१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १२ बिहीबार ०८:०७:००
Read Time : < 1 मिनेट
प्रदेश

बजेट निकासा नहुँदा जनजाति पार्क निर्माण अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार ०८:०७:००

साँगुरीगढी गाउँपालिका–६ भेडेटारको नाम्जे थुम्कीस्थित निर्माणाधीन जनजाति पार्कको निर्माण कार्य अवरुद्ध बनेको छ । साँगुरीगढी गाउँपालिकाकै ठूलो पार्कका रूपमा विकास गर्ने उद्देश्यले निर्माण कार्य थालिएको उक्त पार्क बजेट अभावमा अलपत्र परेको हो ।

आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारको ससर्त लगानीमा सो पार्कको गत वर्षदेखि निर्माण सुरु गरिएको थियो । तर, चालू आर्थिक वर्षको बजेट प्रदेश सरकारले अहिलेसम्म निकासा नगरेपछि निर्माण कार्य अवरुद्ध भएको छ । एक करोड ३५ लाख लागत रहने अनुमान गरिएको पार्कको गत आर्थिक वर्ष ०७५/७६ मा निर्माण सुरु गरिएको हो । तर, पार्कका लागि प्रदेश सरकारले यस वर्षको बजेट हालसम्म पनि निकासा नगरेको गाउँपालिका अध्यक्ष कुमारजङ याख्खाले बताए ।

पार्क निर्माणका लागि गाउँपालिकाको बजेटले धान्न नसक्ने भएपछि प्रदेश सरकारलाई निर्माण सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष याख्खाले बताए । पार्क निर्माण कार्य बजेट अभावमा अवरुद्ध भएपछि प्रदेश सांसद निरन राईले पनि क्रमागत रूपमा पार्क निर्माणका लागि लगानी गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । बजेट अभावकै कारण जनजाति पार्क निर्माण कार्य अवरुद्ध भएको वडाध्यक्ष यमप्रकाश मगरले बताए । उनले भने, ‘जनजाति पार्क निर्माणस्थल जाने बाटोको सीमाका विषयमा केही समयअगाडि विवाद भएका कारण पनि बजेट निकासामा ढिलाइ भएको हो । गाउँपालिकाको पहलमा अब चाँडै काम सुरु हुने विश्वास उनले व्यक्त गरे ।

जनजाति पार्क निर्माण भएपछि यस क्षेत्रका आदिवासी जनजातिको भाषा, धर्म, संस्कृतिको प्रचार–प्रसार, संरक्षण, सम्वर्द्धन हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलसमेत बन्ने अपेक्षा गरिएको छ । पार्कमा आदिवासी जनजातिको बाजागाजा राख्ने पिलर, बौद्ध स्तुपा, पहुँच मार्ग निर्माण, शौचालय र घेराबारको काम भने अन्तिम चरणमा पुगेको छ ।