१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ८ आइतबार १०:३१:००
Read Time : > 4 मिनेट
सेयर बजार

सातामा कारोबार रकमसहित १५.३५ अंक घट्यो नेप्से

Read Time : > 4 मिनेट
२०७६ मङ्सिर ८ आइतबार १०:३१:००

मंसिर महिनाको पहिलो साता सेयरबजार पाँच दिन घटेर बन्द भएको छ । सो साता उच्च लाभांश घोषणा गरेका र नाफामूलक वित्तीय विवरण प्रकाशित गरेका कम्पनीमा लगानीकर्ताको विशेष आकर्षण देखिएको थियो । सातामा साल्ट ट्रेडिङ र घोडीघोडा लघुवित्तको कम्पनीमा सकारात्मक सर्किट ब्रेक निरन्तर लागेको छ । सातामा शिवम् सिमेन्टको वित्तीय विवरण सोचेभन्दा फरक अर्थात् विद्युत् बिक्री र नाफा घटेको आएपछि बजार थोरै घट्न पुगेको थियो । 

करिब सबै कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरिसकेका छन् । लगानीकर्ता ती विवरण अध्ययन गर्ने क्रममा छन् । घट्दो प्रवृत्तिमा रहेको बजारमा वित्तीय विवरणले केही समयमा प्रभाव पार्ने र लगानीकर्ता हाल पर्ख र हेरको अवस्थामा रहेका छन् । 

दैनिकजसो बजार घटिरहेकाले लगानीकर्तामा निराशा छाएको छ । खरिद गरेको सेयरको मूल्य दिनानुदिन घटिरहेको र बजारमा थप लगानी बढाउन केही आधार नभएको लगानीकर्ता बताउँछन् । तर, नेप्सेका पदाधिकारी बजार घटेको बेलामा खरिद गर्ने मौका र साना लगानीकर्ता आउने वेला भएको बताउँछन् । लामो समयदेखि निरन्तर बजार घटाइले भएको रकम लगानी गरिसकेको र घाटा सेयरसमेत बिक्री गनुपरेको गुनासो गर्दै आएका छन् । बजार घटेर क्यान्सर भइसकेको र यसको उपचारमा सबै लाग्न आवश्यक भएको लगानीकर्ता भन्छन् । यता सेयरबजार घटेर लगानीकर्तालाई मात्र घाटा नभई राज्यले पनि राजस्व गुमाइरहेको छ । 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने खबरले केही समय बढेको बजार अन्त्यसम्म बढ्ने क्रम टिकेन । सायद लगानीकर्ताले चाहेका मन्त्री नहट्ने हल्लाले बजार सोहीअनुरूप बढ्न नसेकको एक लगानीकर्ता बताउँछन् । 

बजार सारांश 
गत साता नेप्से परिसूचक १५ दशमलव ३५ अंक घटेर १ हजार १ सय २० दशमलव ६० बिन्दुमा पुगेको छ । गत साताको बिहिबार १ हजार १ सय ३५ दशमलव ९५ बिन्दुमा बन्द भएको बजार यस साताभर घटेपछि सो अंकले घट्न पुगेको हो । 

सेन्सेटिभ इन्डेक्स ३ दशमलव १७ अंक घटेर २ सय ४६ दशमलव ९ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स सो साता १ दशमलव शून्य ६ अंक घटेर ३ दशमलव २७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव शून्य १ अंक घटेर ७९ दशमलव ५९ बिन्दुमा पुगेको छ । सो साता १ सय ४ कम्पनीको २६ हजार १ सय ४३ पटकको कारोबारमा १ अर्ब ५७ करोड २८ लाख ७३ हजार ७ सय ९५ रुपैयाँबराबरको ५५ लाख २० हजार ८ सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ३५ दशमलव ०९ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

साल्ट ट्रेडिङले सर्वाधिक कमाउँदा नेपाल बैंकको सर्वाधिक कारोबार
सातामा साल्ट ट्रेडिङले सर्वाधिक कमाएको छ । कम्पनीको सेयर मूल्य पाँच दिन १० प्रतिशत बढेर सर्किट लागेर ५ सय ७३ रुपैयाँले बढेको छ । गत साताको बिहीबार प्रतिकित्ता ९ सय ४३ मा बन्द भएको कम्पनी मूल्य यस साताको बिहीबार १ हजार ५ सय १६ रुपैयाँ पुगेको छ । आइतबार ५०, सोमाबार १ सय ५०, मंगलबार ३ सय ४८, बुधबार ६ सय ५९ र बिहीबार ७ हजार ९ सय ९३ कित्ता सेयर कारोबार भएको छ । 

गत साताको बिहीबार प्रतिकित्ता ३ सय ९५ रुपैयाँमा बन्द भएको घोडीघोडा लघुवित्तको सेयरमूल्य यस साताको बिहीबार ६ सय ३३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयरमूल्य एक सातामा प्रतिकित्ता २ सय ३८ रुपैयाँले बढेको छ । 

सातामा नेपाल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ५ लाख ६८ हजार ६ सय ९२ कित्ता सेयरको १८ करोड १६ लाख ४३ हजार ७ सय ४३ रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले २३ वर्षपछि सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेपछि कारोबार रकम घढ्न पुगेको हो । बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी, एनएमबि बैंकको ४ लाख ६७ हजार १ सय ९७ कित्ता सेयरको १७ करोड ९८ लाख ४९ हजार २७ सय २० रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्त गरेपछि कारोबार रकम बढेको हो । साताको पहिलो दिन शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको थियो । सो दिन कम्पनीको ४ करोड ४ लाखभन्दा बढीको सेयर कारोबार भएको थियो । 

