१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. केशव शर्मा
२०७६ मङ्सिर १५ आइतबार ०९:१६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

निर्माणमा प्रविधि प्रयोग

Read Time : > 4 मिनेट
डा. केशव शर्मा
२०७६ मङ्सिर १५ आइतबार ०९:१६:००

राज्यको नीति–नियम यस्तो पुरातनवादी छ कि ऊ प्रविधिको प्रयोगमा समेत उदार छैन

गत वर्ष समाचारपत्रहरूमा नेपाली सेनाले निर्माण गर्दै गरेको काठमाडौं–निजगढ जोड्ने दु्रतमार्गका केही तस्बिरसहित समाचार प्रकाशित भएका थिए । ती तस्बिरमा नेपाली सेनाका जवानहरू हाते आराको प्रयोग गरी रूख काट्न व्यस्त देखिन्थे । समाचारमा भिर र असजिलो स्थानका रूख काट्न विद्युतीय आराको प्रयोग गरिएको र अन्य स्थानमा हाते आराको प्रयोग गरी करिब एक लाख १५ हजार रूख काट्न दुई सय जवान खटिइरहेको उल्लेख गरिएको थियो ।

द्रुतमार्ग आफैँमा एक खर्बभन्दा बढीको परियोजना हो । त्यसमाथि सेनाले निरन्तर ठूला–ठूला निर्माण कार्य विशेषगरी सडकमार्ग आफैँ ठेक्का लिँदै आएको छ । र, भविष्यमा पनि ऊ निर्माण कार्यमा सहभागी हुने निश्चित छ । यस्तो अवस्था ठूलो संख्यामा रूखहरू काट्न र काटिएका रूखको गुणस्तर कायम राख्न आधुनिक औजार र मेसिनको प्रयोग गर्न सकिन्थ्यो ।

द्रुतमार्गको लगानी र सेनाको ठूला–ठूला निर्माणमा निरन्तर संलग्नतालाई हेर्दा रूख काट्न प्रयोग गर्ने आधुनिक हेभी इक्विपमेन्ट ‘फेलर बन्चर’ किनेर प्रयोग गर्दा उपयुक्त नै हुने देखिन्छ । किनभने, भविष्यमा हामीले हाइड्रोपावर, सडक बनाउँदा धेरै रूख कटान गर्नुपर्ने हुन्छ । निजगढ विमानस्थल निर्माण गर्न पनि करिब दुई लाख रूख काट्नुपर्ने हुन्छ भनिएको छ । राज्य आफैँले वा राज्यको सहयोगमा निजी क्षेत्रले आधुनिक हेभी इक्विपमेन्ट नकिनीकन हाम्रो विकासले फड्को मार्न सक्दै सक्दैन ।

त्यस्तै, सडक विभागले पुल निर्माणस्थलमा गरिने गहिरो जगको भार परीक्षणमा केन्टलेज (बोरामा माटो, बालुवा, गिटी भरेर वा कंक्रिटको ब्लकहरू जम्मा गरेर कुनै पनि संरचनामा भार दिने प्रक्रिया) विधिको प्रयोग गरेको पनि देखिन्छ । संसारमा यो विधि प्रयोग गर्न छाडिसकिएको छ । अहिले ओस्टरबर्ग सेलको प्रयोग गरेर वा डायनामिक परीक्षण वा अन्य धेरै प्रविधिको विकास भएको छ, जुन धेरै सजिलो र प्रभावकारी मानिन्छ । त्यस्तै, उक्त परीक्षणमा गहिरो जग विस्थापन नाप्नका लागि डायल गजको प्रयोग गरिएको देखिन्छ । डायल गज भनेको हातमा लगाउने घडीजस्तो देखिने सानो–सानो दूरी नाप्न प्रयोग गरिने यन्त्र हो । यो यन्त्र प्रयोग गरेपछि बारम्बार डाटा टिपिरहनुपर्छ । अनुसन्धानमा यसको प्रयोग धेरै कम भइसकेको छ, तर नेपालका धेरैजसो प्रयोगशालामा यस्तै यन्त्रहरूको प्रयोग भइरहेको पाइन्छ । 

