मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ७ शनिबार १७:४८:००
Read Time : > 1 मिनेट
समाचार

‘प्रधानमन्त्री ओलीले स्वीकृति दिएकै कारण भारतले नेपाली भूमि नक्सामा समेट्यो’ 

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ७ शनिबार १७:४८:००

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएकै कारण भारतले नेपाली भूमि समेटेको नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पोखरामहानगरपालिका १६ मा शनिबार आयोजित चुनावी सभामा बोल्दै यस्तो गम्भीर आरोप लगाएका हुन् । भारतले नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा तीब्र विरोध भइरहेका बेला पूर्वप्रधानमन्त्री देउवाले यस्तो आरोप लगाउँदै भनेका छन्, ‘ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो, यसै छाप्छ ?’

प्रधानमन्त्री ओलीले राष्ट्रवाद कालापानीमा घुँडा टेक्दै लम्पसारवादमा परिणत भएको टिप्पणी गरे । राष्ट्रवादी नारा उरालेर चुनाव जितेका ओली वास्तविक राष्ट्रवादी नरहेको र राष्ट्रघात गरेको उनले बताए । ‘ओली राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनले भने, ‘चुनाव जित्न राष्ट्रवादको खोल ओडेर जनताका आँखामा छारो हानेका छन् । ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइनन् ?’ उनले भने ।

‘हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं,’ उनले भने, ‘सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं तर सरकार मौन छ, कानमा तेल हालेर अझै बसिरहेको छ ।’ सरकार अब पनि प्रजातान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढ्दै गए कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत देउवाले दिए । 

फरक प्रसंगमा देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको देउवाको भनाई थियो । जनताले थेग्नै नसक्ने गरी कर वृद्धि गर्ने सरकारको कदमलाई सच्याउनका लागि समेत आउँदो उप निर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको बताए । 

आशन्न उपनिर्वाचनलाई लक्षित गरी कांग्रेसका उच्च नेताहरू पोखरा केन्द्रित भएका हुन् । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, युवा नेता गगनकुमार थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।