मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर १५ आइतबार ११:४७:००
Read Time : > 1 मिनेट
समाचार

भक्तपुरमा भत्कियो कम्युनिस्ट किल्ला, कांग्रेसका भंडेल विजयी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १५ आइतबार ११:४७:००

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भंडेल २२४३ मतान्तरसहित विजयी भएका छन् । भडेलले १३ हजार ४ सय ४९ ल्याए भने नेकपाका उम्मेदवार डिपी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे । यहाँ प्रभावशाली मानिएको नेमकिपाका निरज लवजुले ५ हजार ८ सय २९ मात्रै प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका श्यामप्रसाद नेपालले ५७४, साझा पार्टीका सुरज प्रधानले ३९३, नेकपा मालेका सुदर्शन लामिछानेले ३७ र समाजवादीका सुदर्शनकुमार मुनकर्मीले ३२ मत ल्याएका जिल्ला निर्वाचन अधिकारी घमचन्द्र तिम्सीनाले जानकारी दिए । 

दुई कम्युनिष्ट पार्टी नेकपा र नेमकिपाको राम्रो पकड भएको यो क्षेत्रमा कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो । कांग्रेसबाट उम्मेदवारी दिएर तत्कालिन चाँगु गाविस अध्यक्षदेखि संसदीय निर्वाचन क्षेत्रसम्म पनि पटक–पटक पराजित हुदै आएका भडेलले यसपटक कम्युनिष्ट किल्ला तोडेका हुन् । 

यो क्षेत्रमा यसअघि नेकपाका उम्मेदवार हरिसरण लामिछाने विजयी भएका थिए । यहाँको चाँगुनारायण नगरपालिकामा नेकपाकै केन्द्रीय सदस्य सोमप्रसाद मिश्र मेयर छन् । नगरसभामा नेकपाको स्पष्ट बहुमत छ । भक्तपुर–१ संसदीय निर्वाचन क्षेत्र दशकौँदेखि कम्युनिष्ट धारमै उभिएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को कब्जामै छ । 

यसअघि प्रदेश सभा निर्वाचनमा लामिछानेले पनि १२ हजार ७ सय ८९ मत मात्रै ल्याएका थिए । त्यसबेला कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ र नेमकिपाका निरज लवजुले ७ हजार १९ मत पाएका थिए । एमाले–माओवादी एकता भएपनि नेकपाले आफ्नो वर्चस्व जोगाउन सकेन । ढकाललाई उम्मेदवारी दिइनु नहुने भन्दै नेकपा कार्यालय भक्तपुरमा स्थानीय कार्यकर्ताले दुई दिनसम्म तालाबन्दी गरेका थिए । 

नेमकिपाका लवजुले पनि गत निर्वाचनमा पाएको जति मत यसपटक ल्याउन सकेनन् । यहाँबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेमकिपाका प्रेम सुवाल निर्वाचित छन् । 

यहाँ कुल ४५ हजार १५ मतदाता छन् । त्यसमध्ये २२ स्थानका ५४ मतदानकेन्द्रबाट कुल ३२ हजार १२ मत खसेको थियो । यसपटक एक प्रदेश सभा सदस्यकालागि ९ राजनीतिक दलसहित १० जना स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा रहेका थिए ।