मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार १०:५९:००
Read Time : > 2 मिनेट
सेयर बजार

दरिलो टेवा खोज्दै नेप्से परिसूचक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार १०:५९:००

बजार घट्न रोकिने प्रयासमा

तीन दिनयता नेप्से परिसूचकले वृद्धि समात्न दरिलो टेवा खोजिरहेको छ । यही कारण सेयर बजार परिसूचकमा खासै परिवर्तन देखिन सकेको छैन । तीन दिनदेखि नेप्से परिसूचक बजार बन्द हुँदा १ हजार १ सय १० बिन्दुमै आएर रोकिने गरेको छ । 

‘करिब ४० महिनादेखि बियरिस प्रवृत्तिमा देखिएको नेप्से परिसूचक अहिले प्रवृत्ति परिवर्तनको प्रयासमा रहेको छ,’ सेयर विश्लेषक विष्णु बस्याल भन्छन्, ‘विगतदेखि नै लगभग यस्तै अवधिमा नेप्सेमा प्रवृत्ति परिर्वतन देखिँदै आएको छ ।’ अहिले बजारमा कारोबारमा आएको सुस्तता, प्राविधिक विश्लेषण विधि आरएसआई सूचकमा डाइभर्जेन्स देखिएको लगायतका कारण बजारले प्रवृत्ति परिवर्तनको संकेत गरिरहेको बस्यालको भनाइ छ । 

सोमबार र मंगलबार दुवै दिन नेप्सेको मैनबत्ती चित्र प्रवृत्तिमा ह्यामर आकृति बनेको छ । यसले बजारमा प्रवृत्ति परिवर्तनको संकेत गरिरहेको छ । यो संकेत दरिलो भने मानिँदैन । 

 मंगलबार बजार स्थिर  
बजार खुलेदेखि नै उच्च उतारचढावमा देखिएको नप्से परिसूचक अन्त्यमा शून्य दशमलव ९१ अंकले घटेर १ हजार १ सय ९ बिन्दुमा आइपुगेको छ । कारोबार अन्त्यमा बैंकिङ, व्यापारमूलक र जलविद्युत् समूहमा झिनो सुधार देखिए पनि बजारले वृद्धिको बाटो समात्न सकेन । 

बजारमा कारोबारमा आएका कम्पनीहरूको मूल्यमा सामान्य 
उतारचढाव छ । मूल्य बढ्ने अधिकांश कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा कमले वृद्धि भएको छ । घट्नेमा समेत यही प्रवृत्ति देखिएको छ । संस्थापकबाहेक नियमित कारोबार हुनेमा नेपाल बैंक, एनएमबि बैंकलगायतको उच्च कारोबार भएको छ । कारोबार उच्च भएका कम्पनीहरूकोसमेत मूल्य घटेर कारोबार भएको छ । 

दुई दशकपछि लाभांश प्रस्ताव गरेको नेपाल बैंकमा लगानीकर्ताहरूको आकर्षण कायम रहेको छ । नबिल बैंकसँगको मर्जरको हल्ला फैलिएपछि पनि बैंकको सेयर मूल्यमा वृद्धि देखिएको हो । तर, यो हल्ला पुष्टि भएको छैन । मर्जरका कारण लामो समयपछि कारोबारमा आएको एनएमबिमा पनि लगानीकर्ताको आकर्षण कायमै रहेको छ । एनएमबिले ३५ प्रतिशत लाभांशको घोषणासमेत गरेको छ । लाभांश घोषणा गर्न बाँकी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य यस दिन सबैभन्दा धेरै (६ प्रतिशत)ले बढेको हो । गत वर्ष ३५ प्रतिशत लाभांश दिएको साल्ट ट्रेडिङको लाभांशको आशमा मूल्यवृद्धि भएको हो । कम्पनीको सेयर १ हजार ४ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । 

 बजारका अन्य सूचक 
यस दिन कुल १ सय ६५ कम्पनीको सेयर किनबेच भए पनि ५६ वटाको मात्र मूल्य बढेको छ भने ८० वटाको घटेको छ । एडी (एड्भान्स डिक्लाइन) अनुपातका आधारमा हेर्दा यस दिन बजार बियरिस प्रवृत्तिमै देखिएको छ । 

१४ दिने आरएसआई इन्डेक्सको २५ स्केलमा नेप्से रहेको छ । यसले बजारमा बिक्री बढेको र ओभर सोल्ड जोनमा बजार रहेको संकेत गर्छ । मंगलबार नेप्सेले बनाएको उच्च, न्यून र अन्तिम बिन्दुको आधारमा बुधबार नेप्से बढ्ने प्रयासमा रहे १ हजार १ सय १३ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे १ हजार १ सय ७ बिन्दुमा टेवा पाउन सक्छ । 

किन बढ्न सकेन बजार ?
सरकारले कर, सम्पत्ति शुद्धीकरणमा कडाइ गरिरहेकाले पनि बजारमा सुधार हुन नसकिरहेको बस्याल बताउँछन् । भन्छन्, ‘सम्पत्ति शुद्धीकरणमा भइरहेको कडाइले बैंकमा निक्षेप अपेक्षित दरमा बढ्न सकेको छैन । त्यस्तै, कर चुहावटलाई देवानी अपराध नमानेर फौजदारी अपराध मानिएको छ ।’ सेयर बजार मात्र नभई समग्र क्षेत्र नै सरकारको नीतिले आतंकित भएकाले यसको प्रभाव बजारमा समेत परेको बस्यालको विश्लेषण छ । 

प्राविधिक विश्लेषणले भने आगामी एक महिनामा बजारले वृद्धिको बाटो समात्न सक्ने उनको अनुमान छ । यसो नभएमा पनि केही समय २०÷२५ अंकको अन्तरमा मात्रै बजार तलमाथि गरिरहेको उनी बताउँछन् ।

स्वरोजगार लघुवित्तको एघारौँ वार्षिक सभा
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एघारौँ वार्षिक साधारणसभा मंसिर २८ गते बोलाएको छ । कम्पनीले प्रस्तावित २६ दशमलव ७५२० प्रतिशत बोनस सेयर र करका लागि १ दशमलव ४१ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको हो । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ९५ लाख १२ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ३४ करोड १६ लाख १२ हजार पुग्नेछ ।

कम्पनीले गाभ्ने गाभिने निर्णय गरेपछि कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव सभामा लगेको छ । सभामा अन्य इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था एक–आपसमा गाभिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेजस्ता विषय छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गतेदेखि २८ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । 

प्राइम र कैलाशको लाभांश प्रस्ताव
कैलाश विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले १६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । कैलाश विकासको पनि मंसिर ९ को साधारणसभाले १६ प्रतिशत बोनस सेयर र २ दशमलव ७७ प्रतिशतको दरमा नगद लाभांश घोषणा गरेका छन् । लाभांश पारित पछि कैलाशको पुँजी २ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ । दुवै बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गर्न बाँकी छ ।

साना किसानको लाभांश प्रस्ताव
साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ दशमलव २५ प्रतिशत बोनस सेयर र करका लागि १ दशमलव ४३४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।