यसको विकल्पमा धेरै सेन्सेटिभ सेन्सर वा उपकरण पाइन्छ, सामान्य प्रोग्रामिङ गरेपछि कम्प्युटरमा सोझै डाटा उपलब्ध हुन्छ । यस्ता उपकरण भारतीय बजारमै केही हजार रुपैयाँमा पाइन्छ । यस्ता डिजिटल र आधुनिक उपकरणको प्रयोगले सही तथ्यांक आउनुका साथै ती तथ्यांकलाई धेरै किसिमले अध्ययन गर्न सकिने हुन्छ । यस्ता प्रविधिको प्रयोगबाट सरंचना निर्माणको लागत र समय मात्र कम हुने होइन कि प्रविधि प्रयोगले निर्माणको गुणस्तरमा पनि वृद्धि भएको पाइन्छ । सुरक्षित र गुणस्तरीय निर्माणका लागि प्रविधिको प्रयोग अपरिहार्य छ । जति ठूला संरचना निर्माण गर्छौं  त्यति बढी नै सुरक्षा जोखिम हुन सक्छ । र, निर्माणमा उच्च गुणस्तर कायम गर्नुपर्छ, जसका लागि परम्परागत निर्माण पद्धतिले काम गर्न सक्दैन । प्रविधिको प्रयोगले निर्माण कार्य गर्दा हुने वातावरणीय क्षतिलाई पनि न्यून गर्छ । अब पनि कामका लागि खाद्यान्न वा अन्य कुनै कार्यक्रमको नाममा कुटो, कोदालो र गँैची चलाएर देशको विकासले फड्को मार्न सक्दैन । 

हामीले काठमाडौंमा आधुनिक प्रविधियुक्त मोनोरेल चलाउने भनिरहेका छौँ । स्मार्ट सिटीको कुरा गरेका छौँ, तर काठमाडौं उपत्यकाका ट्राफिक बत्ती वर्षौंदेखि नबली बेवारिसे अवस्थामा छन् । यातायात व्यवस्थापनमा अनेक थरी प्रविधिको विकास भइरहेको अवस्थामा सामान्य प्रविधि मानिने ट्राफिक बत्तीको पनि व्यवस्थापन गर्न सकेका छैनौँ, जुन लाजमर्दो कुरा हो । हाम्रोमा कुनै निजी क्षेत्र वा निकायले अन्त प्रमाणित भएको प्रविधि प्रयोग ग-यो भने पनि धेरै प्रश्न उठाउने गरिएको छ । जस्तै विश्वका धेरै देशमा सफल मानिएको ‘रक नेट’ प्रविधि बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबाको पहिरो रोक्न नेपालमै पहिलोपटक प्रयोग गरिएको छ । उक्त रक नेटको प्रयोगमा धेरै अनावश्यक आशंका गरिने गरिएको छ । टनेल वा चट्टानी पहिरो सुरक्षा ग्यालरीको व्यवस्था नभइन्जेलसम्मका लागि उक्त रक नेट उचित प्रविधि हो ।

प्रविधिको प्रयोग गरी निर्माण कार्यलाई कसरी उच्च गतिमा हाँक्न सकिन्छ भन्ने हेर्न युरोप, अमेरिका गइराख्नु पर्दैन । हाम्रो छिमेकी राष्ट्र चीनको अध्ययन गर्दा पनि हुन्छ । हामीले सामाजिक सञ्जाल तथा समाचारमा सुनिरहेका हुन्छौँ कि चीनले यति दिनमा ३० तले भवन बनायो, केही महिनामै यति लामो पुल बनायो । ओलम्पिक आयोजना गर्न चीनले दुई वर्षमै ठूला–ठूला रंगशाला बनायो भनेर आदि । चीनमा मात्र होइन, हाम्रो अर्को छिमेकी राष्ट्र भारतमा पनि निर्माण कार्यमा प्रविधिको उच्चतम प्रयोग हुँदै छ ।

