मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उपेन्द्र पोखरेल/नवीन अर्याल
२०७६ मङ्सिर ४ बुधबार ०७:४२:००
Read Time : > 2 मिनेट
नयाँCity

फेवातालसिरानमा साहसिक खेल

Read Time : > 2 मिनेट
उपेन्द्र पोखरेल/नवीन अर्याल
२०७६ मङ्सिर ४ बुधबार ०७:४२:००

गायिका तथा ट्राभल भ्लगर समृद्धि राईले गत वर्ष पोखराको आकाशबाट ‘स्काइडाइभ’ गरिन् । यो उनको दोस्रो अनुभव थियो । सन् २०१६ मा सोलुखुम्बुको स्याङबोचेमाथिको आकाशबाट जम्प गर्दा उनलाई पटक्कै डर लागेन, पोखराको आकाशबाट हामफाल्दा भने उनको डरको सीमा थिएन । तर, किम्बो नामका डेनमार्कका डाइभरले उनलाई ढाढस दिइरहे ।

हेलिकोप्टरबाट निस्केर ‘फ्री फल’ गर्दै माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यमा हराएर उनले डर भगाइन् । ‘पोखरा सहर, आसपासका ताल र पहाडी शृंखलाहरूको दृश्य आकाशबाट अवलोकन गर्न पाउनुको मज्जा नै बेग्लै,’ उनी भन्छिन्, ‘यस्तो भ्युज संसारभर विरलै देख्न पाइन्छ ।’ उनले गरेका दुवै डाइभ टेन्डम थिए, जसमा एकजना अनुभवी डाइभरले स्काइडाइभ गराउँछन् ।

जहाज या हेलिकोप्टरबाट हामफालेर फ्री फल गर्दै प्यारासुटमार्फत जमिनमा पुग्ने साहसिक खेल हो, स्काइडाइभ । पोखराको आकाशबाट स्काइडाइभ गर्नेले करिब एक मिनेटको फ्री फलको अनुभव लिन पाउँछन् भने सगरमाथा क्षेत्रमा त्यो अवधि १५ सेकेन्डको मात्र हुन्छ । मे २००८ मा सगरमाथा क्षेत्रबाट नेपालमा यसको पहिलो प्रयोग गरिएको थियो । सगरमाथा क्षेत्रमा हालसम्म स्काइडाइभका १५ वटा शृंखला सम्पन्न भइसकेका छन् । हरेक वर्ष मे र नोभेम्बरमा स्याङबोचे विमानस्थललाई आधार बनाएर यसको आयोजना हुँदै आएको छ ।

फेवातालको सिरान पामेबाट हेलिकोप्टरमा उडेर १३ हजार फिटबाट जम्प गराइन्छ । खुम्बु क्षेत्रमा पिलाटस पोर्टरमार्फत २९ हजार पाँच सय फिटबाट जम्प गराइन्थ्यो । अहिले हेलिकोप्टरमार्फत २३ हजार फिटबाट जम्प गराइन्छ ।
 

पोखरामा २०१० मा परीक्षण जम्प गरिएको थियो । सन् २०११ देखि त्यसलाई व्यावसायिक रूप दिइएको हो । खासगरी, भारतीय नागरिकहरूमाझ पोखराको स्काइडाइभ लोकप्रिय छ । मंगलबारदेखि पोखरामा सुरु भएको यसको सातौँ शृंखलामा सहभागीमध्ये भारतीय नागरिकहरू नै सबैभन्दा बढी अर्थात् एक सय ४० जना सहभागी हुँदै छन् । नेपाली नागरिकको संख्या भने १० जना मात्र छ । र, १५ जना क्रु मेम्बरले उनीहरूलाई स्काइडाइभ गराउँदै छन् ।

