१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर ९ सोमबार ०८:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

‘पठाओ’लाई प्रहरीको  पुनः अवरोध

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार ०८:३२:००

प्रयोजनविपरीत चलाएको भन्दै एक मोटरसाइकलचालक नियन्त्रणमा

ट्राफिक प्रहरीले मोबाइल एप्लिकेसन (एप्स) पठाओ प्रयोग गरी भाडामा सञ्चालन गरेको भन्दै मोटरसाइकललाई नियन्त्रणमा लिने कार्य पुनः सुरु गरेको छ । ट्राफिक प्रहरीले आइतबार दिउँसो प्रयोजनविपरीत चलाएको अभियोगमा पठाओका चालक विकास तामाङको बा७७प ८१९९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । उनलाई ट्राफिक प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले प्रयोजनविपरीत मोटरसाइकल चलाइएको पाइएकाले नियन्त्रणमा लिइएको बताए । ‘पठाओका एक मोटरसाइकलचालक पक्राउ परेका हुन् । उनले प्रयोजनविपरीत मोटरसाइकलबाट यात्रु ओसारेको पाइयो । यसो गरिनु कानुनविपरीत हो । यसैगरी चलाउन दिने हो भने यात्रु बोक्ने बसले गिटी बालुवा बोक्न सक्ने भए । बालुवा बोक्ने ट्रकले यात्रु ओसार्न पाउने भए,’ उनले भने ।

सवारीसाधन नियन्त्रण नगर्न सरकारकै निर्देशन
सरकारले गत वर्ष टुटल र पठाओ एप्स प्रयोग गरी यात्रुलाई सेवा दिने निजी प्रयोजनका कुनै पनि सवारीसाधन नियन्त्रण नगर्न निर्देशन जारी गरेको थियो । निजी प्रयोजन (रातो नम्बर प्लेट)मा दर्ता भएका सवारीसाधनले यात्रु बोक्न नपाइने कानुनी अड्चन देखाउँदै त्यसवेला यातायात व्यवस्था विभागको निर्देशनमा पठाओ र टुटल एप्स प्रयोग गरी यात्रु ओसार्न प्रयोग गरिएका मोटरसाइक तथा स्कुटरलाई ट्राफिक प्रहरीले धमाधम पक्राउ गरेको थियो । पक्राउप्रति सेवाग्राहीको व्यापक विरोध भएपछि सरकारले टुटल र पठाओ एप्स प्रयोग गरी यात्रुलाई सेवा दिने निजी प्रयोजनका कुनै पनि सवारीसाधन नियन्त्रण नगर्न निर्देशन जारी गरेको थियो ।

तर, ल्यान्डक्रुजर र स्कोरपिओ निर्वाध सञ्चालन 
निजी प्रयोजनमा दर्ता भएका ल्यान्डक्रुजर, स्कोरपिओ, टाटासुमो, मारुती, अल्टो, स्यान्ट्रोजस्ता चारपांग्रे सवारीसाधन भने मुलुकभर नै निर्वाध चलिरहेका छन् । यातायात व्यवस्था विभागका अनुसार यस्ता सवारीसाधन उपत्यकाभित्र मात्रै एक हजारको संख्यामा सञ्चालित छन् । उपत्यकाबाहिर भने यस्ता सवारीसाधन पाँच हजारभन्दा धेरै चल्ने गरेका छन् । 

सवारीसाधन नियन्त्रणमा लिएकोमा पठाओको आपत्ति
पठाओका म्यानेजर शशांक थापाले पठाओ एप्स प्रयोग गरी चलाइएका सवारीसाधन नियन्त्रणमा लिनु गलत रहेको बताए । ‘ट्राफिक प्रहरीले पठाओका एकजनालाई पक्राउ गरेको सूचना आयो, यो कादम गलत हो । सरकारले पठाओ र टुटल एप्स प्रयोग गरी यात्रुको सेवामा समर्पित कुनै पनि सवारीसाधन पक्राउ नगर्न गत वर्ष नै निर्देशन दिएको छ । तर, ट्राफिक प्रहरीले सरकारकै निर्देशनविपरीत काम गर्‍यो,’ उनले भने ।

उपत्यकाभित्र ‘टुटल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन् । टुटलले यो सेवा दुई वर्षअघिदेखि सञ्चालन गरिरहेको छ । यही सेवा सञ्चालनका लागि मात्रै टुटलले एक करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । 

जावलाखेलमा कार्यालय रहेको टुटलमा ३० जनाभन्दा धेरैले प्रत्यक्ष रोजगार पाइरहेका छन् । टुटलका कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार टुटलसँग मात्रै करिब १० हजार ग्राहक आबद्ध छन् । यसबाट दैनिक तीन हजारभन्दा धेरै यात्रुले प्रत्यक्ष सेवा लिइरहेका छन् । यस प्रयोजनमा मात्रै नौ हजार मोटरसाइकल र स्कुटर सञ्चालित छन् ।