२०७६ मङ्सिर ३ मंगलबार ०९:०६:००
बाबुराम भट्टराई

वैकल्पिक शक्ति निर्माणका आधार

वैकल्पिक राजनीतिका निम्ति विश्वमा विद्यमान प्रत्येक अन्तरविरोधलाई हल गर्ने बहुआयामिक सोच, नीति र कार्यक्रम हुनुपर्छ

समाजवादी पार्टीको हालै सम्पन्न संघीय परिषद् र केन्द्रीय समितिको बैठकले नेपालमा भरपर्दो तेस्रो वैचारिक धार र पहिलो राजनीतिक शक्तिको विकल्प निर्माण गर्ने निर्णय गरेको छ । त्यसका निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा भइरहेका परिवर्तनहरू र राजनीतिक विकल्पको खोजीको विहंगम विश्लेषण गर्दै नेपालको सन्दर्भमा समुन्नत संघीय समाजवादको आधारमा बलियो समाजवादी शक्ति निर्माण गर्ने संकल्प गरेको छ । त्यसैका निम्ति वैचारिक, सांगठनिक र कार्यक्रमिक आधारको टुंगो गरेको छ । यसै सन्दर्भमा देशभित्र र विश्वव्यापी रूपमा अहिले भइरहेका विकल्पका खोजीको थोरै समीक्षा गर्नु र वैकल्पिक शक्ति निर्माणका आधारबारे चर्चा गर्नु उपयुक्त हुनेछ ।

विकल्पको खोजी
२१औँ शताब्दीको सुरुवातसँगै विश्वव्यापी रूपमा ठूलो वैचारिक, राजनीतिक उथलपुथल भइरहेको छ । शीतयुद्धको अन्त्यपछि परम्परागत साम्यवादी ध्रुवको अन्त्य र नवउदारवादी पुँजीवादी धारको वर्चस्व हुने परिकल्पना गरिएको थियो । तर, विगत तीन दशकको अनुभवले के देखायो भने २०औँ शताब्दीमा प्रयोगमा आएको साम्यवादी प्रणालीमा संकट त देखिए नै, सँगै निर्विकल्प भनिएको उदारवादी पुँजीवादी धार झन् संकटग्रस्त देखियो । त्यसैले अहिले विश्वव्यापी रूपमा पुँजीवाद र साम्यवादभन्दा माथि उठेको विचारको खोजी भइराखेको छ ।

अन्तर्राष्ट्रिय रूपमा हेर्दा युरोपमा दक्षिण वा वाम धारका पुराना शक्तिको विकल्पमा नयाँ शक्तिको खोजी भइराखेको छ । ठीक ढंगले विकल्प दिन नसक्दा चरम दक्षिणपन्थी पपुलिस्ट शक्तिको उदय त्यहाँ भइराखेको छ । त्यसैको प्रभावस्वरूप बेलायतको ब्रेक्जिट र अमेरिकामा ट्रम्पको उदय हुन पुग्यो । ल्याटिन अमेरिकाका थुप्रै देशमा पनि दक्षिणपन्थी पपुलिज्मको उदय भइराखेको अवस्था छ । पछिल्लो चरणमा चिलीदेखि बोलिभिया हुँदै स्पेन र लेबनानदेखि हङकङसम्म जनताका व्यापक विद्रोहका लहर फैलिरहेछन् । यस्तो स्थितिमा फेरि नयाँ ढंगले वैकल्पिक राजनीतिको बहस उठेको छ । सँगसँगै नेपालको सन्दर्भमा पनि वैकल्पिक राजनीतिक धारको खोजी तीव्र गतिले भइराखेको छ । 

