मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ४ बुधबार १०:५७:००
Read Time : > 1 मिनेट
समाचार

बजेट अभावले उत्तरी नाका जोड्ने सडक निर्माणको गति सुस्त

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार १०:५७:००

कर्णाली प्रदेश सरकारले चीनसँग जोड्ने उत्तरी नाकालाई जोड्ने सडकलाई प्राथमिकतामा राखेको भए पनि बजेटको अभावले गति लिन सकेको छैन । प्रदेश सरकारले उत्तरी नाका मुगुको नाक्चेलाग्ना, डोल्पाको मोरिल्ला र हुम्लाका हिल्सालाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले तीनै नाका खोल्न संघीय सरकारमार्फत पहल गरिरहेको छ । चीनले पनि हिल्सा नाका खोल्नका लागि रुचि देखाएको छ । हिल्ला नाका खोल्ने विषयमा चीन सरकार तयार गरेको कर्णाली प्रदेश सरकारले जनाएको छ । तर, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिल्ला नाका खोल्न भने आनाकानी गरेको छ । 

संघीय सरकारले कर्णालीका नाका जोड्ने सडकलाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छैन । जसले पर्याप्त बजेट नहुँदा तीनै नाका जोड्ने सडकको कामको गति सुस्त छ । बजेटको व्यवस्था गर्न प्रदेश सरकारलाई सकस भएको छ । 

नाक्चेलाग्नामा १० करोड मात्रै
कर्णाली प्रदेशले नाक्चेलाग्ना नाका खोल्नका लागि पहल गरिरहेको छ । यसका लागि नाका जोड्ने सडक निर्माणमा जोड दिएको छ । मुगुको गमगढीदेखि नाक्चेलाग्नासम्म ९६ किलोमिटर सकड निर्माण गर्नुपर्नेछ । त्यसमध्ये अहिले गमगढीदेखि थाइलसम्म १६ किलोमिटर ट्र्याक खोलिएको छ । 

थाइलभन्दा अगाडिका लागि गत वर्ष बजेट नै विनियोजन भएको थिएन । चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए । ‘गत वर्ष नाग्चेलाग्ना सडक निर्माणका लागि बजेट नै आएन । यो वर्ष डिपिआर बनाएर ठेक्का खोल्ने तयारीमा छौँ,’ महतराले भने । यो बजेट पर्याप्त नभएको उनले बताए । 

थाइलभन्दा अगाडि ठूलो नाङलेभिर रहेको छ । त्यो भिर फोड्न विस्फोट गराउनुपर्छ । तर, त्यसका लागि पर्याप्त बजेट नभएको महतराले बताए । सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको भए पनि बजेट थोरै दिने गरेकाले  काम हुन नसकेको उनले बताए । 

नाक्चेलाग्ना नाका खोल्नका ०६७ देखि निर्माण सुरु गरिएको थियो । यो नौ वर्षको अवधिमा १० करोड खर्च भएको छ । जबकि, सुर्खेतबाट नाग्मा, गमगढी हुँदै तिब्बत सीमा नाकासम्म तीन सय ९० किलोमिटर दूरी रहेको छ । 

मोरिल्ला सडकका लागि बजेटै छैन
भेरी करिडोरअन्तर्गत डोल्पाको मोरिल्लाना खोल्न कर्णाली सरकारले पहल गरिरहेको जनाएको छ । तर, यो नाका जोड्ने सडकका लागि भने संघीय सरकारले बजेट नै विनियोजन गरेको छैन । 

डोल्पाको दुनैदेखि मोरिल्लासम्मको एक सय २७ किलोमिटर सडक रहेको छ । त्यसमध्ये डोल्पाको धौदेखि चीनको मोरिल्ला जोड्ने ६५ किलोमटिर सडक ट्र्याक खुलेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए । ‘मोरिम्लादेखि दुनैतर्फको धौसम्म ६५ किलोमिटर सडक निर्माण भइसकेको छ,’ उनले भने,  ‘त्यसबीच कडा चट्टान भएका कारणले समस्या भएको छ । 

त्यस्तै, दुनैदेखि धौसम्म सडक निर्माणका लागि वातावरणीय मूल्यांकन काम सुरु भएको छ । तर, यो सडकका लागि सरकारले बजेट विनियोजन नगरेको प्रमुख भट्टले बताए । वातावरणीय मूल्यांकनको काम सकिएपछि बजेट विनियोजन हुने उनको भनाइ छ ।