१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ११ बुधबार ११:५२:००
Read Time : > 1 मिनेट
खेलकुद

‘सरप्राइज प्याकेज’ घोषणा भन्दै पोखरा र जनकपुरमा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई काठमाडौं बोलाइयो

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ११ बुधबार ११:५२:००

सागको बन्द प्रशिक्षणमा रहेका खेलाडी जनकपुर र पोखराबाट काठमाडौं आउनुपर्दा नियमित प्रशिक्षण प्रभावित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडीलाई मंगलबार प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘विशेष सम्बोधन एवं शुभकामना कार्यक्रम’मा भेला हुन निर्देशन गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय थियो, तर प्रधानमन्त्री उपस्थित हुन नसकेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरे । 

सोमबार पोखरा र जनकपुबाट काठमाडौं हिँडेका खेलाडी होटेलमा वास बसेर मंगलबारको कार्यक्रममा सहभागी भए, जसका कारण उनीहरूको दुई दिनको प्रशिक्षण प्रभावित भयो । सागमा समावेश २८ खेलमध्ये सात खेलका खेलाडी पोखरामा बन्द प्रशिक्षणमा छन् । महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, आर्चरी, ब्याडमिन्टन, ट्रायथलन र भारोत्तोलन खेल पोखरामै हुने भएकाले खेलाडीलाई काठमाडौं आउने–जाने झन्झट गर्नु नपरोस् भनेर उतै बन्द प्रशिक्षणको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, कुस्ती खेलाडी  जनकपुरमा प्रशिक्षण गरिरहेका छन् । खेलाडीहरूलाई पोखराबाट गाडीमा ल्याउने र लैजाने गर्दा उनीहरूको प्रशिक्षण प्रभावित भएको एक प्रशिक्षकले बताए । ‘राखेपको निर्देशनअनुसार कार्यक्रममा सहभागी हुन आएका हौँ । प्रशिक्षण केही हदसम्म प्रभावित भएको छ,’ उनले भने । 

राखेपका पूर्वसदस्य–सचिव युवराज लामा यस्ता विषयमा खेलकुदको नेतृत्वले गम्भीर ढंगले सोच्नुपर्ने बताउँछन् । ‘कुनै ठूलो प्रतियोगिताअघि राष्ट्र प्रमुखले आफ्ना खेलाडीलाई बिदाइ गर्ने वा भाषणमार्फत प्रोत्साहन गर्ने चलन अन्तर्राष्ट्रियस्तरमै छ । यो निकै राम्रो हो,’ करातेका पूर्वखेलाडीसमेत रहेका लामाले नयाँ पत्रिकासँग भने, ‘यद्यपि, सागको अन्तिम तयारीमा रहेका खेलाडीको प्रशिक्षण बिथोलिने गरी यस्ता कुनै पनि कार्यक्रम गरिनु हुन्न ।’

राखेपका यस्ता गल्तीले खेलाडीको प्रदर्शनमा असर पार्न सक्ने उनले बताए । ‘पोखरामा भएका खेलाडीलाई नबोलाएको भए पनि हुन्थ्यो । अहिलेका लागि कार्यक्रममा सहभागी हुन काठमाडौंमै अभ्यास गरिरहेका पर्याप्त खेलाडी थिए,’ लामा भन्छन्, ‘तर, अन्य विकल्प छाडेर खेलाडीको प्रशिक्षण नै बिथोलिने गरी काठमाडौं झिकाउनु गलत कुरा हो ।’

राखेपको निर्देशनअनुसार सोमबार काठमाडौं आइपुगेका सबै खेलका खेलाडी कार्यक्रममा सहभागी भएर मंगलबार साँझ मात्रै पोखरा हिंडे । रातको यात्रा र थकानका कारण बुधबारको प्रशिक्षण पनि प्रभावित हुन सक्ने प्रशिक्षकहरू बताउँछन् ।

घोषणा भएन  ‘सरप्राइज प्याकेज’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवालले केही समयअघि भनेका थिए, ‘प्रधानमन्त्रीमार्फत खेलाडीका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने तयारी  गरेका छौँ । छिट्टै घोषणा हुनेछ ।’ मंगलबार प्रज्ञा भवनमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तय थियो । त्यसैले धेरै खेलाडी तथा प्रशिक्षकलाई लागेको थियो, ‘सरप्राइज आजै खुल्नेछ ।’ तर, युवा तथा खेलकुद मन्त्रालय र राखेपले पर्याप्त तयारी गर्न नसक्दा सरप्राइज खुलेन । 

स्वास्थ्यमा देखिएको खराबीका कारण प्रधानमन्त्री ओलीले कार्यक्रममा सहभागिता जनाउन पाएनन् । प्रधानमन्त्रीको साटो अर्थमन्त्री युवराज खतिवडा उपस्थित भए । खतिवडाले नै प्याकेज घोषणा गर्छन् भन्ने विश्वाससहित परिषद्का सदस्य–सचिव सिलवालले भने, ‘हामीसामु मुलुकको ढुकुटी सञ्चालन गरिरहनुभएका अर्थमन्त्रीज्यू नै प्रधानमन्त्रीको दूतका रूपमा हुनुहुन्छ ।

मलाई आशा छ, उहाँले खेलाडीको हौसला बढाउन पक्कै ठूलै घोषणा गर्नुहुनेछ ।’ सिलवालले यति भनेर माइक हस्तान्तरण गरिदिए, सम्बोधन गर्न आएका खतिवडा के घोषणा गर्ने भनेर अलमलमा परे । उनले घुमाउरो शैलीमा खेलाडीको पुरस्कार वृद्धिका लागि पर्याप्त तयारी गर्न खेलकुद मन्त्रालयलाई आग्रह गरे । खेलकुदमन्त्री जगत विश्वकर्मातर्फ फर्केर खतिवडाले भने, ‘तपाईंहरूसामु खेलकुदमन्त्री नै हुनुहुन्छ, उहाँले पुरस्कार राशि वृद्धिसहित प्रस्ताव पठाउनुभयो भने क्याबिनेटले निर्णय गर्छ । विश्वास गर्नुस्, १३औँ सागका पदक विजेता खेलाडी निराश हुनेछैनन् ।’