हालै मात्र एउटा समाचार आएको थियो– चाइनामा नौ घन्टामै एउटा रेल स्टेसन बनाइयो भनेर । नौ घन्टामै एउटा रेल स्टेसन बनाउन विनाप्रविधि जतिसुकै कामदार लगाए पनि सम्भव छैन । हाम्रो जस्तो अधिकांश संरचना सामान्य कंक्रिट प्रयोग गरेर बनाउने हो भने पनि सामान्य कंक्रिटले आफ्नो पूरा सामथ्र्य प्राप्त गर्न करिब एक महिना लाग्छ । हाम्रै देशमा पनि भेरी–बबई आयोजनामा सुरुङ खन्न टनेल बोरिङ मेसिन अर्थात् टिबिएम मेसिन प्रयोग भयो र नयाँ टेक्नोलोजी भित्रियो । विश्वका अन्य देशमा सुरुङ खन्न प्रयोग गर्दै आएको टिबिएम प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो । जसले निर्धारित समयअगावै १२ किमी सुरुङ खनिसकेको छ । जब कि मेलम्ची खानेपानीको करिब २७ किमी सुरुङ दशकौँदेखि खनेर सकिएको छैन । मेलम्ची निर्माणमा टिबिएम प्रयोग गर्न सकिएको भए अवस्था अर्कै हुने थियो ।

हाम्रो देशका ए ग्रेडका निर्माण व्यवसायीसँग न त ठूलो संख्यामा दक्ष जनशक्ति छ न त आधुनिक उपकरणहरू नै । ए ग्रेडका भनिएका निर्माण व्यवसायीसँग दुई–चारजना इन्जिनियर, दुई–चार थान डोजर, क्रेन, एक्साभेटरजस्ता चलनचल्तीका सामान्य हेभी इक्विपमेन्टबाहेक अरू मानव संसाधन, उपकरण र प्रविधि त्यस्तो केही भएको पाइँदैन । त्यस्ता नाम मात्रका ए ग्रेडका दुई–तीन निर्माण व्यवसायीलाई मिलाएर मुग्लिङ–नारायणगढ खण्डको ३६ किमी बाटो बनाउनु तीन–चार वर्ष लाग्ने देखिन्छ ।

भन्न त निर्माण व्यवसायी र सराकारी निकायले उक्त सडकमा सवारीसाधन सुचारु गर्नुपर्ने हुनाले काममा अवरोध भएको बताएका छन् । जब कि कारण त्यो होइन । दैनिक दुई–चारजना कामदारले हाते औजार र एक–दुई सामान्य हेभी इक्विपमेन्ट प्रयोग गरिएको देखिन्छ । संसारमा घना सहरमा वा व्यस्त पहाडीमार्गमा पनि सवारीसाधन सुचारु गरी वा दैनिक केही घन्टा रोकेर अत्यन्त कम समयमै काम सकिएको उदाहरण सामान्य देशमा पनि देखिन्छ ।

अनेकथरी प्रविधि विकास भइरहेको अवस्थामा सामान्य प्रविधि मानिने ट्राफिक बत्तीको पनि व्यवस्थापन गर्न सकेका छैनौँ, जुन लाजमर्दो कुरा हो

अहिले विकसित देशमा ट्रेन्चलेस प्रविधिको विकास र प्रयोग भइरहेको छ । जसले काठमाडौंजस्ता व्यस्त र घना सहरहरूमा खाल्टो नखनीकनै खानेपानीका पाइपलाइन, ढल, बिजुली तथा सञ्चारका तारहरू बिछ्याउने गर्छ । यदि हामीले पनि त्यस्तो प्रविधि भित्र्रयाउन सकेको भए काठमाडौंमा धुलो र हिलोको यति ठूलो समस्या हुने थिएन । काठमाडौंजस्तो उच्च घनत्व भएको ठाउँमा माइक्रो टनेल वा अन्य प्रविधि र उपकरणको प्रयोग गरेर खनेर पनि मेलम्चीको पाइप बिच्छाउन सकिन्थ्यो । मेलम्चीमा जुन लागत लागेको छ त्यस हिसाबले नयाँ प्रविधि प्रयोग गरेर काठमाडौंमा पाइप बिछ्याएको भए समय पनि कम लाग्यो र धुलोबाट पनि जोगिन सकिन्थ्यो । 

