मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार १०:३३:००
Read Time : > 1 मिनेट
समाचार

झुम्मिन थाले ट्री हाउसमा ग्राहक

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १०:३३:००

जिल्लाको भेडेटार र हिलेबजार चर्चा कमाएका पर्यटकीय गन्तव्य नै हुन् । यिनको चर्चा घुम्न रुचाउनेहरूमाझ लोकप्रिय गन्तव्यका रूपमा परिचित छ । यसका अलाबा जिल्लाको छथर जोरपाटीमा ‘ट्री हाउस’ निर्माण भएपछि त्यसतर्फ पनि पर्यटकहरूको आकर्षण ह्वात्तै बढ्न थालेको छ । 

खासगरी सहरी क्षेत्रमा बसोवास गरेकाहरू शान्त र रमणीय स्थानको खोजीमा देखिन्छन् । पर्यटकहरूको यही रोजाइलाई मध्यनजर गर्दै धनकुटाका दुई युवाहरूले एक छुट्टै प्रकारको पर्यटकीय गन्तव्य स्थलको निर्माण गरेका छन् । पर्यटकहरूको थकानलाई मेटाउन विभिन्न चराचुरुंगीको आवाजसँगै शान्त वातावरणमा रमाउन मिल्ने गरी दुई युवाले ट्री हाउस निर्माण गरेका हुन् ।

छथर जोरपाटी गाउँपालिका– ५ परेवादिन चुम्लुङ चोकमा स्थानीय प्रेम लिम्बू र हेम लिम्बूले कलात्मक रूपमा ट्री हाउस निर्माण गरेका छन् । उनीहरूले बरको रूखमा, बरको रूखको आकारअनुसार मिलाएर ट्री हाउस निर्माण गरेका हुन् । अहिले यो स्थान पर्यटकीय गन्तव्य स्थलकै रूपमा विकास हुन पुगेको छ । 

गाउँघरलाई पनि पर्यटनको आकर्षण केन्द्र निर्माण गर्ने, स्थानीय युवाहरूलाई केही रोजगारीको अवसर सिर्जना गर्दै सहरी क्षेत्रतर्फ बढ्दै गएको बसाइँसराइलाई रोक्नका लागि ट्री हाउस निर्माण गरिएको ती युवाहरूले बताएका छन् । यस क्षेत्रमा घुम्न आउने पर्यटकहरू घुमेर फर्कने मात्र नभई यही खाने–बस्नेसमेत गर्न थालेका छन् । केही नयाँ कामका साथ आफ्नो स्थानीय क्षेत्रलाई पनि पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउनका लागि ट्री हाउसका सञ्चालक प्रेम लिम्बूले बताए ।

वैदेशिक रोजगारबाट हालै मात्र फर्किएका हेम लिम्बूले गाउँमै केही गर्ने योजना बनाएपछि त्यसमा आफूले साथ दिएको प्रेमले बताए । उनी गाउँमै रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा विगत ३ वर्षदेखि कार्यरत छन् । हेम ०६० सालमा रोजगारीको सिलसिलामा विदेश गएका थिए ।

वैदेशिक रोजगारीबाट घर फर्किएपछि परिवारबाट सहरबजार गएर बस्न धेरै दबाब आए तापनि गाँमै केही गर्नुपर्छ भन्ने लागेर यो व्यवसाय सञ्चालन गरेको हेमले बताए । ट्री हाउस दुई महिना अगाडिदेखि सञ्चालनमा आएको हो । करिब ४ लाखको लगानीमा निर्माण गरिएको ट्री हाउस होटेलमा स्थानीय रूपमा उत्पादन गरिएको अर्गानिक सागसब्जीलगायतबाट बनेका परिकारहरू खान पाइन्छ ।