सुरुमा हेलिकोप्टर र त्यसपछि तारा एयरको पिलाटस पोर्टर जहाजबाट सगरमाथा क्षेत्रमा स्काइडाइभ गराइन्थ्यो । नेपालमा सिंगल इन्जिनका जहाज उडाउन तीन वर्षअघि प्रतिबन्ध लागेयता एयरबसमा निर्मित ‘एएस–३५० बिथ्रिई’ हेलिकोप्टरमार्फत स्काइडाइभ गराइँदै आएको छ ।

पोखरा सहर, आसपासका ताल र पहाडी शृंखलाहरूको दृश्य आकाशबाट अवलोकन गर्न पाउनुको मज्जा नै बेग्लै । यस्तो भ्युज संसारभर विरलै देख्न पाइन्छ ।

एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरसँगको ‘जोइन्ट भेन्चर’मा एभरेस्ट स्काइडाइभ प्रालिले खुम्बु क्षेत्र र पोखरामा स्काइडाइभ आयोजना गर्दै आएको छ । एक्स्प्लोर हिमालयका अध्यक्ष सुमन पाण्डेका अनुसार सगरमाथा क्षेत्रमा हालसम्म दुई सयजनाभन्दा बढी सहभागी भइसकेका छन् । पोखरामा पनि करिब दुई सयजनाले स्काइडाइभ गरिसकेका छन् ।

‘स्काइडाइभमा आकाशमा प्यारासुट नखोली विभिन्न खेल खेल्न सकिन्छ,’ पाण्डे भन्छन्, ‘हात समातेर गोलो बनाउने, चक्र बनाउने, आपसमा डान्स गर्नेलगायत विभिन्न फर्मेसनका खेल पनि हुने गर्छन् ।’ उनका अनुसार जहाज या हेलिकोप्टरबाट हामफालेर जमिनमा झर्ने निश्चित उचाइसम्म आइन्जेल जति पनि क्रियाकलाप हुन्छन्, ती सबै स्काइडाइभिङभित्र पर्छन् ।

खुम्बु क्षेत्र र पोखरा दुवै ठाउँमा स्काइडाइभका प्रोफेसनलहरूले एकल (सोलो) जम्प गर्छन् । प्रोफसेनलहरूले नै सिकारु जम्परलाई टेन्डम जम्प गराउँछन् । नेपालमा स्काइडाइभका प्रोफेसनलहरू तयार हुने क्रममा छन् । ‘अहिलेसम्म हामीलाई चाहिने जनशक्ति नेपालमा तयार भइसकेको छैन,’ पाण्डे भन्छन्, ‘यो महँगो खेल हो । सिक्न पनि महँगो नै पर्छ ।’ जहाज या हेलिकोप्टरको उडान आफैँमा महँगो पर्छ, त्यसविना स्काइडाइभ सम्भव हुँदैन ।

विकसित मुलुकका व्यावसायिक र सिकारु जम्परहरू नेपालको आकाशमा स्काइडाइभ गर्न इच्छुक देखिँदै आएको पाण्डे बताउँछन् । उनका अनुसार सगरमाथा क्षेत्रमा ठूलो संख्यामा जम्पर भेला गरेर स्काइडाइभ गर्न सम्भव छैन । ‘पोखरामा भने त्यो सम्भव छ,’ उनी भन्छन्, ‘काठमाडौंमा पनि यसको सञ्चालन सम्भव छ, तर त्यसमा जोखिम धेरै छ ।’

टाउकोमा क्यामेरा राखेर आकाशबाट जम्प गरिन्छ । एउटाले अर्काको तस्बिर र भिडियो खिच्छन् । फेवातालको सिरान पामेबाट हेलिकोप्टरमा उडेर सोही ठाउँमा प्यारासुट अवतरण गराइन्छ । करिब १३ हजार फिटबाट जम्प गराइन्छ, पोखरामा । खुम्बु क्षेत्रमा भने पिलाटस पोर्टरमार्फत २९ हजार पाँच सय फिटबाट जम्प गराइन्थ्यो । अहिले हेलिकोप्टरमार्फत २३ हजार फिटबाट जम्प गराइन्छ ।