मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०७:४०:००
Read Time : > 1 मिनेट
राजनीति

जुन–जुन जिल्लामा पकड, त्यहीँ–त्यहीँ विवाद

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०७:४०:००

  राजपाको वर्चस्व भएका जिल्लामै तदर्थ  समिति गठन अवरुद्ध, विवाद मिलाउन २० दिन थप

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सांगठनिक पकड भएकै जिल्लामा स्थानीय समिति बनाउँदा विवाद देखिएको छ । पार्टीको अध्यक्ष मण्डलले निर्देशिका बनाएर वडा, पालिका, प्रदेश सभा/प्रतिनिधिसभा क्षेत्र र जिल्लामा तदर्थ समिति गठन गर्ने समय तोकेको थियो । पार्टीको वर्चश्व रहेका जिल्लाहरूमा तोकेको समयमा समिति गठन नभएपछि २० दिन समय थपिएको छ । 

अध्यक्ष मण्डलको ८ कात्तिकमा बसेको बैठकले जिल्लाहरूमा वडा, पालिका, प्रदेशसभा÷प्रतिनिधिसभा क्षेत्र र जिल्लामा तदर्थ समिति गठन गर्न ‘तदर्थ समिति गठन निर्देशिका ०७६’ बनाएको थियो । निर्देशिकामा २४ कात्तिकमा वडा, २६ कात्तिकमा पालिका, २८ कात्तिकमा प्रदेशसभा÷प्रतिनिधिसभा र ३० कात्तिकमा जिल्ला समितिमा तदर्थ समिति गठन गरिसक्ने उल्लेख थियो । तर, तोकिएको समयमा पार्टीको पकड भएका जिल्लामा विवादका कारण अधिवेशन सम्पन्न हुन नसकेपछि अधिवेशन गर्ने म्याद थपिएको छ । 

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान गर्न भन्दै २० दिनको समय थप गर्ने निर्णय गरेको हो । ‘कतिपय ठाउँमा तदर्थ समितिहरू गठन गर्न बाँकी रहेकोले सो बाँकी कार्य सोही निर्देशिकाबमोजिम सम्पन्न गर्न र केही ठाउँहरूमा समस्या देखिएकोले ती समस्याहरू सहमति तथा लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान गर्न २० दिन समय थपिएको छ,’ बैठकपछि संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा छ । 

बैठकले अधिवेशन गर्न खटाएका केन्द्रीय पर्यवेक्षकलाई तोकिएको क्षेत्रमा पुगेर २५ मंसिरभित्र तदर्थ समिति गठनसम्बन्धी कार्य सम्पन्न गरी ३० मंसिरमा बोलाइएको पर्यवेक्षकको बैठकमा प्रतिवेदन लिई केन्द्रीय कार्यालयमा आउन निर्देशन दिएको छ । 

अधिवेशनमा कहाँ के भयो ?
केन्द्रदेखि वडासम्म अध्यक्ष मण्डलले पार्टी चलाइरहेको राजपामा एकल नेतृत्वमा जाने गरी तदर्थ समिति गठनका लागि तल्लो तहमा अधिवेशन भइरहेका छन् । तर, पार्टीको वर्चश्व भएका मधेसका जिल्लामै समिति गठनमा विवाद देखिएको छ । दुई जिल्लामा विवादका कारण जिल्ला समिति नै दुई–दुईवटा बनेका छन् । मधेसका बाँकी सात जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन भने प्रायः जिल्लामा सकिएको छ । ‘तल्ला समितिमा अधिवेशन भइरहेको छ, केही स्थानमा बाँकी छ,’ अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नयाँ पत्रिकासँग भने, ‘कहाँ कति भयो भन्ने रिपोर्ट आइपुगेको छैन । जिल्ला तहबाट केन्द्रमा आउँदै छ ।’ 

केन्द्रीय कार्यालय स्रोतले महोत्तरीमा अधिवेशनै सुरु नभएको जानकारी दियो । त्यहाँ एउटा गाउँपालिका र तीन वडाध्यक्षका लागि १४ मंसिरमा उपनिर्वाचन हुने भएकाले नेता–कार्यकर्ता त्यतै सक्रिय छन् । सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहटमा जिल्ला तदर्थ समिति बनिसकेका छैनन् । प्रायःमा वडा समिति बनिसकेका छन् । पालिका समिति गठनमा विवाद भइरहेका छन् । 

बारा र पर्सामा दुई समिति
राजपाको वर्चश्व रहेको बारा र पर्सामा दुईवटा जिल्ला समिति बनेका छन् । बारामा नवलकिशोर सिंह र धर्मेन्द्र यादवको नेतृत्वमा छुट्टाछुट्टै समिति बनेका हुन् । पर्सामा राजेशमान सिंह र जगदीश पटेलले छुट्टाछुट्टै समिति बनाएका छन् । उनीहरू सबै यसअघिको अध्यक्षमण्डलका सदस्य रहेका थिए । 

२२ जिल्लामा एकल नेतृत्वमा जिल्ला समिति
राजपाले २२ जिल्लामा भने एकल नेतृत्वमा जिल्ला तदर्थ समिति बनाइसकेको छ । झापा, मोरङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा, उदयपुर, कपिलवस्तु, स्याङ्जा, प्युठान, अर्घाखाँची, सल्यान, जुम्ला, सुर्खेत, दैलेख, कालिकोट, दाङ, काठमाडौं, ललितपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रेमा जिल्ला तदर्थ समिति बनिसकेका केन्द्रीय कार्यालयले जानकारी दियो । 

महतो फेरि अध्यक्ष मण्डल संयोजक
राजपाको अध्यक्ष मण्डलको संयोजकमा पुनः राजेन्द्र महतो आएका छन् । बुधबारको अध्यक्ष मण्डल बैठकले बिहीबारबाटै लागू हुने गरी संयोजक महतोलाई बनाउने निर्णय गरेको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।