विगतको लोकतान्त्रिक आन्दोलनका क्रममा उदय भएका उदारवादी पुँजीवादी धारको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र साम्यवादी धारको प्रतिनिधित्व गर्ने सत्तारुढ नेकपा दुवैसँग जनता व्यापक रूपमा असन्तुष्ट बनेका छन् र वैकल्पिक शक्ति निर्माणको खोजी र प्रयत्न तीव्र भइराखेको छ । यसका निम्ति विविध प्रयत्न भइराखेका छन् । तीमध्ये एउटा धारले नेपालको बहुल–राष्ट्रिय चरित्रको सम्बोधन गर्न उत्पीडित जाति/राष्ट्रियताको पहिचानको आधारमा पहिचानवादी राजनीतिक शक्ति निर्माण गर्ने कोसिस केही पहिलेदेखि गर्दै आएको छ ।

तीमध्ये आदिवासी जनजाति आधारित कतिपय दल, जस्तैः जनमुक्ति, लिम्बूवान, थरुहट र मधेसवादीलगायत दलको उदय र अवसान हुँदै गइराखेको छ । अर्थात् जातीय/राष्ट्रिय पहिचानका आधारमा वैकल्पिक शक्ति बनाउने एउटा यो प्रयत्न छ । दोस्रो, हिजोका क्रान्तिकारी शक्ति सत्तामा गएर चरम भ्रष्टाचार र अनियमिततामा फसेपछि सुशासनलाई केन्द्रमा राखेर विवेकशील, साझालगायत दलको पनि उदय भएको छ ।

उनीहरूले दीर्घकालीन सोच र राजनीतिक/प्रशासनिक व्यवस्था वा प्रणालीलाई भन्दा तत्कालीन मुद्दा र राज्य सञ्चालन गर्ने व्यक्तिलाई केन्द्रमा राखेर विकल्प दिने कोसिस गरेका छन् । विवेकशीलले विचारलाई भन्दा तत्कालीन मुद्दालाई मुख्य आधार बनाएर राजनीति गर्ने आफ्नो प्रवृत्ति देखाइराखेको छ र सहरिया युवापंक्तिमा केही आकर्षण पनि सिर्जना गरेको छ । अर्कोतिर साझा पार्टीले समग्र व्यवस्था र प्रणालीलाई भन्दा पनि व्यक्तिको क्षमता, योग्यतालाई केन्द्रमा राखेर राजनीतिक विकल्प दिने प्रयत्न गरेको छ । त्यसले प्रकारान्तरले पपुलिज्म र नवप्रवद्र्धनवाद (नियो–कन्जरभेटिज्म)को धार पक्रने सम्भावना पनि देखापर्छ ।

 अर्कोतिर, हिजोका पञ्चायत अथवा राजतन्त्रपक्षधर शक्तिले पनि पुनरुत्थानवादी र पश्चगामी सोचका साथ आफूलाई विकल्प भन्ने गर्छन् । जो वास्तवमा विकल्प नै होइन र हुनै सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा पछाडि फर्कने सोच वर्तमान र भविष्यभन्दा भूतसँग रमाउने पिछडिएको र हानिकारक सोच हो । यसरी यी शक्तिले राजनीतिका आंशिक वा एकल पक्षलाई मात्रै समातेर विकल्प दिने जुन कोसिस गरेका छन्, त्यो वैज्ञानिक र उपयुक्त छैन । यसको विकल्पमा तत्कालीन नया“ शक्ति र संघीय समाजवादी फोरमले राजनीतिका बहुआयामलाई समातेर वैकल्पिक शक्ति निर्माण गर्ने कोसिस ग‍रे र अहिले यी दुई शक्ति मिलेर बनेको समाजवादी पार्टीले वैकल्पिक राजनीतिलाई सुस्पष्ट मार्गचित्रसहित अगाडि बढाउने कोसिस गरिराखेको छ । 

प्रमुख आधार
राजनीति एक आयामिक होइन, बहुआयामिक हुन्छ । राज्य र समाजमा विद्यमान राष्ट्रिय, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, सांस्कृतिक अन्तरविरोध हल गर्नका निम्ति नै राजनीतिक दलहरूको आवश्यकता र उदय हुन्छ । त्यसैले वैकल्पिक राजनीतिका निम्ति पनि अहिले विश्व र प्रत्येक समाजमा विद्यमान अन्तरविरोधलाई हल गर्ने बहुआयामिक सोच, नीति र कार्यक्रम हुनुपर्छ । त्यस हिसाबले हेर्दा वर्तमान विश्व र नेपालको ठोस सन्दर्भमा वैकल्पिक राजनीतिका केही प्रमुख आधार किटान गर्न सकिन्छ ।

