मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार १२:०१:००
Read Time : > 1 मिनेट
खेलकुद

आठ नेपाली खेलाडी पिएसएल ड्राफ्टमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार १२:०१:००

पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा आठ नेपाली खेलाडी परेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सन्दीप लामिछानेलगायत खेलाडी पिएसएलको ड्राफ्टमा परेका हुन् । विदेशी फ्रेन्चाइज लिगको ड्राफ्टमा धेरै नेपाली खेलाडी परेको यो पहिलोपटक हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख र रोहितकुमार पौडेल पनि परेका छन् । 

सन्दीपबाहेक अन्य सात खेलाडी ड्राफ्टको सिल्भर क्याटेगोरीमा छन् । सिल्भर क्याटेगोरीका खेलाडीको औसत मूल्य १५ हजारदेखि ३५ हजार डलर रहेको छ । लामिछाने गत साता नै पिएसएल ड्राफ्टको सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनममा परेका थिए । यस क्याटेगोरीका खेलाडीले एक लाख ४७ हजारदेखि दुई लाख १८ हजार डलरसम्म पाउनेछन् । नेपाली क्रिकेट इतिहासमा सन्दीप, पारस र सोमपालले मात्र विदेशी फ्रेन्चाइज लिगको अनुभव बटुलेका छ । हाल लामिछाने र खड्का युएईमा सञ्चालन भइरहेको टी–१० लिग खेलिरहेका छन् । यसै वर्ष सोमपालले क्यानडाको ग्लोबल टी–२० लिग खेलेका थिए । 

विनोद भण्डारी, शरद भेषवाकर र आरिफ सेख पहिलोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । सोमपाल चौथोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । पारस तेस्रोपटक तथा दीपेन्द्र र रोहित दोस्रोपटक फ्रेन्चाइज लिगको ड्राफ्टमा परेका हुन् । सोमपाल र पारस पहिलो संस्करणको अफगानिस्तान प्रिमियरको ड्राफ्टमा परेका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका करण केसी, विनोद भण्डारी, पवन सर्राफ, आरिफ सेख र ललितनारायण राजवंशीलाई पिएसएल ड्राफ्टमा राख्न आइसिसीमार्फत पिसिबीलाई सिफारिस गरेको थियो । त्यसबाट आरिफ र विनोद मात्र ड्राफ्टमा परे । 

यसैबीच, पिसिबीले पाँच क्याटेगोरीमा खेलाडीको ड्राफ्ट सार्वजनिक गरेको छ । प्रत्येक टोलीले ड्राफ्टमार्फत १६ देखि १८ खेलाडी राख्न पाउनेछन् । १६ खेलाडी राखेमा पाँच विदेशी र ११ स्थानीय खेलाडी राख्नुपर्नेछ । १८ खेलाडी राख्दा ६ विदेशी र १२ स्थानीय खेलाडी अनिवार्य रूपमा राख्नुपर्नेछ । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्स, क्वेटा ग्लाडियटर्स, पेसावर जल्मी, मुल्तान सुल्तान्स, इस्लामावाद युनाइटेड र कराँची किंग्स सहभागी छन् ।