा कहिल्यै पुग्न नसक्ने ठाउँमा पल्सर डेयर भेन्चरले पुर्‍यायो ।

नसोचेका ठाउँमा पुगियो

 निराज महर्जन

ललितपुरको धापाखेलमा जन्मिएँ र यतै हुर्किएँ । हामी यहाँका रैथाने हौँ । मध्यमवर्गीय परिवारमा जन्मिएँ । मैले १२ कक्षाको पढाइ सिध्याएको छु । व्यवस्थापन विषय पढेको हुँ । न त स्नातक भर्ना भएको छु, न त कुनै जागिर सुरु गरेको छु । कहिले स्नुकर खेलिन्छ त कहिले फुटसलका टुर्नामेन्टमा भाग लिन्छु । फुटबल पनि खेल्छु । सातदोबाटोबाट अफिसियल बी डिभिजन लिग खेलिरहेको हुन्छु । फुटसलका नेसनल लिगहरू पनि खेल्छु ।

बाइक कुदाउनु मेरो अर्को सोख हो । मामाघरमा दाइको बाइक थियो । उहाँसँग हिँड्दा म बाइक चलाउँथेँ । मामाघर नजिकै हरिसिद्धिमा हो । सानैदेखि दाइको बाइक चलाउँदाचलाउँदै सिकेको हुँ । साइकल राम्रोसँग चलाउन सक्ने हुनाले बाइक पनि छिटै सिकिहालेँ ।

पल्सर डेयर भेन्चरको पहिलो सिजन पत्तो नै पाइनँ । दोस्रो सिजन टिभीमा हेरेँ । तेस्रो सिजनमा आफैँ भाग लिएँ, तर राम्रो गर्न सकिनँ । चौथो सिजनमा पनि भाग लिएँ । बजाज कम्पनीले चौथो सिजन भारतको लद्दाखमा गर्ने भनेर फेसबुकमा देखेपछि हत्तपत्त युट्युब सर्च गरेर हेरेँ ।

लद्दाख भनेको भारतको उत्तरी क्षेत्रमा पर्दो रहेछ । लद्दाख पुग्नैपर्छ भन्ने लाग्यो । यो यात्रा निकै अविस्मरणीय रह्यो । साथीहरूसँग झगडा पनि भयो, हाँसियो पनि, रोइयो पनि । आपसमा मिलेर टास्क पनि गरियो । लामो यात्रा, कठिन टास्क, दुःख पनि पाइयो । जीवनमै नसोचेका ठाउँमा पुगेर फर्किएँ ।

म कलाकार हुँ

 शशांक बोहरा

म कैलालीको टीकापुरमा जन्मिएँ । अहिले काठमाडौंको कपन बस्छु । ‘फिल्म स्टडिज’मा स्नातक गर्दै छु । म कलाकार हुँ । मेरो मुख्य विषय अभिनय हो । पहिले नाटकमा खुबै रुचि थियो । मेरा नाटक ८–१० वटा पुगे होलान् । सानैदेखि गाडी र बाइकमा रुचि थियो । रातोपुलमा बुबाको गाडीको ग्यारेज थियो । मेकानिकल चिजमा बढी रुचि देखाउँथेँ ।

मेरो रुचि देखेर बुबाले मलाई मेकानिकल इन्जिनियर बनाउने सोच बनाउनुभयो । मेरो रुचि भने कलाकारितातिर थियो । बाइक राइडमा पनि सौखिन थिएँ । सानो छँदा मैले गाडी र बाइक चलाएको देख्नेहरू ट्वाँ परेर हेर्थे । ५–६ कक्षामा पढ्दै मैले गाडी सिक्न थालेको थिएँ । चालकको सिटमा बस्दा बाहिरबाट देखिन्नथेँ ।

बाइक चलाएरै कैलाली, धनगढी, सुर्खेत, रारासम्म पुगेको छु । मैले बाइक सिकेको पल्सरबाटै हो । बाइक चलाउन सौखिन भएकै कारण पल्सर डेयर भेन्चरले तानेको हो । पल्सर डेयर भेन्चरको चौथो सिजनको विज्ञापन देखेपछि आवेदन गर्न मन लाग्यो । मेरो बुबा र ममी विदेशमा हुनुहुन्थ्यो । मैले घरमा थाहै नदिई पल्सर डेयर भेन्चरमा आवेदन दिएँ । छनोट भएपछि घरमा भारतको लद्दाख जाँदै छु भनेँ । बुवा–ममी ट्वाँ पर्नुभयो । सुरुमा हुँदैन भन्नुभयो । पछि ‘जान त जा, तर सेफ्ली राइड गर् है’ भन्नुभयो । हामी बाइक राइडरको ड्रिम प्लेस पुगेर फर्कियौँ । 

