१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १०:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

नारीदाङमा सहरी स्वास्थ्य इकाइ सुरु

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १०:५७:००

उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता हट्यो 

मंगलबार दिपायल नगरपालिका वडा नं. ८ लडागडा नारीदाङकी ५५ वर्षीया बाटु विक दंग थिइन् । सहरी स्वास्थ्य इकाइको उद्घाटन कार्यक्रममा पुगेकी विकले भनिन्, ‘यो अरूका लागि सानो विषय हुनसक्छ, हाम्रा लागि ठलो कुरा हो, हामीले हाम्रो स्वास्थ्यचौकी टाढा भएका कारण चारपटक गर्भवती चेकजाँच गर्न सकेनौँ, अब हाम्रा बुहारीले त्यो समस्या भोग्नुपर्ने छैन ।’

लडागडा स्वास्थ्यचौकीमा पुग्न डेढ घन्टाको उकालो हिँड्नुपर्ने भएका कारण उपचारका लागि सहज नभएको लक्ष्मी साउदले सुनाइन् । उनले भनिन्, ‘गर्भवती अवस्थामा हिँडन पनि गाह्रो हुने । गाडी पाए जिल्लाकै स्वास्थ्य संस्थामा जान्थ्याैं नभए मानिगडा अछाम पनि पुग्थ्यौँ । अब यहीँ त्यो सेवा पाउँदा खुसी लागेको छ ।’

दिपायल सिलगढी नगरपालिका–८ लडागडामा  नारीदाङ क्षेत्रलाई लक्षित गरी सहरी स्वास्थ्य इकाइको सुरुवात गरिएको हो । घरटोलमा स्वास्थ्य सेवा दिने उद्देश्यले सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताइन् । मलासीले भनिन्, ‘हामी घरदैलोको सरकार हो, घरदैलोमै उपचार दिन चाहन्छौँ, विशेषगरी यहाँका दिदीबहिनी दाजुभाइले स्वास्थ्यका लागि भोग्नुपरेको समस्याबारे जानकार छु ।’ 

नारीदाङबाट लडागडा स्वास्थ्यचौकीको दूरी टाढा भएको कारण उक्त ठाउँमा स्वास्थ्य केन्द्रको सुरुवात गरिएको स्वास्थ्य इकाइप्रमुख राजु खड्काले बताए ।  यो स्वास्थ्य इकाइबाट ओपिडी सेवा, गर्भवती चेकजाँच, खोप सञ्चालन, परिवार नियोजन, क्षयकुष्ट, पोषण र बालरोगसम्बन्धी सेवा प्रदान गरिनेछ । बर्थिङ सेन्टरका लागि आवश्यक प्रबन्ध मिलाइदिनका लागि स्थानीयले माग गरेका छन् । 

स्वास्थ्य केन्द्रबाट नारीदाङ र आसपासका पाँच सय परिवार प्रत्यक्ष लाभान्वित हुने वडा नं. ८ का अध्यक्ष रामबहादुर खड्काले बताए । नौ लाख ८१ हजार सात सय ७९ को लागतमा स्वास्थ्य केन्द्रको भवनको निर्माण गरिएको हो । स्वास्थ्य सेवा सुरु भएपछि सेवाका लागि अछाम पुग्नुपर्ने बाध्यता अन्त्य भएको नारीदाङकी बाटु विकले बताइन् । यसअघि यहाँका बासिन्दाले स्वास्थ्य संस्था जान एक दिन खर्चिनुपथ्र्यो ।