नेपालजस्तो देशमा सुरुङमार्ग र अग्ला–अग्ला पुलविना विकसित देशको जस्तो सडक सञ्जाल हुन सक्दैन । आगामी पाँच वर्ष प्रतिव्यक्ति आय वार्षिक पाँच हजार डलर पु-याउने सरकारमा रहेको पार्टीले घोषणा गरेको छ । जस्तैः वार्षिक झन्डै ५० लाख पर्यटक भित्र्रयाउने लक्ष्य सरकारले राखेको छ । अहिले हाम्रोमा वार्षिक १० लाख पर्यटक नआउँदै विमानस्थल र होटेलहरू सबै भरिएको समाचार आउने गरेको छ ।

५० लाख पर्यटक वर्षमा भने पनि नेपालीमा पर्यटकको समय ६ महिना मात्र हो । यसका लागि धेरै ठूलो संरचना केही वर्षभित्र बनाउनुपर्छ । त्यस्तै, हजारौँ किमि सडक र ट्रान्समिसन लाइनको कुरा छ, हजारौँ मेगावाट बिजुलीको कुरा छ । के अहिले हामीकोमा प्रयोग भइरहेको पुरानो प्रविधिले ठूला–ठूला संरचना पाँच वर्षभित्र वा १० वर्षभित्र बनाउन सकौँला ? के यी सबै काम पाँचदेखि १० वर्षभित्रमा गर्न हाम्रो निर्माण व्यवसायीसँग भएको प्रविधिले सम्भव छ त ? त्यो अवश्य पनि सम्भव छैन । देशमा ठूलो–ठूलो संरचना निर्माण नभईकन देशको ढुकुटीले छलाङ मार्दैन । कुल आन्तरिक उत्पादनको भौतिक संरचनासँग प्रत्यक्ष सम्बन्ध हुने गर्छ । 

अहिले निर्माण क्षेत्र थ्री–डी प्रिन्टिङ, ड्रोन, मोबाइल टेक्नोलोजी, रोबोटिक्स, भर्चुअल रियालिटी, ट्रेन्चलेस टेक्नोलोजी, सर्भोकन्ट्रोल उपकरण, अटोमेसन, आधुनिक हेभी इक्विपमेन्टबाट सञ्चालित हुँदै छ, जुन खासै महँगो पनि पर्दैन । तर, राज्यको नीति–नियम यस्तो पुरातनवादी छ कि ऊ प्रविधिको प्रयोगमा समेत उदार छैन । जस्तैः अहिले निर्माण तथा अनुसन्धानमा अत्यधिक प्रयोग हुने प्रविधि भनेको ‘ड्रोन’ हो । तर, नेपालमा सामान्य अनुसन्धानका लागि ड्रोनको प्रयोगमा बन्देज लगाइएको छ ।

भूकम्प, बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोप जानेबित्तिकै यसले तत्काल उद्धारका लागि घटनाको वस्तुस्थिति देखाउन र अन्य अनुसन्धान गर्न, नेपालजस्तो भूबनोट भएको स्थानमा सबै खालको संरचनाको सर्भे तथा अध्ययन गर्न, ठूलो–ठूलो निर्माण सुरक्षा र प्रगतिको अवस्था आकलन गर्न ड्रोन क्यामेराको प्रयोग विश्वभरि सामान्य भइसकेको छ, तर हाम्रो राज्यको नीतिले यसलाई बेठीक ठान्छ । त्यसैले प्रविधिका बारेमा हामी खुला हुँदै अघि बढ्नुपर्नेछ ।