१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १६ सोमबार १२:१२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

आलम आतंक : आलमलाई सिडिओले जोगाएको सशस्त्रका तत्कालीन एसपीको दाबी

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १६ सोमबार १२:१२:००

रौतहट राजपुर बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने घटनामा संलग्न रहेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आरोप अस्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा उपस्थित भएर लामाले सो घटनामा सशस्त्र प्रहरी नै नखटिएको बयान दिएका छन् । 

विस्फोट र घटनाका मुख्य अभियुक्त मोहम्मद अफ्ताब आलमलाई तत्कालीन सिडिओ दुर्गा भण्डारीले नै संरक्षण गरेको उनको दाबी छ । बम विस्फोटको सूचना पाएपछि आफूले भण्डारीसँग अनुमति मागे पनि उनले नेपाल प्रहरीले अनुसन्धान गर्ने भन्दै रोकेको लामाले बताएका छन् । 

विस्फोटमा घाइते भएकालाई ट्र्याक्टरमा राखेर इँटाभट्टासम्म पु-याउन सशस्त्रकै प्रहरीले नै स्कर्टिङ गरेको विभिन्न अनुसन्धान र प्रत्यक्षदर्शीको दाबी छ । घाइते भएपछि जिउँदै इँटाभट्टामा जलाइएका ओसी अख्तरका ससुरा समसुल मियाँले सशस्त्रको गाडीले स्कर्टिङ दिएको प्रत्यक्ष देखेको बताउँदै आएका छन् । त्यतिवेला इप्रका राजपुरमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले पनि लामाकै सल्लाहमा आलमले घाइतेलाई इँटाभट्टामा हालेको सूचना आफूले स्थानीयबाट पाएको अनुसन्धान अधिकृतलाई बताएका थिए ।

घाइतेलाई इँटाभट्टामा लैजाँदा सशस्त्र प्रहरीले नै स्कर्टिङ गरेको इन्सेकको रिपोर्टमा पनि उल्लेख छ । यही आधारमा एसपी लामालाई सोधपुछका लागि प्रहरीले प्रक्रिया अघि बढाएको थियो । उनी हङकङमा बस्दै आएको खुलेपछि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो । इन्टरपोल शाखाका एक अधिकारीका अनुसार हङकङ प्रहरीसँग कुरा भइरहेका वेला लामाका परिवारले उनी आफैँ आउने भन्दै खबर गरेका थिए । परिवारले भनेअनुसार नै उनी हङकङबाट आफैँ नेपाल आएर रौतहट पुगेका हुन् । ४ मंसिरमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए । 

आलमलाई लामाले सहयोग गरेको संकेत भेटिएपछि प्रहरीले लामालाई अनुसन्धानमा तानेको हो । ‘हङकङ प्रहरीसँग कुरा गरिरहेकै वेला उनको परिवारले खोजी गर्नुपर्दैन, उहाँ आफैँ सम्पर्कमा आउनुहुन्छ भनेर खबर गरे,’ इन्टरपोल शाखाका एक अधिकारीले भने, ‘त्यसपछि हामीले हङकङ प्रहरीलाई त्यसबारे जानकारी गरायौँ ।’ ‘उहाँ आफैँ निवेदन लिएर आउनुभएको थियो,’ जिप्रका रौतहटका प्रवक्ता नवीन कार्कीले भने, ‘हामीले साक्षीका रूपमा कागज गरेर अदालतमा बुझाएका छौँ ।’ उनको कागजले आलमविरुद्धको प्रमाण थप बलियो भएको प्रहरी अधिकारीहरू बताउँछन् । राजपुरमा खटिएको सशस्त्र प्रहरीको बेसले विस्फोटबारे आफूलाई रिपोर्टिङ गरेको र त्यसबारे सिडिओलाई जानकारी गराउँदा नेपाल प्रहरी घटनास्थल गइसकेकाले ‘स्ट्यान्डबाई बस्नू’ भन्दै जान नदिइएको उनले बताएका छन् । भोलिपल्ट मतदानको सुरक्षा र पछि मतगणनामा व्यस्त भएको भन्दै उनले अनुसन्धान नेपाल प्रहरीले गर्दै छ भन्ने मात्रै सुनेको बताएका छन् । घटनास्थल नै जान अनुमति नदिनुले सो घटनामा तत्कालीन सिडिओ भण्डारीमाथि शंका व्यक्त गरेको स्रोत बताउँछ । प्रहरीले भण्डारीसँग भने कागज गरेको छैन । 

प्रहरीले मुद्दालाई बलियो बनाउन त्यतिवेला प्रहरी महानिरीक्षकलगायत प्रहरीसँग कागज गरेको थियो । तत्कालीन महानिरीक्षक ओमविक्रम राणा, डिआइजी किरण गौतम, तत्कालीन डिएसपी तथा हालका एसएसपी पुरुषोत्तम कँडेल, तत्कालीन इन्स्पेक्टर तथा हाल डिएसपी इन्द्र सुवेदी, राजीव बस्नेत तथा तत्कालीन सइ तथा हालका इन्स्पेक्टर ईश्वरविक्रम शाहसँग कागज गरेको थियो । विस्फोटका वेला राजपुर क्षेत्रका इन्चार्ज रहेका तत्कालीन इन्स्पेक्टर सुवेदीले पनि घटनास्थल लाग्दा तत्कालीन एसपी लक्ष्मण न्यौपानेले आफूलाई जान नदिई जिल्ला तानेको कागज गरेका थिए । अन्य प्रहरीले पनि त्यतिवेला विस्फोट नै भएको बताएका थिए । तत्कालीन डिएसपी पुरुषोत्तम कँडेलले पनि आफूलाई घटनास्थल जान नदिइएको कागज गरेकाथिए । 

पहिलो संविधानसभा निर्वाचनमा बुथछेउमा बम पड्काउने र मतदातालाई तर्साएर बुथ कब्जा गर्ने योजनाअन्तर्गत बम बनाइएको थियो । बम बनाउने क्रममा २७ चैत ०६४ मा विस्फोट हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको प्रहरी दाबी छ । घटना लुकाउन घाइतेलाई समेत सुई लगाएर बेहोस बनाई इँटाभट्टामा हालेर जलाइएको पीडितले बताएका छन् । केही घाइतेको भने भारतमा लगेर उपचार गरिएको थियो । त्यसरी घाइते भएकामध्ये सफी अहमद र शंकर भनिने गौरीशंकर रामले समेत आलमविरुद्ध जाहेरी दिएका थिए । विगतमा आलमको धम्कीकै कारण उनीहरूले उजुरी दिन सकेका थिएनन् । हाल उनीहरूलाई प्रहरीले सुरक्षा दिएको छ । साथै त्यतिवेला विस्फोट भएको भनेर पुष्टि गर्ने ३५ जना साक्षीसमेत प्रहरीले कागज गरेको थियो । १२ वर्षपछि प्रहरीले घटनाको अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।