सातामा बजार पुँजीकरण र सेन्सेटिभ दुवै घट्यो
सातामा बजार पुँजीकरण १ दशमलव ३५ प्रतिशत घटेर १४ खर्ब २१ अर्बभन्दा बढी रुपैयाँमा सीमित भएको छ । गत साताको बिहीबार यो १४ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढी थियो । सेयरबजार घटेसँगै धेरै पुँजीकरण भएका कम्पनीको सेयरमूल्य घट्न पुग्दा एक सातामा लगानीकर्ताले १९ लाख रुपैयाँ गुमाउन पुगेका छन् । सातामा सेन्सेटिभ इन्डेक्स ३ दशमलव १७ अंक घटेको छ । गत साताको बिहीबार २ सय ५० दशमलव १८ बिन्दुमा रहेको सेन्सेटिभ यस साताको बिहीबार २ सय ४६ दशमलव ८९ बिन्दुमा आइपुगेको छ । यसले राम्रा कम्पनीको सेयरमूल्य घटेको संकेत गर्छ । 

दुई समूहबाहेक बाँकी समूहको परिसूचक घट्यो
गत साता कारोबारमा आएका १२ समूहमध्ये व्यापार समूह र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ । व्यापार समूहमा कारोबार हुने साल्ट ट्रेडिङको सेयरमूल्य साताभर बढेकाले सो समूहको परिसूचक १ सय ५५ दशमलव ७३ अंक बढेको हो । अन्य समूहमा कारोबार हुने नेपाल दूरुसञ्चार कम्पनी र एचआइडिसिएल कम्पनीको सेयरमूल्य बढेकाले सो समूहको परिसूचक १ दशमलव ७४ अंक बढ्न पुगेको हो । सातामा उत्पादन समूहको परिसूचक सबैभन्दा बढी अंकले घटेको छ । सो समूहको परिसूचक १९१ दशमलव २ अंक घटेको छ । साथै, निर्जीवनको ९७ दशमलव २६, जीवन बिमाको ५९ दशमलव ९५, जलविद्युत्को ३० दशमलव १२, लघुवित्तको १९ दशमलव शून्य ७, होटेलको १९ दशमलव ६, बैंकिङको १० दशमलव ८४, वित्तको ८ दशमलव शून्य ७, विकास बैंको ७ दशमलव ८४ र म्युचुअल फन्डको शून्य दशमलव १३ अंक घटेको छ । 

पूर्वाधार विकास बैंकले सर्वसाधारणलाई सेयर जारी गर्ने 
मुलुककै पहिलो पूर्वाधार विकास बैंक ‘नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड’ले मंसिर २९ गते हुने आफ्नो प्रथम वार्षिक सर्वसाधारण साधारणसभामा सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । बैंकले साझको ४ बजे वार्षिक प्रतिवेदन पारित र ८ करोड कित्ता आइपिओ जारी गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । हाल १२ अर्ब रुपैयाँँ चुक्तापँुजी रहेको बैंकले ८ अर्बको आइपिओ निष्कासन गर्न लागेको हो । बैंकको सभाले संस्थापकतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ । 

एसबिआईको २६औँ सभा
नेपाल एसबिआई बैंक लिमिटेडले २६औँ वार्षिक साधारणसभा मंसिर २९ गते गर्न लागेको छ । बैंकले करका लागि १० दशमलव ८४ प्रतिशत नगद लाभांश र ६ बोनस सेयर प्रतिशत पारित गर्न त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सेयरधनी बोलाएको हो ।

बैंकले बिहान ११ बजे सभा सुरु गर्ने जानकारी दिएको छ । बैंकको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा वा एक्विजिसनमा जानेबारे सञ्चालक समितिलाई अख्तियारी दिने विषय सभामा राखेको छ । बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्न लागेको छ । 

सोल्टी होटेलको लाभांश पारित गर्न बोलायो सभा
सोल्टी होटेल लिमिटेडको पुस २४ गते ४५ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले सभामा १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३१५ प्रतिशत नगद लाभांश प्रस्ताव लैजाँदै छ । साधारण सभाका लागि मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द हुनेछ । 

गरिमा विकासको तेह्रौँ वार्षिक सभा
गरिमा विकास बैंकले तेह्रौँ वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । कम्पनीले १६ दशमलव १५ प्रतिशत बोनस सेयर र करका लागि शून्य दशमलव ८५ प्रतिशत नगद प्रस्ताव पारित गर्न सभा बोलाएको हो । अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब पुर्‍याउने, अन्य इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन् । 

साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतेदेखि २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा बोनस र लाभांश पाउनेछन् ।

सबैको लघुवित्तको मूल्य समायोजन
नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको छ । समायोजनपछि नेप्सेले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८३ तोकेको छ । 

लाइफ इन्स्योरेन्स र जनउत्थान लघुवित्तको सेयर सूचीकृत
नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ५१ लाख ५१ हजार ६१२ कित्ता वोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्तको २ लाख ८८ हजार कित्ता हकप्रद सेयर सुचीकृत भएको छ । सेयरधनीले सूचीकृत सेयर आइतबारदेखि दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन् ।