अहिले सम्झँदा गज्जब लाग्छ । बाइक चलाउँदाचलाउँदै लेक लागेर म झन्डै ढलिनँ । धेरै कुरा देखियो, धेरै सिकियो पनि । आत्मविश्वास बढ्यो । पहिले बुलेट चलाउँदा हाफ हेल्मेट लगाउँथेँ । पल्सर डेयर भेन्चरबाट फर्किएपछि सुरक्षाको महत्व बुझेर फुल हेल्मेट नै किनेको छु । सेफ्टी गियर लगाउन थालेको छु । सेफ्टीका धेरै कुरा सिकेँ । मार्सलले धेरै कुरा सिकाउनुभयो ।

लङ राइडको सपना पूरा

 जयन्ती श्रीष मगर

म म्याग्दी मुसुङमा जन्मिएँ, रूपन्देहीको रुद्रपुरमा हुर्किएँ । अहिले बस्ने रुद्रपुरमा हो । मैले रुद्रपुरबाटै एसएलसी दिएँ । बुटवलको अक्सफोर्ड कलेजमा प्लस टु पढेँ । त्यसपछि प्राविधिक क्षेत्रमा छिर्नुपर्छ भन्ने लाग्यो । दोलखाको जिरीमा ‘आइएस्सी एजी इन भेटेनरी’ ज्वाइन गरेँ । अहिले रिजल्ट कुरेर बसेकी छु ।

बाइक सिकेको आठ वर्षजति भयो । मलाई स्कुटीको लाइसेन्स लिनै मन लागेन । पल्सर डेयर भेन्चरमा आउनुअघि पनि बाइकमै चितवन, अर्घाखाँची घुम्न जान्थेँ ।
पल्सर डेयर भेन्चर पहिल्यैदेखि मन पथ्र्यो । फस्ट सिजनबाटै हेरेकी थिएँ । पढाइ पनि सकिएको थियो, बाइक राइडिङ गर्ने चाहना पनि बढ्दै गएको थियो । त्यसैले चौथो सिजन कुरेर बसेकी थिएँ । चौथो सिजनबारे फेसबुकबाट थाहा पाएपछि आवेदन दिएँ । यसका लागि उत्साहित बनाउन साथीहरूको भूमिका धेरै छ । अडिसनको दिन मेरो ‘बर्थ डे’ परेको थियो ।

मैले योजति खुसी अब कहिल्यै पाउँदिनँ होला । मेरो बाइकमा लङ राइड जाने रहर थियो, जुन पूरा भयो । उस्तै–उस्तै रङका बाइक, नेपाली झन्डा फहराउँदै विदेशी भूमिमा बाइक चलाउन पाउँदा मज्जा आयो । मेरो सपना पूरा भयो । नयाँ साथी बनाइयो । टास्कमा झगडा परे पनि परेको वेला सबै साथीले सहयोग गर्नुहुन्थ्यो । रातभरि पनि राइड गरियो । एक ठाउँमा निद्रा लागेर लडेछु । अरू साथीहरू पनि लडेका थिए । कति अल्टिच्युडले ढले । टाउको दुख्यो, थकाइ लाग्यो । जे भए पनि रमाइलो भयो ।

सामाजिक भावना बढायो

 निशान्तकुमार शाह

मेरो घर महोत्तरीको गौशाला हो । म सामान्य किसान परिवारमा जन्मिएको हुँ । मेरा दुई बहिनी छन् । अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काम गर्छु । मेरो पोस्टिङ नुवाकोटमा छ । मैले भारतबाट इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर गरेको हुँ ।

