मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार १०:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

औँसा प्रकोपले बोटमै कुहिन थाले सुन्तला

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १०:५७:००

पाक्ने वेला भएका सुन्तला भटाभट झर्न थालेपछि बेनी नगरपालिका–२ राखु भकिम्लीकी मनकुमारी पुन चिन्तित बनेकी छिन् । दानामा औँसा परेर सुन्तलाको बोटै खाली हुन थालेपछि उनमा चिन्ता बढेको हो । 

उनले १५ वर्षदेखि व्यावसायिक सुन्तला खेती गरिरहेकी छिन् । करिब १५ दिनयता हरेक बोटबाट दैनिक एक किलोभन्दा बढी सुन्तला पहेँलो भएर झर्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘यसरी पाक्ने वेला भएको सुन्तला भटाभट झरेको कहिल्यै अनुभव गरेकी थिइनन, कसरी औँसा नियन्त्रण गर्ने भन्ने चिन्ता छ ।’ उनले गत वर्ष साढे दुई लाखको सुन्तला बिक्री गरेको बताइन् । तर, यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको उनले बताइन् । उनले भनिन्, ‘कहिले असिनाले झार्छ, कहिले औँसा पर्छ ।’ उनको बगैँचामा दुई सय ५० भन्दा बढी सुन्तलाका बोट छन् । 

सुन्तलामा औँसा पर्ने समस्या पुनको मात्रै होइन । सुन्तला पकेट क्षेत्र मानिएको भकिम्लीको पानीस्वाँरा, मरेक, जिमिरेलगायत ठाउँमा पनि बिक्रीको तयारी हुँदै गरेको सुन्तलाका औँसा फैलिएको छ । बिक्रीका लागि बजारको बन्दोबस्ती गर्दै गरेका किसान बोटबाटै सुन्तला झर्न थालेपछि समस्यामा परेका छन् ।

बेनी नगरपालिकाका अधिकांश ठाउँमा सुन्तला झर्ने समस्या व्याप्त रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको सुन्तला जोन  सञ्चालक समितिका संयोजक खिमबहादुर पुनले बताए । उनका अनुसार परियोजनाले समेटेको म्याग्दीको बेनी नगरपालिकासहित, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण, पर्वतको जलजला, बाग्लुङको काठेखोला गाउँपालिका र बाग्लुङ नगरपालिकामा समेत बोटबाटै अस्वाभाविक रूपमा सुन्तला झर्न थालेको छ । ‘सुन्तलाको व्यवसायीकरणमा जोड दिइरहेका वेला झर्ने समस्याले अत्यन्तै चिन्तित बनाएको छ, तत्काललाई झरेका फलको व्यवस्थापनमा सचेत रहन कृषकलाई अनुरोध गरेका छौँ,’ संयोजक पुनले भने । 

 यी क्षेत्रमा देखियो औँसाको प्रकोप
परियोजनाका अनुसार, भकिम्लीसँगै बेग, दोसल्ले बाग्लुङको सिंगाना, बिउँ, पर्वतको बाँसखर्क, नाइलीवांग, बनौँलगायत स्थानमा सुन्तला कुहाउने औँसाको प्रकोप देखिएको छ । ‘ब्याक्ट्रोसेरा मिनाक्स’ नामको किराको संक्रमण म्याग्दीसँगै बाग्लुङ र पर्वतका सुन्तलाजात फलफूल खेतीमा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि अधिकृत सूर्यप्रसाद बरालले जानकारी दिए । उनका अनुसार, सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा संक्रमण फैलिएको छ । बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा भएकाले झरेका फल व्यवस्थित तरिकारे व्यवस्थापन र नष्ट गर्न आवश्यक रहेको प्रमुख बरालले बताए ।

 औँसा नियन्त्रण चुनौतीपूर्ण बन्दै
कार्यालयले किसानलाई झरेका फल बाक्लो प्लास्टिकको थैलोमा जम्मा गरी थैलोको मुख हावा नछिर्ने गरी बन्द गरी त्यसमा रहेका औँसाका लार्भा मार्ने आह्वान गरेको छ । झरेका फलको औँसा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तला खेती लोप हुने जानकार बताउँछन् । पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको जलजला गाउँपालिका–९ बनौँका कृषक शुभबहादुर क्षत्रीले बताए । दुई वर्षदेखि सुन्तला झर्ने समस्या देखिएको र रोग पहिचानमा ढिलाइ भएका कारण रोगथाम प्रभावकारी बन्न नसकेको उनले बताए । 

 ५२ वडा समेटेर जोन स्थापना
म्याग्दी, बाग्लुङ र पर्वतका आठ स्थानीय तहका ५२ वडा समेटेर सुन्तला पकेट क्षेत्र बनाउने गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा ल्याइएको छ । परियोजना कार्यान्वयन हुनुअघि ७ सय ६३ हेक्टरमा सुन्तला खेती रहेको र हाल १ सय ५९ हेक्टरमा थप सुन्तला खेती विस्तार भएको छ ।