१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
धनगढी
२०७६ मङ्सिर ४ बुधबार ०७:१२:००
Read Time : > 1 मिनेट
अर्थ

धान उत्पादनमा ३५ सय मेट्रिक टन कमी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०७:१२:००

झन्डै सात सय हेक्टरमा लगाइएको धानमा बाला नलागेपछि कैलाली–कञ्चनपुरमा धान उत्पादन प्रभावित भएको छ । गत वर्षको तुलनामा उत्पादनमा कमी नआए पनि समग्र उत्पादन प्रभावित भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

समग्र उत्पादनमा करिब तीन हजार पाँच सय मेट्रिक टनले कमि आएको कृषि ज्ञान केन्द्र प्रमुख रामचन्द्र भट्टले बताए । दुई जिल्लामा गरी करिब सात सय हेक्टर क्षेत्रमा यस वर्ष लगाइएको गरिमा र सिन्दुरी जातको धानमा बाला लागेन । दुई जिल्लामा भएको धान उत्पादनको तथ्यांक संकलन गरेर त्यसलाई मिलाउने काम भइरहेको ज्ञान केन्द्र प्रमुख भट्टले बताए ।

‘गत वर्षको तुलनामा कुल उत्पादन घटेको देखिएन तर उत्पादनको समग्र परिणाम घटेको छ,’ उनले भने, ‘यस वर्षको समग्र उत्पादन ३५ सय मेट्रिकटन घट्ने देखिएको छ ।’ बाला नलागेको सात सय हेक्टरमध्ये ७० प्रतिशत क्षेत्र कैलालीमा परेको छ । गत वर्षको तुलनामा उत्पादन नघटे पनि धानमा बाला नलाग्दा पीडित किसान भने मारमा परेको उनले बताए ।

बाला नलागेको बाहेक अन्य ठाउँमा उत्पादकत्व नघटेकोले गत वर्षको तुलनामा कुल उत्पादनमा भने कमी नआएको भट्टले बताए । कृषि ज्ञान केन्द्रका अनुसार सात सय हेक्टरमा लगाइएको धानमा बाला नलाग्दा एक हजार सात सय परिवार किसानमा मारमा परेका छन् । 

कैलालीमा करिब ७० हजार हेक्टरमा धान खेती हुन्छ । यहाँ प्रतिहेक्टर पाँच मेट्रिकटन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै कञ्चनपुरमा ३८ हजार हेक्टरमा धान खेती हुन्छ र त्यहाँको उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव १ मेट्रिकटन छ । सुदूरपश्चिममा यी दुई जिल्ला धान उत्पादनका लागि उर्वर हुन् ।

किसानले बेचिसकेपछि धान किन्दै संस्थान
सरकारले समयमै मूल्य तोकेर खरिद नगर्दा किसानले धानको उचित मूल्य भने पाउन सकेका छैनन् । अधिकांश किसानले व्यापारीसँग सस्तोमा धान बिक्री गरिसकेपछि सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय धनगढीले धान खरिद सुरु गरेको छ । खाद्यले धनगढी मोहनपुर, टीकापुरमा रहेको डिपो तथा भजनी, जोशीपुर र हसुलियामा डिपो स्थापना गरेर धान खरिद गर्न थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अञ्चल कार्यालय धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले केन्द्रबाट धान खरिदको कोटा ढिलो निर्धारण हुँदा अहिले आएर खरिद सुरु गरिएको बताए । सरकारले केही दिनअघि मोटा धानको प्रतिक्विन्टल दुई हजार पाँच सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको दुई हजार ६ सय ७३ रुपैयाँ १६ पैसा समर्थन मूल्य तोकेको थियो । 

मूल्य तोके पनि सरकारले खरिद सुरु नगर्दा किसानले व्यापारीसँग सस्तोमा धान बेच्नुपरेको थियो । मोटो धान प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार एक सय रुपैयाँसम्ममा बिक्री गरिएको किसानले बताएका छन् । सरकारले समयमै धान खरिद नगर्दा समर्थन मूल्य नपाएको धनगढी–१२, जागुराम चौधरीले बताए ।

‘सरकारले मूल्य तोक्यो तर समयमा खरिद गरेन,’ चौधरीले भने, ‘सरकारले खरिद सुरु नगर्दा व्यापारीले तोकेको मूल्यमा बेच्नुप-यो ।’ हिउँदे बालीका लागि बिउ, मल, खनजोतलगायत खर्चको जोहो धान बिक्रीबाटै गर्नुपर्ने बाध्यता भएका किसान धान भित्र्याउने बित्तिकै बिक्री गर्ने गरेका उनले बताए । सरकारले हरेक वर्ष धानको मूल्य निर्धारण गरे पनि ढिलोगरी खरिद सुरु गर्दा किसानले तोकेको मूल्य पाउँदैनन् । खाद्यले यस वर्ष जिल्लाबाट ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।