मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुख्य समाचार

२० वर्षपछि दक्षिण एसियाली खेल नेपालमा

खेल सुरुअघि नै फुटबलमा विवाद आयोजक नेपालले आफूअनुकूल ‘टाइसिट’ बनाएको भन्दै सहभागीको विरोध

सन् १९८४ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको आठौँ संस्करण सन् १९९९ पनि  नेपालले आयोजना गरेको थियो, दुई दशकपछि १३औँ संस्करणको भव्य उद्घाटन काठमाडौंमा भएको छ

दक्षिण एसियाली खेलकुदको महामेला काठमाडौंमा सुरु भएको छ । दशरथ रंगशालामा आइतबार आयोजित भव्य समारोहमा राष्ट्रपति विद्या भण्डारीले १३औँ साग उद्घाटन गरिन् । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको यो प्रतियोगिताको आठौँ संस्करण पनि सन् १९९९ मा नेपालले नै आयोजना गरेको थियो । 

‘१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको घोषणा गर्दछु,’ राष्ट्रपति भण्डारीको यो घोषणासँगै प्रतियोगिता आधिकारिक रूपमा सुरु भएको छ । ओलम्पियन तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी जितबहादुर केसीले रंगशालामा साग ‘टर्च’ भित्र्रयाए । त्यसपछि अन्य ओलम्पियन खेलाडी उमेश मास्के, राजेन्द्र भण्डारी, नयना शाक्य, वैकुण्ठ मानन्धर र दीपक विष्टले साग टर्चलाई रंगशाला परिक्रमा गराएका थिए । 

खेलाडीका तर्फबाट क्रिकेटर पारस खड्का र निर्णायकको तर्फबाट ब्याडमिन्टनका रेफ्री दीपक थापाले शपथ लिएका थिए ।  हालै निर्माण पूरा भएको दशरथ रंगशालामा कृत्रिम लाइटको प्रयोगले साग उद्घाटन विशेष देखिएको थियो । नेपाली सेना, एपिएफ र नेपाल पुलिस क्लबका कलाकारले प्रतियोगितामा सहभागी नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सको नक्साको मानव निर्मित कलात्मक आकृति बनाएर उनीहरूकै गीतमा नृत्य गर्दै स्वागत गरेका थिए । साथै, लेजर प्रोजेक्टरमार्फत सहभागी सबै देशको नक्सा र झन्डासहितको प्रस्तुति पनि राखिएको थियो । 

उद्घाटन समारोहमा खेलाडीको ‘मार्चपास्ट’देखि नेपाली कला–संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कलाकारहरूले नेपालका सातै प्रदेशको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति राखे । कुन्ती मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य, इन्दिरा जोशी र मिलन नेवाःले सागसम्बन्धी गीत प्रस्तुत गरेका थिए । उद्घाटन समारोहको अन्त्यमा गायक दीपक बज्राचार्यले आफ्नो चर्चित गीत ‘मनमगन’ प्रस्तुत गरे ।

उद्घाटन सत्रको अन्त्यमा आतिशबाजी गरिएको थियो । समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्बोधन गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत उपस्थित थिए ।

नेपालले तेस्रोपटक आयोजना गरेको साग उद्घाटन र समापन समारोह व्यवस्थापनका लागि मात्रै १३ करोड रकम छुट्याएको छ । शरदचन्द्र शाह राखेपका सदस्यसचिव छँदासन् १९८४ मा आफ्नै अग्रसरतामा नेपालले पहिलोपटक साग (तत्कालीन नाम साफ) आयोजना गरेको थियो । दोस्रोपकट सन् १९९९ मा नेपालले सागको आठौँ संस्करण आयोजना गरेको थियो ।  काठमाडौं, ललितपुर, पोखरा र जनकपुर गरी चार सहरमा सागका २८ खेल हुँदै छन् ।

सुरुमा २९ खेल समावेश गरिए पनि प्याराग्लाइडिङमा अन्य देशले सहभागिता नजनाएपछि २८ खेल मात्रै आयोजना गरिएको हो । २८ खेलमा तीन सय १६ स्वर्णसहित एक हजार एक सय ११ पदकका लागि दक्षिण एसियाका सात देशबाट झन्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा नेपालबाट मात्रै पाँच सय ९४ खेलाडी सहभागी छन् ।

औपचारिक उद्घाटनअघि नै केही खेल सुरु भइसकेका छन् । भलिबलको प्रतिस्पर्धा गत बुधबारबाटै सुरु भएको हो । नेपाली पुरुष टोली भलिबलको पदक होडबाट बाहिरिसकेको छ । महिला टोली भने फाइनलमा पुगेको छ । महिला टोलीले स्वर्ण पदकका लागि मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दै छ । खोखो खेल कीर्तिपुर र ब्याडमिन्टन पोखरामा आइतबारबाटै सुरु भएका छन् । प्रतियोगिताका अधिकांश खेल सोमबारबाट सुरु हुँदै छन् । समापन समारोह २४ मंसिरमा दशरथ रंगशालामै हुनेछ । 

आइसियुमा बसेर आइप्याडमा हेरे प्रधानमन्त्रीले उद्घाटन

एपेन्डिसाइटिसको अप्रेसनपछि अस्पतालमै उपचाररत प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आइप्याडबाट हेरेका छन् । चिकित्सक र सचिवालयका सदस्यको सहयोगमा प्रधानमन्त्रीले आइप्याडमै उद्घाटन हेरेको उपचारमा संलग्न एक चिकित्सकले बताए । 

प्रधानमन्त्रीले आइप्याडमा साग उद्घाटन हेरेको फोटो खिचेर सार्वजनिक गर्ने तयारीसमेत सचिवालयको थियो । तर, परामर्शविना सचिवालयले फोटो सार्वजनिक गर्न लागेकोमा चिकित्सकले असन्तुष्टि जनाएका थिए । चिकित्सककै कारण फोटो सार्वजनिक गर्न रोकिएको थियो ।

गत मंगलबार मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री आइसियूमा छन् । उनलाई आइसियूबाटै डिस्चार्ज गर्ने चिकित्सकहरूको तयारी छ । स्वास्थ्यमा सुधार भए पनि अहिले तत्काल आइसियूबाट सामान्य बेडमा लैजाँदा संक्रमण हुन सक्ने भएकाले अब सीधै आइसियूबाटै डिस्चार्ज हुने एक चिकित्सकले बताए ।

पेटको घाउ निको हुँदै गए पनि सामान्य बेडमा लैजाँदा भेटघाट बढ्ने र संक्रमण हुन सक्ने भएकाले अब एक हप्ताभित्र आइसियूबाटै डिस्चार्ज दिने उनले बताए । ओलीलाई अहिले श्रीमती राधिका शाक्यले गीत सुनाउने तथा पुस्तक पढेर सुनाउने गर्दै आएकी छिन् ।