Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ५ बिहीबार ०८:२८:००
Read Time : > 1 मिनेट
सम्पादकीय

हावा भरिएका भाषण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ५ बिहीबार ०८:२८:००

देशमा नेकपाको नेतृत्वमा समृद्धि र सुखको नारा बोकेको सरकार छ । झन्डै दुई वर्षदेखि स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्व गर्दै आएको नेकपाको सरकारका उपलब्धिबारे नेता या सरकारले गर्ने दाबी र जनताका अनुभवबीच निकै ठूलो दूरी छ । आममानिस अझै पनि सरकारले गति लिन नसकेको या समृद्ध नेपाल निर्माणमा अपेक्षित उपलब्धि हासिल नभएको बताइरहेका छन् ।

सरकारको काम कति फितलो छ भन्ने त आर्थिक वर्ष ०७६/७७ को बजेट लागू भएको चौथो महिनासम्म पनि विकास बजेटको ६ प्रतिशत मात्रै खर्च हुनु, राजस्वको लक्ष्य हासिल हुन नसक्ने गरी आयात घट्नु, र अर्थमन्त्री स्वयंले तीन महिनापहिले निर्धारण गरेको आर्थिक वृद्धिदरको लक्ष्यलाई ८.५ प्रतिशतबाट ७.१ प्रतिशतमा घटाउनुले पनि बताएकै छन् ।

अर्थमन्त्रीले चार महिनापहिले गरेको अनुमान यतिवेलै किन संशोधन गरे ? के उनलाई देशको आर्थिक गतिविधिमा आइरहेका परिवर्तनको आँकलन थिएन ? कि बजेटलाई लोकप्रिय बनाउन यस्तो काल्पनिक प्रक्षेपण गरेका थिए र अहिले आएर त्यसलाई बीचैमा संशोधन गरी गाल जोगाउने उपाय झिकेका हुन् ? यस्ता प्रश्न उठ्ने आधार दिएका अर्थमन्त्रीका अभिव्यक्तिलाई माटोमुनि पुरेर नेकपाका नेता भने थप ठूला गुड्डी हाँकिरहेका छन् ।

केही दिनअघि नेकपाका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले नेपालको विकासले आगामी ५ वर्षमा भारतलाई र १० वर्षमा चीनलाई भेट्टाउने भविष्यवाणी गरे । हिजो मात्रै उनका सहयोगी स्थायी समिति सदस्य जनार्दन शर्माले आगामी तीन वर्षमै नेपालले विकासको शिखर चुम्ने अभिव्यक्ति दिए । तोलाको वचन खोलामा जाने गरी यी हावा भरिएका अभिव्यक्ति नेताहरू किन दिइरहेका छन् ? के नेताहरूमा जिम्मेवारीबोध छैन ? के उनीहरूमा आफूले बोलेका विषय तथ्य र ऐतिहासिक प्रवृत्तिसँग मिल्ने हुनुपर्छ भन्ने सामान्य ज्ञान छैन ? अन्यथा, भइरहेका कामले तीन वर्षमा दिने प्रगतिको सामान्य आँकलन गरेर बोल्दा पनि जनतामा सकारात्मक प्रभाव पार्न सकिने सम्भावना किन खोज्दैनन् र सुन्नेलाई लाज लाग्ने अभिव्यक्ति दिँदै हिँड्छन् ।

नेताहरूले तथ्यमा आधारित सत्य बोले मात्र जनतामा आशा र भरोसा जगाउन सकिन्छ 
 

नेकपाको उच्च तहका नेता गौतममा नेपालले अहिले गरिरहेको प्रगति र नेकपा सरकारले लिएका नीतिले आउने दिनमा दिने उपलब्धिको सामान्य लेखाजोखा गर्ने ज्ञान नभएकै हो र ? सत्तारुढ दलका प्रस्तावित उपाध्यक्ष, सचिवालय सदस्य र संगठन विभाग प्रमुखका रूपमा उनी देशलाई कता लैजाने भन्ने नीतिगत निर्णय गर्ने ठाउँमा छन् । अर्का नेता शर्मा पनि नेकपाको संगठन विभागका उपाध्यक्ष छन्, स्थायी समिति सदस्य छन् र सम्भावना भएका युवानेता मानिन्छन् । यस्ता नेताले बोलेका विषयले आमजनतामा आशा र भरोसा जगाउन सक्नुपर्छ । यस्तो आशा तथ्यमा आधारित सत्य बोलेर जनताको मन जिते मात्र जाग्ने हो ।

वर्तमान सरकारको सार्वजनिक योजनालाई आधार मान्ने हो भने नेपालले ०८० सालसम्ममा अल्पविकसित मुलुकबाट विकासोन्मुख बन्ने र २१०० सम्ममा मध्यमस्तरको विकसित देश बन्ने दाबी गरेको छ । अहिलेकै जस्तो प्रक्षेपित लक्ष्य संशोधन गर्नुप-यो भने त्यो पनि सम्भव छैन । यस्तो अवस्था जान्दाजान्दै अविश्वसनीय भनाइ राखेर न जनमत आफ्नो पक्षमा पार्न सकिन्छ, न उनीहरूप्रतिको जनविश्वास नै वृद्धि हुन्छ ।

उनीहरूको भनाइले वर्तमान सरकार र सत्तारुढ दलको प्रतिनिधित्व गर्ने भएकाले त्यो विश्वसनीय हुनुपर्छ । दुई–तीन वर्षपछि पनि जनताले यसको परीक्षण गरिरहनेछन् । हावादारी भाषणविना जनताको विश्वास जित्ने सबै सम्भावना सकिएको हो भने त्यस्तो दल र नेता देशका लागि एउटा जोखिम हुन् । के नेकपा यस्तै भाषण गर्नैका लागि मात्र सत्तारुढ भएको हो ?