द्वन्द्ववादी दर्शन र वैज्ञानिक मानवतावाद
विगतको पुँजीवादले व्यक्ति र निजत्वलाई केन्द्रमा राखेर अथवा व्यक्तिको निजी आकांक्षा र स्वतन्त्रतालाई केन्द्रमा राखेर आफ्नो राजनीतिक–वैचारिक आधार तय ग-यो भने साम्यवादी धारले मानिसको सामाजिक सम्बन्धलाई प्रधान मानेर आफ्नो राजनीतिक विचारधारा तय ग-यो । त्यसरी नै प्रकृति र समाजको विकासका नियमको रूपमा वा दार्शनिक हिसाबले पुँजीवादले अनुभववाद अथवा मान्छेको संकल्प र वस्तुको अंश अंशलाई मात्रै प्रधानता दिने र जीवन र जगतको समग्रतालाई उपेक्षा गर्ने चिन्तन प्रणालीलाई ग्रहण ग-यो । अर्कोपट्टि साम्यवादी धारले दार्शनिक ढंगले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको कुरा त ग-यो, तर भौतिक र सामाजिक जगत्को गतिको नियमको मुख्य पक्षद्वन्द्ववादलाई यान्त्रिक ढंगले ग्रहण ग-यो र समाज विकास पूर्वनिर्धारित सरल रेखामा जाने प्रक्षेपण ग-यो । त्यसले गर्दा त्यो चरम एकमनावादी प्रणालीमा भ्रष्टीकरण भएर अन्ततः सर्वसत्तावादमा पतन हुन पुग्यो । 

विवेकशील र साझा पार्टीले समग्र व्यवस्था र प्रणालीलाई भन्दा पनि व्यक्तिको क्षमता, योग्यतालाई केन्द्रमा राखेर राजनीतिक विकल्प दिने प्रयत्न गरेको छ, प्रकारान्तरमा त्यसले पपुलिज्म र नवप्रवद्र्धनवादको धार पक्रने सम्भावना पनि देखापर्छ
 

त्यसैले यी दुवै दार्शनिक र वैचारिक धारका कमजोरीभन्दा माथि उठेर विकास गर्नुपर्ने नयाँ धारले एकातिर राजनीतिक दर्शनका रूपमा व्यक्तिको निजत्व र सामाजिक सम्बन्ध दुवैको समष्टीमा आधारित वैज्ञानिक मानवतावादको पक्षपोषण गर्नुपर्छ । किनकि प्रत्येक मानव निजी गुणसहितको व्यक्ति पनि हो र ऐतिहासिक विकासको क्रममा विविध सामाजिक सम्बन्धको पुञ्ज पनि हो । त्यसैले यी दुवै विशेषतासहितको पूर्ण मानवलाई ध्येयमा राखेर हेर्ने वैज्ञानिक मानवतावादी दृष्टिकोण नै नयाँ युगको सही राजनीतिक विचारधारा बन्न सक्छ । अर्कोतिर, भौतिक जगत् र सामाजिक जगत्को विकासका नियमलाई पनि एकांगी ढंगले होइन, गतिशील ढंगले पूर्ण रूपमा बुझ्नका निम्ति भौतिकवादी द्वन्द्ववादका नियमलाई क्वान्टम भौतिकी र पछिल्लो ज्ञानविज्ञानअनुरूप विकास गर्नु आवश्यक हुन्छ ।

