मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पिटर जियोघेगान /म्यारी फिटगेराल्ड
२०७६ मङ्सिर १५ आइतबार ०९:२३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

बेलायतको अस्वस्थ चुनाव

Read Time : > 3 मिनेट
पिटर जियोघेगान /म्यारी फिटगेराल्ड
२०७६ मङ्सिर १५ आइतबार ०९:२३:००

अरू विषयमा जस्तै चुनावी मामलामा पनि प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपति ट्रम्पकै झझल्को दिँदै छन्

अहिले बेलायतमा, बोरिस जोन्सन र जेरिमी कर्बिनजस्ता इतिहासकै अलोकप्रिय दुई व्यक्ति उम्मेदवार छन् । र, पाँच वर्षको अन्तरालमा तेस्रोपटक मतदान हुँदै छ । त्यसैकारण, यही डिसेम्बर १२को आमचुनाव बेलायतका लागि निकै पीडादायी हुँदै छ ।  बेलायती मतदाता, इतिहासकै अभूतपूर्ण झुट, छलकपट एवं दुश्प्रचारका बाढीमाझ बिचरा बन्न बाध्य भएका छन् । लामो समयदेखि ‘स्वस्थ तथा निष्पक्ष निर्वाचन’को उदाहरण बनिरहेको  बेलायत अहिले, झुट, छलछाम एवं डिजिटल बेइमानीको प्रयोगस्थल बनेको छ । र, त्यसबाट अब विश्वभरका अन्य थुप्रै मुलुक अछुतो रहने छैनन् । 

अरू विषयमा जस्तै यस चुनावी मामलामा पनि प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपति ट्रम्पकै झझल्को दिँदै छन् । जोन्सन नामुद ढँटुवाका रूपमा परिचित छन् । उनले झुटा उद्धरण राखेका कारण पत्रकारको आफ्नो पहिलो जागिर गुमाएका थिए । त्यसैले, बेलायतको चुनाव तिकडमबाजीका कारण अमेरिकाकै जस्तो हुने देखिँदै छ । सत्य र झुटको अवधारणा विकृत बनेको छ ।  

सामाजिक सञ्जाल झुट मञ्चनको स्थल बनेको छ । हालै, जोन्सन र कर्बिनबीचकोे एक टिभी बहसका क्रममै कन्जर्भेटिभ पार्टीले आफ्नो ट्विटर अकाउन्टको नाम परिवर्तन गरेर ‘फ्याक्टचेकयुके’ बनायो र बहस सकिएलगत्तै त्यसलाई पुरानै नाममा बदल्यो । त्यसयता फ्याक्टचेकयुकेलाई स्वतन्त्र पुष्टि भएको सन्देशजस्तो देखिने गरी आफ्ना हितअनुकूलका पक्षपातपूर्ण सन्देश प्रवाहित गर्न प्रयोग गरिरहेका छन् । जब त्यस्तो हर्कत नगर्न आग्रह गरियो, त्यसपछि त उनीहरूले त्यस्ता कार्यलाई झन् दुगुना बनाएका छन् । बेलायती विदेशमन्त्री डोमिनिक राव मतदाता अनलाइनबाट प्रभावित नहुने दाबी गर्दै छन् । उनका सहकर्मी माइकल गोभचाहिँ यस तरिकाले काम नगर्ला भन्न सकिन्न भन्दै छन् । ट्विटरले कन्जर्भेटिभलाई ट्विटरको नियम उल्लंघन गरेको भनेर आलोचना त ग-यो, तर त्यसखाले हर्कत रोक्न कुनै पहल भने गरेन ।

यो कुनै बिरल घटना थिएन । टेलिभिजन बहसकोे २४ घन्टा नपुग्दै कन्जरभेटिभले विपक्षी लेबर पार्टीको घोषणापत्र खोज्नेलाई लक्षित गरेर एउटा फेक वेबसाइट सुरु गरेको छ । यस दलले आफ्नो त्यस वेबसाइटलाई इन्टरनेट खोजीको शीर्ष स्थानमा राखिदिन गुगललाई पैसा दिएको छ । उसले त्यस वेबसाइटमा लेबर पार्टीसँग बे्रक्जिटको कुनै योजना नभएको आरोप लगाएको छ । साथै, हालैका दिनमा कन्जरभेटिभका कार्यकर्ताले उक्त दलविरोधी मतमा विभाजन ल्याउने प्रयासस्वरूप ग्रिन पार्टीको जस्तो देखिने गरी फेसबुक विज्ञापन पनि थालेका छन् । उनीहरू हरसम्भव हत्कन्डा अपनाउँदै छन् । 

यसखाले काममा जोन्सन र उनको पार्टी मात्रै संलग्न छैनन् । पार्टीको औपचारिक चुनावी अभियानबाहेकका लेबर पक्षधर समूहले पनि आक्रामक डिजिटल विज्ञापनमा निकै खर्चेका छन्  । उनीहरूले सञ्चालन गर्ने ब्रेक्जिटविरोधी ‘भोटिङ साइट’ले महत्वपूर्ण निर्वाचन क्षेत्रका मतदातालाई दिग्भ्रमित पारिरहेको आरोप छ । त्यस्तै, लिबरल डेमोक्र्याट्सले आफूलाई ब्रेक्जिटविरोधीका रूपमा चित्रित गर्दै दुरुस्तै स्थानीय पत्रिकाजस्तै देखिने चुनावी पर्चा वितरण गरेका छन् । 

