Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार २२:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् पुनर्गठन : सात मन्त्री फालिए, आठ जना नियुक्त (सूचीसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ४ बुधबार २२:१२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । आठौं पटक पुनर्गठन गर्दै सात मन्त्री हटाएर उनले आठ जना मन्त्री नियुक्तिका सूची राष्ट्रपति कार्यालयमा बुधबार राति पठाएका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा बिहान ११ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले नियुक्तिका लागि मन्त्रीहरुको सूचिसहित राष्ट्रपति कार्यालयलाई पत्राचार गरिएको बताए । 

‘प्रधानमन्त्रीका तर्फबाट मन्त्रीमण्डल पुनर्गठनका लागि नियुक्त हुने मन्त्रीहरुको सूचिसहित राष्ट्रपति कार्यालयमा पत्राचारगरिएको छ’, थापाले भने,‘राष्ट्रपतिज्यूले शपथ ग्रहण गराएसँगै बिहीबार मन्त्रीहरुको सूचि सार्वजनिक हुनेछ ।’ ३ फागुन २०७४ मा प्रधानमन्त्रीमा निर्वाचित केपी ओलीले आठौं पटक मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् ।

कार्यसम्पादनमा कमजोर मानिएका ७ मन्त्री फालिए 
प्रधानमन्त्री कार्यालयका अनुसार कार्यसम्पादन मूल्यांकनका आधारमा ७ जना मन्त्री फालिएका छन् । जसअनुसार पूर्व एमाले समूहबाट मन्त्री भएकाहरु भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । 
त्यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । उनीहरु पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए ।

आठ मन्त्रीको नाम सिफारीस 
प्रधानमन्त्री ओलीले नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालसहित आठ जनाको नाम मन्त्रीका लागि सिफारिश गरेका छन् । स्रोतका अनुसार पार्वत गुरुङ, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, मोती दुगड, लेखराज भट्ट र रामेश्वर राय यादवको नाम मन्त्रीका लागि सिफारिश गरिएको छ । भुषाललाई कृषि, गुरुङलाई महिला बालबालिका मन्त्रीमा सिफारिश गरिएको छ । 

त्यस्तै, नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तोकिएको छ । त्यस्तै, भट्टलाई श्रम मन्त्रालय तोकिएको छ भने रायको मन्त्रालय टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । त्यस्तै विमला राई पौडेललाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ । राष्ट्रपति विद्या भण्डारीकी पूर्व सल्लाहकार राई राष्ट्रियसभा सांसद छिन् । 

मन्त्रीमा सिफारिश गरिएकामध्ये भुषाल, गुरुङ, नेम्बाङ, भट्ट र त्रिपाठी प्रत्यक्ष निर्वाचित सांसद हुन् । स्वतन्त्र समूहबाट त्रिपाठी नेकपाको सूर्य चिन्ह्बाट विजयी भएका थिए । 

यादव र ढकालको मन्त्रालय हेरफेर
स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कानुन मन्त्री भानुभक्त ढकालको मन्त्रालय हेरफेर गरेका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुनेछन् ।