मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौ
२०७६ मङ्सिर १७ मंगलबार ०७:३१:००
Read Time : < 1 मिनेट
समाचार

पछि सर्‍यो प्रचण्डको चीन भ्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौ
२०७६ मङ्सिर १७ मंगलबार ०७:३१:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्वनिर्धारित चीन भ्रमण पछि सरेको छ । प्रचण्ड नेतृत्वमा नेकपाका ५० जना नेता २४ मंसिरमा चीन जाने कार्यक्रम तय थियो । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थितिका कारण उनको भ्रमण पछि सरेको हो । 

प्रचण्डले चिनियाँ राजदूत योउ यान्छीमार्फत सोमबार चीन सरकारलाई भ्रमण पछि सार्न आग्रह गरेको संवद्ध स्रोतले जानकारी दिएको छ । नेपाल–चाइना मिडिया फोरमको कार्यक्रममा शुक्रबार प्रचण्डले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन जान लागेको बताएका थिए ।

उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता–कार्यकर्तासहित चीन जाने तयारी थियो । राष्ट्रपति सीसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता पनि तय थियो । कूटनीतिक च्यानलमार्फत प्रचण्डको चीन भ्रमण तय हुने चिनियाँ दूतावास स्रोतले जनाएको छ ।

 भ्रमणको समन्वय चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ । राष्ट्रपति सीसँग भेटवार्ताको सम्भावना रहे पनि त्यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी दिइसकेको छैन ।