तराईमा जन्मे/हुर्केको मान्छे, साइकल सानैदेखि चलाउँथेँ । तराईमा साइकल बढी चल्छन् । साइकल अड्याउनै नसक्ने उमेरमा चलाउन प्रयास गर्थें । त्यतिखेर बाइक देख्दा कहिले चढौँजस्तो लाग्थ्यो । ७–८ कक्षा पढ्दादेखि बाइक चलाउन थालेको हुँ । अहिले ११–१२ वर्षजति भयो । अहिले त जतासुकै जाँदा बाइकमै यात्रा गर्न मन लाग्छ ।

म बाइक राइडिङ मात्र होइन, अरू खेलमा पनि रुचि राख्छु । स्कुल–कलेज पढ्दा एथ्लेटिक्स, हाइजम्प, लङजम्प, चेसलगायत खेलमा भाग लिन्थेँ । भारतमा पढ्दा एमटिभी रोडिजमा पनि प्रयास गरेको थिएँ । नेपाल फर्किएर पनि रोडिजमा भाग लिने प्रयास गरेँ । त्यही वेला थाहा पाएँ, नेपालकै मौलिक रियालिटी सो पल्सर डेयर भेन्चर पनि छ भन्ने ।

पल्सर डेयर भेन्चरबारे थाहा पाउनेबित्तिकै तेस्रो सिजनमा प्रयास गरेँ । अब्स्ट्याकलमा पुगेर फालिएँ । चौथो सिजनमा पनि भाग लिएँ । खेलमा जित–हार जेसुकै भए पनि आत्मविश्वास बढ्छ । यसपटक पल्सर डेयर भेन्चर विदेशमा भयो । भिजिट नेपाल २०२० प्रवद्र्धन गर्नुपर्ने थियो । टास्क पनि सामाजिक भावना जगाउने खालका थिए । त्यसैले पनि यो सिजन अत्यन्तै मन प-यो । म सामाजिक काममा पहिल्यैदेखि अग्रसर हुन्थेँ । हामी सरसफाइ र वृक्षारोपण गरिरहेका हुन्थ्यौँ । 

ऋषिकेशमा हामीले सरसफाइको टास्क गरेपछि ‘कन्फिडेन्स लेभल’ अझ बढ्यो । हाम्रो ‘सेभ द नेसन’ भन्ने संस्था छ । त्यसमार्फत जनकपुरमा सरसफाइ अभियान सुरु गरेको छु । डाक्टर, इन्जिनियर, बैंकरलगायत हाम्रो समूहमा हुनुहुन्छ । सरसफाइ अभियानमा राम्रोभन्दा राम्रो काम गरेर कसरी सफल बनाउन सकिन्छ भनेर लागेको छु ।

गौरवान्वित महसुस भयो

 आकृति घले

सिन्धुपाल्चोकको चौतारामा जन्मिएकी हुँ । मेरो एउटा भाइ र एक बहिनी छन् । बुबाले रेडक्रस सोसाइटीमा काम गर्न थालेको १९ वर्षजति भयो । मैले स्नातकसम्म चौतारामै पढेँ । भक्तपुरको सानोठिमी कलेजमा शिक्षा विषयमा स्नातकोत्तर पढेँ । पहिले चौतारामा पढाउँथेँ । अहिले एउटा प्रोजेक्टमा प्रोजेक्ट अफिसर छु ।

घरमा बाबाले अफिसको बाइक ल्याउनुहुन्थ्यो । त्यही बाइक चलाउँदाचलाउँदै सिकेँ । त्यसवेला कक्षा ११ पढ्थेँ । मैले बाइक चलाउन थालेको १७ वर्षको हुँदादेखि हो । अहिले २७ वर्षकी भएँ । मलाई गाडीमा हिँड्न गाह्रो हुन्छ । बाइक चलाएर हिँड्न पाउँदा खुसी हुन्छु । सजिलो पनि हुन्छ ।

मलाई पल्सर डेयर भेन्चरबारे एकजना भाइले जानकारी गराएका थिए । उनले ‘टास्क हुन्छ, सबैजना एकैथरी लुगा लगाएर हिँड्छन्, बाइक पनि एकैथरीका हुन्छन्, ठाउँ–ठाउँमा सोसल वर्क पनि हुन्छ’ भनेपछि मैले युट्युबमा सर्च गरेर हेरेँ । त्यसवेला सिजन टु चलेको थियो । यस्तो राम्रो ठाउँमा म पनि जान पाए हुन्थ्यो भन्ने लाग्यो । सिजन ३ मा प्रयास गरेँ, तर डोरी चढ्न नसकेर आउट भएँ ।