भौतिक जगत् जसरी बहुविध ढंगले निरन्तर गतिमा अगाडि बढ्छ, सामाजिक जगत् पनि मानव चेतनाको हस्तक्षेपसहित झन् विविधतापूर्ण र बहुआयामिक ढंगले अगाडि बढ्छ । त्यसहिसाबले भौतिक जगत् र मानव समाजलाई न त स्थिर रूपमा न त एकलरेखीय रूपमा, तर बहुरेखीय र निरन्तर गतिशील तथा परिवर्तनशील रूपमा बुझ्न जरुरी छ । यसरी विश्व दृष्टिकोणका रूपमा भौतिकवादी द्वन्द्ववादको दर्शनलाई समृद्धीकरण गर्ने र सामाजिक राजनीतिक विचारधाराका रूपमा वैज्ञानिक मानवतावादको संश्लेषण गर्ने वैकल्पिक राजनीतिको प्रमुख वैचारिक कार्यभार हुनुपर्छ ।

प्रगतिशील राष्ट्रवाद
जबसम्म राष्ट्रिय राज्य रहन्छन्, राजनीति र दलको कार्यक्षेत्र सम्बन्धित राष्ट्रिय राज्य नै हुन्छ । नेपालजस्तो दुई ठूला देश भारत र चीनको बीचमा रहेको मुलुकमा राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्ने सही नीतिविना वैकल्पिक राजनीति गर्न सकिन्न । त्यसका निम्ति हिजो प्रयोगमा आएको, हिजोका राजनीतिक दलले लिने गरेको अन्धराष्ट्रवादी वा आत्मसमर्पणवादी नीतिको सट्टा अहिलेको व्यापक भूमण्डलीकरण र अन्तरसम्बन्धित भएको विश्वमा सबै छिमेकी र प्रमुख शक्तिस“ग गतिशील तटस्थताको नीति लिने प्रगतिशील राष्ट्रवादको नीति नै सही र आवश्यक हुन्छ ।

खासगरी पछिल्लो चरणमा नेपालमा जसरी भारतको परम्परागत सामरिक स्वार्थ, उदीयमान चीनको बिआरई नीति र विश्व महाशक्ति अमेरिकाको इन्डो–प्यासिफक स्ट्राटेजी बीच टक्कर बढ्दै छ, यी तीनै शक्तिको तानातानबीचबाट आफ्नो राष्ट्रिय हित सुहाउँदो सन्तुलित नीति लिन सक्नुपर्छ । त्यो भनेको गतिशील तटस्थतावादको नीति नै हुन्छ । जसलाई समग्रमा प्रगतिशील राष्ट्रवाद भन्न सकिन्छ ।

पहिचानमा आधारित संघीयता
नेपालजस्तो बहुल राष्ट्रिय अथवा बहुसांस्कृतिक, बहुभाषिक मुलुकमा संघीय ढाँचामा राज्यको पुनर्संरचना गर्नु अनिवार्य छ । तर, अहिले कायम गरिएको संघीयता बहुल राष्ट्रियताको पहिचान र अधिकार सुनिश्चित गर्ने गरी भएको छैन । यो पुरानै विकास क्षेत्रमा आधारित प्रशासनिक ढाँचाको सामान्य राज्य पुनर्संरचना मात्रै भएको छ ।

संघीयता भनेको उत्पीडित राष्ट्रियताको पहिचान र अधिकारसहितको प्रदेशमा स्वायत्त शासन र केन्द्रमा साझा शासन भएकै व्यवस्था हो । त्यस हिसाबले नेपालमा विगतमा जुन राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगले सिफारिस गरेका पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारमा गठित १० प्लस १ प्रदेश र तीभित्र स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको मोडेल थियो, त्यसका आधारमा राज्यको पुनर्संरचना गरेर मात्रै नेपालमा सच्चा आन्तरिक राष्ट्रिय एकता र स्थिरता कायम हुन सक्छ । त्यसैले पहिचानमा आधारित संघीयता नेपालको वैकल्पिक राजनीतिको सन्दर्भमा अर्को महत्वपूर्ण आयाम हो । 

समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्र
अहिले विश्वमा र नेपालमा प्रचलनमा आएको लोकतन्त्र प्रतिनिधिमूलक र औपचारिक प्रकृतिको लोकतन्त्र छ । खासगरी नेपालमा अहिले अभ्यास गरिएको संसदीय लोकतन्त्र नेपालजस्तो जातीय/राष्ट्रिय विविधतायुक्त र अति अल्पविकसित देशका निम्ति उपयुक्त छैन । केही वर्षको प्रयोगले नै देखिएको छ, यो लोकतन्त्रले केही सीमित जाति, वर्ग र क्षेत्रको मात्रै हित गर्ने र बहुसंख्यक जनताले वास्तवमा लोकतन्त्रको प्रत्याभूत गर्न नसक्ने अवस्था देखिएको छ । त्यसैले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिका भएको विकसित लोकतन्त्रको अभ्यास गर्नु आवश्यक छ । अहिलेको निर्वाचन प्रणाली यति खर्चिलो र भ्रष्टीकृत हुँदै गएको छ कि यसले केही मुठ्ठीभर नवधनाढ्य र राज्यसत्ताको दोहन गर्ने व्यक्ति र पार्टीले मात्र चुनाव जित्ने र राज्यसत्तामा एकछत्र प्रभुत्व कायम गर्ने, तर बहुसंख्यक जनता त्यसबाट विमुख हुने स्थिति छ । त्यसैले अहिलेको लोकतन्त्रलाई सबै वर्ग, जाति, क्षेत्र, समुदायको समावेशी र सहभागितामूलक लोकतन्त्रमा रूपान्तरण गर्न आवश्यक छ ।

नेपालमा जसरी भारतको परम्परागत सामरिक स्वार्थ, उदीयमान चीनको बिआरआई नीति र महाशक्ति अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजीबीच टक्कर बढ्दै छ, यी तीनै शक्तिको तानातानबीचबाट नेपालले आफ्नो राष्ट्रिय हितसुहाउँदो सन्तुलित नीति लिन सक्नुपर्छ, त्यो भनेको गतिशील तटस्थतावादको नीति नै हुन्छ

समतामूलक समृद्धि
राजनीतिक दलको अन्तिम ध्येय जनताको सुख र समृद्धि नै हो । त्यसका निम्ति वर्तमान विश्व र देशको विशिष्टताअनुकूल विकास र समृद्धिको उपयुक्त नीति र मार्गचित्र विकास गर्नु जरुरी छ । त्यो भनेको सर्वप्रथम नेपालजस्तो अति अल्पविकसित अवस्थामा रहेको, एक हजार डलर मात्रै वार्षिक प्रतिव्यक्ति आम्दानी भएको मूलुकमा कमसे कम दुई दशक दुई अंकको आर्थिक वृद्धि हासिल गरेर कुल प्रतिव्यक्ति आयलाई कमसेकम १० हजार डलरसम्म पु-याउने तीव्र वृद्धिको मार्ग अपनाउनुपर्छ । दोस्रो, त्यो आर्थिक वृद्धिलाई सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई समन्यायिक अथवा न्यायपूर्ण वितरण गर्ने नीति हो ।

तेस्रो, नेपालको संवेदनशील पर्यावरणीय अवस्थितिलाई ध्यान दिँदै पर्यावरणको रक्षा, प्राकृतिक साधन–स्रोतको दिगो उपयोगमा आधारित दिगो विकास हो । चौथो, व्यक्तिको भौतिक समृद्धि मात्रै होइन, उसको आत्मिक र मानसिक खुसी प्राप्त हुने विधिको विकास र कार्यान्वयन हो । यी चार आयामसहितको समृद्धि, जसलाई ‘समतामूलक समृद्धि’ भन्न सकिन्छ । यस्तो विकासको बाटो वैकल्पिक राजनीतिको एउटा महत्वपूर्ण पाटो हुनुपर्छ । तत्काल व्यावहारिक हिसाबले हेर्दा गरिबी, बेरोजगारीले आक्रान्त लाखौँ युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा समतामूलक समृद्धिको ठोस नीति र कार्यक्रम नै वैकल्पिक राजनीतिको महत्वपूर्ण आधार बन्छ र बनाउनुपर्छ ।

