मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३ मंगलबार ०९:३२:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

डोपिङबाट यसरी बचौँ

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार ०९:३२:००
 डा. ज्ञानेन्द्र शाह
हाडजोर्नी तथा नसारोग विशेषज्ञ
राष्ट्रिय खेलकुद परिषद्

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै छ । काठमाडाैं र पोखरामा डिसेम्बर १ देखि १० सम्म साग खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । अब कुरा गरौँ, डोपिङबारे । खेल क्षेत्रलाई व्यवस्थित बनाउनका लागि विभिन्न देश र खेलकुदका अन्तर्राष्ट्रिय पदाधिकारी मिलेर सन् १९९९ नोभेम्बरमा प्रतिबन्धित औषधिविरुद्धको संस्था स्थापना गरेका थिए, जसलाई वल्र्ड एन्टिडोपिङ एजेन्सी (वाडा) भनिन्छ ।

 सन् २००४ जनवरीदेखि यस संस्थाले विश्वभर डोपिङविरुद्ध काम गर्दै आएको छ । नेपालमा गत श्रावणमा राष्ट्रिय सभाले पास गरेको राष्ट्रिय खेलकुद विकास विधेयकमा खेलकुदमा खेलाडीले प्रतिबन्धित औषधिको प्रयोग गर्न नपाउने प्रावधान उल्लेख छ । 

डोपिङ के हो ?
खेलाडीले खेलका दौरान शरीरमा शक्ति बढाउन, मांसपेशीलाई बलियो बनाउन वा उत्तेजित पार्न विभिन्न शक्तिवद्र्धक औषधिको प्रयोग गर्न सक्छन् । कतिपयले आत्मविश्वास बढाउन नसाजन्यऔषधिहरू सेवन गर्ने गर्दछन्, जसलाई डोपिङ भनिन्छ । खेलाडीले खेल खेल्नुभन्दा अगाडि, खेल खेल्दै गरेको समयमा वा खेलपश्चात् अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित औषधि प्रयोग गर्नुहुँदैन ।

 प्रतिबन्धित औषधि कसरी चिन्ने ? 
वाडाले प्रत्येक वर्ष खेलाडीका लागि प्रतिबन्धित औषधिको  सूची सार्वजनिक गर्ने गरेको छ । सन् २०१९ का लागि वाडाले औषधि तथा केही वस्तु खेलको समयमा प्रयोगमा ल्याउन निषेध गरेको छ । प्रमाणित नभएका औषधि वा वस्तु, एनाबोलिक तत्व, जसले मांसपेशीको आकार ठूलो बनाउँछ, पेप्टाइड हार्मोन वृद्धि तत्वहरू र यससँग सम्बन्धित वस्तु तथा मिमेटिक्स, बेटा २ एगोनिस्ट, हार्मोन र मेटाबोलिक मोडुलेटर्स, डुयुरेटिक्स र मास्किङ इजेन्टको प्रयोगमा वाडाले प्रतिबन्ध लगाएको छ । त्यस्तै, उत्तेजित पार्ने औषधि, निद्राजनक औषधि, गाँजाजन्य वस्तु, स्टेरोइड हार्मोन बढाउने तत्व आदि पनि निषेधित छन् । त्यस्तै, निश्चित खेलअनुसार बेटा ब्लकर्स पनि प्रयोग गर्न पाइँदैन । कुनै देशमा मादक पदार्थ, लागुपदार्थ आदिजस्ता नसाजन्य वस्तुलाई पनि डोपिङअन्र्तगत राखिन्छ । 

बच्ने उपाय 
कतिपय अवस्थामा खोकी लाग्दा प्रयोगमा ल्याइने औषधि, तौल घटाउने वा बढाउने औषधि, विभिन्न शक्तिवद्र्धक औषधिको सेवन गर्दासमेत डोपिङमा पर्ने जोखिम हुन्छ । तसर्थ, खेलाडीले औषधिको प्रयोग गर्दा वा चेकजाँच गराउँदा चिकित्सकलाई आफ्नो परिचय अनिवार्य रूपमा दिनुपर्ने हुन्छ । त्यस्तै औषधिको प्रयोग गर्दा सम्बन्धित खेल चिकित्सकको अनुमति र परामर्श लिएर मात्र सेवन गर्नुपर्ने हुन्छ । समय–समयमा खेलकुद मन्त्रालय, खेलकुद परिषद्ले देशका विभिन्न ठाउँमा डोपिङसँग सम्बन्धित रहेर चेतनामूलक कार्य गर्दै आएको छ । खेलको समयमा गरिने डोपिङ परीक्षणको उद्देश्य खेलाडीमा डर त्रास पैदा गर्नेभन्दा पनि  खेललाई स्वस्थ, प्रतिस्पर्धी र अनुशासित बनाउनु हो । 

खेलाडीले खेल खेल्नुभन्दा अगाडि, खेल खेल्दै गरेको समयमा वा खेलपश्चात् अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धित औषधि प्रयोग गर्नुहुँदैन ।

स्वास्थ्यमा प्रभाव
प्रतिबन्धित औषधिको सेवनबाट खेलाडीको खेल जीवनसँगै स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ । यस्ता औषधिको प्रयोगले हर्मोनमा परिवर्तन ल्याइदिन्छन्, जसले गर्दा शरीरमा विभिन्न समस्या देखिन्छन् । जस्तै, हार्मोनको असन्तुलनबाट महिलामा पुरुषमा जस्तो शरीरमा अनावश्यक रौँ पलाउने, दाह्री जुंगा आउने, आवाजमा परिवर्तन आउने, मुटुको चालमा गडबडी आउने, हृदयाघातको जोखिम बढेर जाने, टाउको रगत जम्ने वा चाप कम हुने, मस्तिष्कघात हुनेजस्ता समस्या देखिन्छ । 

के सजाय हुन्छ ?
राष्ट्रिय खेलकुद विधेयकअनुसार खेलका दौरान प्रतिबन्धित औषधि प्रयोग गरेको भेटिएमा खेलाडीलाई अन्तिम निर्णय नभएसम्मका लागि निलम्बन गर्ने, निश्चित खेलका लागि केही अवधि प्रतिबन्ध लगाउने वा आजीवन प्रतिबन्ध लगाउने, खेलाडीले पाएको पुरस्कार वा पदक खोस्नेजस्ता कडा सजाय तोकिएको छ । डोपिङ प्रमाणित भएमा सम्बन्धित चिकित्सक, कोच, खेल संघ वा निकायलाई पनि सजाय हुने व्यवस्था छ । 

डोपिङ परीक्षण जहाँसुकै वा जुनसुकै समयमा पनि हुन सक्ने व्यवस्था छ । जस्तै, खेलकुद स्थल, प्रशिक्षण हल, खेलाडीले प्रयोग गर्ने सवारी, वासस्थान आदि । खेलाडीले प्रयोग गर्ने जुनसुकै वस्तु वा कपडामा प्रतिबन्धित औषधि भेटिएमा छानबिन अघि बढ्छ । प्रतिबन्धित औषधिको सेवन गरेको खेलाडीमा यसको असर करिब ६ महिनादेखि १ वर्षसम्म देखिने गर्छ । जुन स्वास्थ्य चेकजाँचको क्रममा पत्ता लगाउन सकिन्छ । डोपिङ परीक्षण पिसाब र रगतबाट गरिन्छ ।