विपक्षीका राजनीतिक तर्कको प्रतिरोध गर्नमा यस्ता चालबाजी खासै प्रभावी देखिएका छैनन् । बेलायती निर्वाचनमा निर्णायक रहँदै आएका अस्थायी मतदाता यस्ता बेनामे वेबसाइट र नक्कली समाचारपत्रबाट बहकिएलान्/नबहकिएलान्, तर यस्ता चालबाजीले राजनीतिमाथिको विश्वासचाहिँ कमजोर बनाउँदै छ । चालबाजीका आंशिक असर देखिन थालेका छन् । हालैमा एकजना मतदाताले बोरिस जोन्सन प्रमाणित ढँटुवा भए पनि उनैलाई मत दिने बताएकी छन् । डिजिटल युगअघि तयार गरिएका भए पनि बेलायतमा राजनीति सञ्चालन गर्ने यथेष्ट नियम–कानुन छन् । निर्वाचन खर्चको सीमा छ, वित्तीय पारदर्शिताका नियम छन् । 

लामो समयदेखि ‘स्वस्थ तथा निष्पक्ष निर्वाचन’को उदाहरण बनिरहेको  बेलायत अहिले, झुट, छलछाम एवं डिजिटल बेइमानीको प्रयोगस्थल बनेको छ

उम्मेदवारले आफ्ना सबै मुद्रित प्रचार सामग्रीमा वैधानिकता सुनिश्चित गर्ने लेबल हुनुपर्छ । ती सामग्रीको खर्च कसले कसरी बेहोरेको छ, त्यो पारदर्शी गर्नुपर्ने व्यवस्था छ । तर, अनलाइनका राजनीतिक विज्ञापनमा न वैधानिकताको लेबल छन् न त खर्चको पारदर्शिता । हुन त, इन्टरनेट बेलायतमा मात्रै दुश्प्रचारको संवाहक होइन । बेलायतका प्रिन्ट तथा प्रसारण मिडिया मिथ्यालाई सबैभन्दा बहसयोग्य सन्देशका रूपमा बढाई–चढाई गर्नमा भर्खरै मात्र निपुण बनेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयमा रहेर जोन्सनले अनुकूल व्याख्या तयार गर्न समाचार स्रोतको भरपुर दुरुपयोग गर्दै छन् ।  बेलायतका दैनिक समाचारका विषय अक्सर अज्ञात स्रोतबाट निर्देशित हुने गर्छन् । राजनीतिक विपक्षीलाई विदेशीसँग साँठगाँठ गरेको एवं सरकारी गोप्य दस्ताबेज चुहाएको गलत आरोप लगाइएका छन् । यस्ता आरोप जोन्सनका सल्लाहकारबाटै  प्रवाहित भइरहेको धेरैले ठान्छन् । 

छोटो चुनावी अभियानका क्रममा डाउनिङ स्ट्रिट (बेलायती प्रधानमन्त्रीको कार्यालय)को ब्रिफिङ गर्न नपाइने हुनाले त्यस्तो वेलामा कन्जरभेटिभले एकतर्फी प्रेससंवादबाट पनि निरन्तर लाभ उठाइरहेको छ । उनीहरूले लेबर पार्टीले चुनावमा १ खर्ब २० अर्ब पाउन्ड खर्चने दुश्प्रचार गरिदिए । जुन कुराको कुनै प्रमाणै थिएन । यस्ता अफवाहको आलोचनासमेत सम्बन्धित दलको मौलिक सन्देश प्रवाहमा बेस्सरी बाधक बन्न पुग्यो । 

त्यसैगरी, जोन्सनले बेलायती राजनीतिमा रसियाको हस्तक्षेपसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नमा अस्वाभाविक ढिलाइ गरिरहेका छन् । साथै, कन्जरभेटिभ पार्टी घोषणापत्र जनताको ध्यान नपरोस् भनेर अक्सर आइतबार मात्रै सार्वजनिक गर्ने गर्छ । साथै, विस्तृत स्पष्टीकरणबाट बच्न उसको घोषणापत्र गोलमटोल र निकै छोटो हुने गरेको छ । जोन्सन र अमेरिकन प्रविधि उद्यमी जेनिफर आरक्युरी बीच साँठगाँठमाथिको आपराधिक अनुसन्धान विलम्ब गरिएको छ ।

ब्रेक्जिट जनमतसंग्रह भएको तीन वर्षपछि थालिएको ‘लिभ क्याम्पियन’माथिको प्रहरी अनुसन्धानको नेतृत्व जोन्सनले नै गरिरहेका छन् र त्यसले निष्कर्ष निकाल्न बाँकी छ । फलस्वरूप बेलायती मतदाता चकित र चिन्तित पनि देखिएका छन् । यस पुस्ताकै महत्वपूर्ण भनिएको निर्वाचन सामाजिक सञ्जालमा राम्रोसँग प्रतिध्वनित हुन सकिरहेको छैन । 
यस्ता तमाम अभियानका बाबजुद मतसर्वेक्षणमा कन्जरभेटिभको अग्रता कायम रहन सकेको छैन । यस्ता झुट, छलकपट एवं दुश्प्रचारले उनीहरूलाई सहयोग पु-याउन र चुनाव जिताउन सक्छ । तर, त्यो बेलायतका लागि महँगो पर्नेछ । 

प्रकाशोन्मुख पुस्तक ‘डेमोक्रेसी फर सेल : डार्क मनी एन्ड डर्टी पोलिटिक्स’का लेखक जियोघेगान ओपन डेमोक्रेसीका खोज सम्पादक हुन् । फिटगेराल्ड ओपन डेमोक्रेसीकी प्रधानसम्पादक हुन् ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य