मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर ४ बुधबार ११:०८:००
Read Time : < 1 मिनेट
समाचार

जंगलमा भोज खाएर उपभोक्ता समिति गठन 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ११:०८:००

कैलालीको लम्कीचुहा नगरपालिका–६ मा योजनाको स्थल छनोट गर्दै त्यही योजनाको पैसाले भोजको आयोजना गरिएको छ । वडा नं ६ चरैला जंगलमा पर्ने मिलन खोलामा वनभोजस्थल छनोटका लागि गएको टोलीले १४ हजारको खसीसहितको भोज गर्दै नरबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ ।

१० लाख रुपैयाँको लागतमा बन्ने वनभोजस्थलको स्थान छनोट गर्न वडाध्यक्ष नेत्र मगरले ३० कात्तिकमा शम्भु–सुनन्दा आधारभूत विद्यालयको प्रांगणमा उपस्थित हुन २० जनालाई पत्राचार गरेका थिए । बोलाइएका सीमित व्यक्तिलाई विद्यालयबाट करिब दुई घन्टाको बाटो हिँडाएर भोज गरिएको हो । भोज खाने क्रममा उपभोक्ता समिति पनि गठन गरिएको हो । 

२६ कार्तिकको चलानी नम्बर ९२८ को सिमित व्यक्तिलाई मात्र खबर गरेर मानव बस्तीभन्दा टाढा जंगलमा उपभोक्ता समिति गठन गर्नुले शंका पैदा गरेको स्थानीय भेषबहादुर विष्टले बताए । पिकनिक निर्माणस्थल मिलनखोला पुगेका स्थानीय खेमराज न्यौपानेले वडाध्यक्ष मगरले माइन्युटमा उपस्थिति जनाउन भनेको तर मासुभात खाइरहेको देखेर आफूले हस्ताक्षर नगरेको बताए ।  

वडासचिव लीलबहादुर खत्रीले आफूलाई जानकारी नदिई पिकनिकस्थल छनोटको लागि पत्राचार गरिएको बताउँदै प्रक्रिया नै पूरा नगरी पिकनिकस्थल निर्माण उपभोक्ता समिति गठन भएको जानकारी पाउँदा अचम्म लागेको बताए । 

स्थानीय भरत विकले आफ्नो घरबाट १४ हजारमा खसी किनेर लगेको बताए । आफू पुग्दा खसी काटिसकेको उनले बताए । कार्यक्रमस्थलमा भोजमा २० हजार खर्च भएको हिसाब सुनाइएको विकले बताए । भोजमा भएको खर्च पिकनिकस्थल निर्माणको १० लाख बजेटबाट नभई वडा कार्यालयको विविध खर्चबाट गरिएको वडा सदस्य प्रबल रोकायाले बताए । वडाध्यक्ष नेत्र मगरले पाँचजना गएर पनि समिति गठन गर्न सकिने, तर सबैलाई समेटेर समिति गठन गरेको बताए ।