मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३ मंगलबार ०७:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

निर्मलाकी आमाद्वारा विष्टमाथि पुनः अनुसन्धान गर्न माग

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार ०७:१९:००

निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यलाई भेटेर छोरीको हत्यामा शंकास्पद व्यक्तिमाथि पुनः अनुसन्धान गर्न माग गरेकी छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा उनले आफूले किटानी जाहेरी दिँदासमेत दिलीपसिंह विष्टमाथि कुनै अनुसन्धान नभएको दुःखेसो पोखिन् ।

दिलीपले नै निर्मलाको हत्या गरेको भन्दै गत २२ भदौमा आफूले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको, तर प्रहरीले बेवास्ता गरेको भन्दै दुर्गाले सिडिओ वैद्यसमक्ष दुःखेसो पोखिन् । ‘प्रहरीले लिएको बयानमा दिलीपले हत्या गरेको स्वीकार गरेका छन्, जुन–जुन विषय उतिवेला बोले त्यही विषय अहिले पनि बोलिरहेका छन्,’ उनले भनिन्, ‘गत वर्ष बोलेका विषय र अहिले बोलेका विषय पूरै मिलेका छन् ।’ 

दुर्गाले दिलीप आफ्नै घरवरिपरि आउँदा डर लाग्ने र सार्वजनिकस्थलमा समेत आफैँले निर्मलाको हत्या गरेको हुँ भनेर बोल्दासमेत प्रहरीले उनीमाथि सामान्य केरकार नगरेको बताइन् । ‘मैले प्रहरीलाई दिलीप विष्टका नाममा किटानी जाहेरी दिएको तीन महिना बितिसक्यो, त्यसमा कुनै पहलसमेत भएन,’ उनले भनिन्, ‘छोरीको हत्यारा खोज्न कञ्चनपुर प्रहरी निरीह बन्यो ।’

४ भदौ ०७५ मा प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गर्दा निर्मलाकी आमा दुर्गा स्वयंले दिलीप हुनै नसक्ने भन्दै जिकिर गरेकी थिइन् । कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले निर्मला घटनाको अनुसन्धान जारी रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘निर्मलाकी आमाले दिएको किटानीको विषयमा समेत हामीले कानुनी प्रक्रिया अघि बढाएका छौँ ।’