१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर ४ बुधबार ०८:३०:००
Read Time : < 1 मिनेट
खेलकुद

महिला भलिबल टोलीलाई उपराष्ट्रपति पुनको सम्मान

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०८:३०:००

एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका छन् । 

उपराष्ट्रपति पुनले नेपाली भलिबल टोलीलाई मंगलबार उपराष्ट्रपतिको कार्यालय हरितगृहमा बोलाई सम्मान गरेका हुन् । आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधिका रूपमा सेन्ट्रल जोन भलिबल जितेको नेपाली महिला टोलीलाई उपराष्ट्रपति पुनले सम्मानपत्र प्रदान गरेका थिए । उपराष्ट्रपति पुनले त्यस अवसरमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा नेपाल भलिबल संघका पदाधिकारीलाई समेत खादामार्फत सम्मान गरेका थिए ।

‘नेपाली भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा महिला टोली पहिलो ऐतिहासिक पदक जित्न सफल भएको छ । देशलाई यो उपाधि दिलाएर नेपाली महिला खेलाडीहरूले नेपाल र सम्पूर्ण नेपालीको गौरव र प्रतिष्ठा बढाउने काम गरेका छन्,’ उपराष्ट्रपति पुनले भने, ‘त्यसका लागि म सम्पूर्ण खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक र नेपाल भलिबल संघ परिवारलाई बधाई दिन चाहन्छु । भविष्यमा अझ ठूला सफलताको शुभकामना पनि दिन चाहन्छु ।’

उपराष्ट्रपति पुनले नेपालको राष्ट्रिय खेलका रूपमा घोषित भलिबल खेलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताएका थिए । सम्मान ग्रहणपछि नेपाली टोलीकी कप्तान अरुणा शाही र प्रशिक्षक जगदीश भट्टले उपराष्ट्रपति पुनको सम्मानबाट आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शनका लागि हौसला मिलेको प्रतिक्रिया दिएका थिए ।