सुशासन र सदाचार
अहिले देशको राजनीति भनेकै येनकेन प्रकारले सत्तामा पुग्ने, राज्यसत्ताको दोहन गर्ने र त्यसबाट आफू र आसेपासे पोस्ने प्रवृत्तिको पर्याय बन्दै गएको छ । यसको अन्त्य तत्काल वैकल्पिक राजनीतिको महत्वपूर्ण एजेन्डा बनेको छ । खासगरी राजनीति र राज्य भनेको समग्र समाजको श्रीवृद्धि गर्ने होइन कि प्राप्त धन र शक्तिको दोहन गर्ने माध्यम हो भन्ने जुन बुझाइ छ, त्यसको अन्त्य गर्नु जरुरी छ ।

खासगरी पछिल्लो चरणमा हिजोका क्रान्तिकारी राजनीतिक शक्तिसमेत सत्तामा पुगेपछि आफूनिकटका धनाढ्य व्यापारी, कमिसनखोर, ठेकेदारलाई पोस्ने र आफ्नै कार्यकर्ता वा आसेपासेको हित गर्ने प्रवृत्ति झन् बढेको छ । त्यसबाट आसेपासे पुँजीवादको जुन विकास भएको छ, यो नै अहिलेको सबैभन्दा ठूलो विकृति हो । त्यसैले सुशासन र सदाचार वर्तमान अवस्थामा वैकल्पिक राजनीतिको एउटा महत्वपूर्ण आयाम हुनैपर्छ । त्यसका निम्ति सर्वप्रथम राजनीतिक दलभित्र नै सदाचार कायम गर्ने र राज्यसत्ताका प्रशासन संयन्त्र, न्यायपालिका र भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई पुनर्संरचना गरेर राजनीति, राज्य र समाजका सबै क्षेत्रको भ्रष्टाचार र बेथिति अन्त्य गर्ने नीति र कार्यक्रम वैकल्पिक राजनीतिक धारले दह्रोसँग अंगीकार गर्नुपर्छ ।

समग्रमा, द्वन्द्ववादी दर्शन र वैज्ञानिक मानवतावादी विचार, देशको स्वाधिनताको रक्षा गर्ने प्रगतिशील राष्ट्रवाद, देशको बहुल राष्ट्रिय विविधतालाई सम्बोधन गर्ने पहिचानसहितको संघीयता, सबै जनतालाई लोकतन्त्रको प्रत्याभूत गराउने समावेशी र सहभागितामूलक लोकतन्त्र, सबै जनतालाई समृद्ध बनाउने समतामूलक समृद्धि र समाजमा सुशासन र सदाचार स्थापना गर्ने ठोस नीतिसहितको वैकल्पिक राजनीतिक विचारलाई समाजवादी पार्टीले ‘समुन्नत संघीय समाजवाद’को रूपमा परिभाषित गरेको छ ।

हालैको संघीय परिषद् र केन्द्रीय समितिले समुन्नत संघीय समाजवादको अवधारणालाई अझै विकसित र परिमार्जित गरेर यसको वरिपरि देशका सबै शक्तिलाई गोलबन्द गर्ने र भरपर्दो वैकल्पिक शक्ति निर्माण गर्ने निर्णय गरेको छ । त्यसका निम्ति राष्ट्रिय पहिचान र अधिकारको आन्दोलनमा लागेका, सुशासन र सदाचारलाई मुख्य मुद्दा बनाएर अगाडि आएका शक्ति र हिजो लोकतन्त्र र समाजवादको निम्ति लडेका शक्तिले फेरि एकचोटि पुनर्विचार गरेर बृहत् ध्रुवीकरणको दिशा समात्नु जरुरी छ । यसरी बन्ने समुन्नत संघीय समाजवाद अथवा अहिलेको विश्वको उन्नत विज्ञान र विचारमा आधारित शक्ति नै भरपर्दो वैकल्पिक शक्ति हुन सक्छ । त्यसका निम्ति सबैसँग व्यापक बहस छलफल गरेर बृहत् ध्रुवीकरण गर्नु र छिट्टै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हो ।