१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ३ मंगलबार ०९:२३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रिस व्यवस्थापन यसरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ३ मंगलबार ०९:२३:००
आदर्श प्रधान
मनोविज्ञ, होलिस्टिक माइन्ड एन्ड लाइफ सेलिब्रेसन सेन्टर

असाध्यै रिसाएको वेलामा मानिसले आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । यही कारण रिसको आवेगमा ठूला–ठूला नराम्रा घटना भएको पनि सुनिन्छ । परिवारमा हुने झगडाको नकारात्मक असर प्रत्यक्ष रूपमा बच्चामा पर्न सक्छ ।चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु, तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चात्ताप गर्नुपर्ने पनि हुन सक्छ ।

रिस के हो ?
रिस एक प्रकारको भावनात्मक संवेग हो । सामान्यदेखि शक्तिशाली अवस्थासम्म पुग्न पनि रिसको ऊर्जाले सामथ्र्य राख्छ । रिस सधँै नकारात्मक मात्र हुन्छ भन्ने हुँदैन । रिसकै कारण कतिपय मानिसले आफ्नो सामथ्र्यको पहिचान गर्छ । यसले जुनसुकै प्रतिस्पर्धालाई पनि सामना गर्न सिकाउँछ ।
ऊर्जा चाहे रिसको होस् या प्रेमको, त्यसको सही व्यवस्थापन गर्न सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ ।
रिसलाई बुझ्ने तरिका
रिसबाट बाहिर निस्कन खासै गाह्रो हुँदैन । यसलाई बुझ्न नसक्दा भने गम्भीर समस्या उत्पन्न हुन सक्छ । जब रिस उठ्छ हामी के गर्न सक्छौँ ?
रिसलाई दबाउन ।
रिसलाई पोख्न ।
रिसलाई होसपूर्वक हेर्न ।

रिसलाई दबाउनु पक्कै राम्रो होइन । यसले शारीरिक, मानसिक र भावनात्मक रूपमा असर पु¥याउँछ । रिसलाई पोख्नु त झनै राम्रो होइन । यसले त झन् भौतिक रूपमा असर पु-याउने काम गर्छ ।

जसलाई रिस पोख्छौँ झन् उसैसँग सम्बन्ध बिग्रन्छ । आफूलाई हानि हुने गरी भित्तामा हान्ने, काट्ने, पिट्नेजस्ता क्रियाकलापले आफ्नै शरीरलाई हानि हुन्छ । जब रिस स्खलित हुन्छ, तब फेरि पश्चात्तापभन्दा अरू केही हात लाग्दैन । त्यसैले रिसलाई न त दबाउनु राम्रो हो न त अरूसामु पोख्नु नै ।

सबैभन्दा उत्तम उपाय भनेको रिसलाई होसपूर्वक हेर्ने हो । रिस उठ्न लागेको थाहा पाउनासाथ पूरा होसमा बस्ने । म के गर्दै छु, के बोल्दै छु भन्ने बोध गर्ने । जब रिसलाई निष्काम भावले केही समय हेर्छौं, तब यो आफैँ केही हदसम्म कम हुन सक्छ । यसो गर्दा उक्त रिसको ऊर्जा रूपान्तरण भएर प्रेम, करुणा, क्षमामा परिवर्तन हुन्छ । कारण जस्तोसुकै होस्, त्यसले व्यक्तिमा कुनै बदलाव ल्याउँदैन । यसका लागि नियमित ध्यानको अभ्यास गर्नु अत्यन्त राम्रो हुन्छ ।

रिसले निम्त्याउने रोग
रिसले मानसिक, भावनात्मक समस्या मात्र नभई शारीरिक समस्या पनि निम्त्याउने गर्छ । टाउको दुख्ने, रक्तचाप, मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्या पनि रिसको कारण उत्पन्न हुन सक्छ ।

रिसको व्यवस्थापन
मलाई रिस उठेको छ भन्ने थाहा पाउनु जरुरी छ । वास्तवमा मान्छेले चरम रिसको अवस्थामा होससमेत गुमाएको हुन्छ । जसले गर्दा नराम्रो घटना भएको पनि पत्तो पाउँदैनन् । होसमा मान्छेले नराम्रो कार्य गर्न सक्दैन । जब रिस उठ्छ, सो समयमा चार–पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानी गर्नुपर्छ । यस्तो बानीको विकास गर्नाले रिस कम हुन्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ । साथै, सो परिवेशबाट उम्कने कोसिस गर्नुपर्छ । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा जोड्नु आवश्यक छ । साथै, मनोपरामर्शदातासँग परामर्श गर्नु पनि राम्रो हुन्छ ।