मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर १४ शनिबार ०६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिमकोट–हिल्सा सडक आयोजना : भिगौडामा चट्टान काटेर सडक निर्माण

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १४ शनिबार ०६:५२:००

कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–२ मा पर्ने भिगौडा भिरको कडा चट्टान काटेर सडकको ट्र्याक तयार पार्ने काम सकिएको छ । कडा चट्टानका कारण भिगौडा भिरमा सडक निर्माण कार्य निकै चुनौतीपूर्ण थियो । 

नेपाली सेनाले भिगौडाको कडा चट्टान काटेर सडक तयार गरेपछि सदरमुकाम सिमकोट आवत–जावतमा समेत सहज भएको छ । यसअघि स्थानीयवासी भिरको घोरेटो बाटो हुँदै यात्रा गर्थे । भिरमा सडक तयार भएपछि आवत–जावत सहज भएको खार्पुनाथ गाउँपालिका–२ रिपका नेत्र महताराले बताए । ‘सडक नहुँदा भिरमा डराइडराई यात्रा गर्नुपथ्यो’, उनले भने, ‘सेनाले सडक तयार गरेपछि अहिले आवत–जावतमा निकै सहज भएको छ ।’ 

नेपाली सेनाले डेढ सय मिटर कडा चट्टान फुटाएर सडक तयार गरेको हो । डेढ सय मिटर चट्टान काट्न तीन महिना लागेको सिमकोट–हिल्सा सडक आयोजनाका सबइनिजिनियर अभिषेक राईले बताए । ‘नौदेखि २१ मिटर अग्लो चट्टान काटेर सडक तयार गरेका छौँ,’ ‘राईले भने, यो सडक तयार गर्न हामीलाई निकै समय लाग्यो ।’ अझै केही चट्टान झारेर सडक फराकिलो बनाउन बाँकी रहेको उनले बताए । 

चट्टान काटेर ६ दशमलव ७ मिटर सडक तयार गरिएको छ । चट्टान काटेर तयार भएको ट्र्याकमा सहज ढंगले गाडी चलाउन सकिने राईले बताए । सडक तयार गर्न सयौँ विस्फोट गरिएको थियो । दश हजार घनमिटर चट्टान फुटाएर सडक नयार गरिएको सिमकोट–हिल्सा सडक आयोजना हुम्लाले जनाएकोे छ । अहिले सिमकोट–हिल्सा सडक निर्माणमा विस्फोटक पदार्थ अभाव भएको छ । विस्फोटक पदार्थ अभाव भएपछि सो खण्डमा निर्माणको काम रोखिएको सिमकोट–हिल्सा सडक आयोजनाका प्रमुख शशांक मिश्रले बताए ।

भिगौडामा चट्टान फुटाउने जिम्मा पाएको पिएच क्याराभान कांग्री जेबीका प्रतिनिधि कुलबहादुर लामाले दोजमाबाट बग्ने कर्णाली नदीमा पुल निर्माण भएपछि भिगौडा सडकमा गाडी गुड्ने बताए । भिरमा सडक तयार भएपछि स्थानीयलाई पैदल आवत–जावतमा सहज भएको छ ।