चौथो सिजन लद्दाखमा गर्ने भनेपछि छुटाउनै मन लागेन । यो यात्रा निकै रोमाञ्चक भयो । मनाली खुब मन प-यो । चण्डीगढबाट रातभरि बाइक कुदाएर बिहान मनाली पुगेका थियौँ । ठाउँ–ठाउँमा गरेका टास्क पनि निकै रमाइला थिए । नयाँ साथी बनाउन पाइयो । नयाँ ठाउँहरू देख्न पाइयो । पल्सर डेयर भेन्चरले बाइक राइडरलाई अवसर दिँदोरहेछ । नेपालका विभिन्न ठाउँमा बाइक चलाएरै पुग्ने मेरो लक्ष्य थियो । तर, विदेशी भूमिमा नेपाली बाइक कुदाउन पाउँदा गौरव महसुस हुने रहेछ ।

अल्टिच्युडले छुन सकेन

 जेनिस गुरुङ

मेरो घर गोर्खा हो । सात वर्षयता काठमाडौंको हात्तीगौँडामा बस्छु । एसएलसी उत्तीर्ण गरेपछि पढाइ अगाडि बढाइनँ । ठमेलको ‘लर्ड अफ द ड्रिंक्स’ (एलओडी) क्लबमा बार टेन्डरको काम गर्थें । तर, डेयर भेन्चरका लागि लामो समय बिदा बस्नुपर्ने भएकाले जागिर छोड्नुप-यो । अहिले जागिर खोजिरहेको छु, । मैले पल्सर बाइक कुदाउन थालेको करिब पाँच वर्ष भयो । पल्सर डेयर भेन्चरमा दोस्रो सिजनदेखि सहभागी हुँदै आएको छु । दोस्रो सिजनमा टप १६ मा पुगेर फालिएँ ।

तेस्रो सिजनमा टप ५० बाटै आउट भएँ । चौथो सिजन कुरेर बसेको थिएँ । पल्सर नेपालको फेसबुक पेजमा नियमित फलो गरिरहन्थेँ । एक वर्ष पल्सर डेयर भेन्चर हुन सकेन । मैले पल्सर नेपालको पेजबाट जानकारी पाएँ । एक वर्ष ढिलो भए पनि चौथो सिजन आयोजना हुने भएपछि खुसी लाग्यो । अझ यसपटक विदेशी भूमि भारतको लद्दाख लैजाने भनिएको थियो । निकै उत्साहित पनि भएँ ।

चौथो सिजन निकै रोमाञ्चक भयो । बाइकमा धेरै लामो यात्रा गरियो । समथर तराईदेखि विश्वका हाइएस्ट पासहरू पार गर्दै अगाडि बढियो । सातै प्रदेशका साथीहरू भेट्न पाइयो । टास्क गर्दा कतिपय वेला झगडा पनि भयो । हाँसो, ठट्टा पनि भयो । दोस्ती पनि भयो । आपसमा मिलेर पनि टास्कहरू गरियो । फर्किंदा सबै साथी मिलेर फर्कियौँ । एकदमै अविस्मरणीय बन्यो, चौथो संस्करण ।

मैले यसपटक एकदमै राम्रोसँग राइड गरेँ । डाइरेक्टर र होस्टहरूले पनि तारिफ गर्नुहुन्थ्यो । लद्दाख यात्रा यति रमाइलो भयो कि शब्दमा बयान गर्न सकिँदैन । विदेशमा नेपालको राष्ट्रिय झन्डा राखेर बाइक कुदाउँदा गौरव महसुस भयो । 

विश्वकै अग्लो पासमा पुगेर हामीले राष्ट्रिय गान पनि गायौँ । यसपटकका टास्कहरू विल्कुलै फरक र कठिन थिए । विदेशका रियालिटी सोहरूमा देखिने टास्क आफैँ गर्न पाइयो । यात्राका क्रममा कतिलाई लेक लाग्यो । गर्मीले पनि उत्तिकै सतायो । मैले राइड पनि राम्रो गरेँ, टास्कहरू पनि राम्रै भयो, अल्टिच्युडले पनि छुन सकेन ।