मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमर राई
२०७६ मङ्सिर २ सोमबार १२:३५:००
Read Time : > 1 मिनेट
नयाँCity

व्यापारीको गीति यात्रा

फरक धार : अमर राई

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार १२:३५:००

भोजपुरमा जन्मे/हुर्केका अमर राईका सबै दाजुभाइ गोर्खा सैनिक थिए । एसएलसी उत्तीर्ण हुनासाथ उनलाई पनि ‘लाहुर’ लैजाने प्रयास दाइहरूले नगरेका होइनन् । तर, उनको सपना अर्कै थियो । त्यही सपना पूरा गर्न काठमाडौंतिबर हान्निए । एक झोला सपना बोकेर ०४२ सालमा काठमाडौं उत्रिएका उनको मनमा पढाइ सकेर गाउँकै ‘हेडमास्टर’ बन्ने थियो । तर, उनको गोरेटो अन्तै मोडियो । अहिले उनी घरजग्गा कारोबार गर्छन् अनि गीत र कविता कोर्छन् ।

काठमाडौं आएर सुरुमा कलेज भर्ना हुनु त छँदै थियो, साथमा पाटन मंगलबजारको आदर्श विद्यालयमा गणित, विज्ञान र अंग्रेजी पनि पढाउन थाले । स्कुल पढाउँदै गर्दा विवाह गरे । त्यसपछि मासिक नौ सय रुपैयाँको तलबले परिवार धान्न गाह्रो भयो । ६ सय रुपैयाँ त कोठाभाडामै जान्थ्यो । अनि जागिरे जीवन त्यागेर व्यापारतिर तानिए । काठमाडौं डल्लुमा कोल्ड स्टोर खोले । साथमा अध्यापन र आफ्नो पढाइलाई पनि निरन्तरता दिए ।

दुई वर्ष कोल्ड स्टोर चलाएपछि जावलाखेलमा रेस्टुराँ खोले । त्यसपछि सातदोबाटोमा गोर्खा मेमोरियल स्कुल खोले । अनि स्कुलसँगै साइबर क्याफे सञ्चालन गर्न थाले । आर्थिक हैसियत बलियो बन्दै गर्दा जावलाखेलमा बुटिक पनि खोले । नयाँ–नयाँ प्रयोग गर्न रुचाउने उनको यात्रा त्यतिमा रोकिएन । अनि, उनले रियल स्टेट व्यवसायमा हात हाले । आफ्ना लागि बंगला बनाए, व्यापार गर्न ‘अमर कोलोनी’ निर्माण गरे ।

०००

केही वर्षअघि काठमाडौंको होटेल शंकरमा आफ्नो पचासौँ जन्मदिन मनाउँदै गर्दा उनले आफूसँग रहेका कार, घर, व्यापार र पैसा मात्र सबैथोक नभएको ज्ञान आर्जन गरे । सम्पत्तिले मात्र उनलाई आत्मसन्तुष्टि भएन । अनि, विगतदेखि नै मनमा खेलिरहेका कुराहरू सम्झिए । एकाएक गीत फु-यो– ‘जीवनको दौडमा यात्रा कता गरेँ, धेरै वर आइपुग्दा पो भूमरीमा परेँ ।’ उनले रचना गरेको यो नै पहिलो गीत हो, जसमा शान्तिराम राईले संगीत भरे र स्वरूपराज आचार्यले स्वर दिए ।

यसअघि ‘अमर भावना’ शीर्षकको एल्बम ल्याएका उनी छिटै ‘आमा’ नामक गीति एल्बमका साथ आउँदै छन् । गीत र कविताको संग्रह ‘परिभाषाका राँटाहरू’ पनि प्रकाशन गरेका उनका २२ वटा गीत बजारमा आइसकेका छन् ।

त्यसपछि उनलाई गीत कोरिरहने लत बस्यो । एकपटक दुबई पुग्दा बुर्का लगाएर आँखैले बोल्ने युवतीहरू देखे । आँखैले रिसाउने, आँखैले मुस्कुराउने युवती ‘फरिदा’को मानक बनाउँदै गीत कोरे– ‘फूलजस्तै कोमल होलिन्, आँखाले नै बोल्छिन्, आँखाले नै सुमसुम्याई अँगालोमा बाँध्छिन् ।’ उनका हरेक गीतमा अलग–अलग कथा छन् । उनी भन्छन्, ‘सर्जकले आफू हिट र फेमस हुनका लागि मात्र लेख्ने होइन ।’

‘परिभाषाका राँटाहरू’ शीर्षकमा गीत तथा कवितासंग्रह प्रकाशन गरे । एक्काइसौँ शताब्दीमा पनि सम्बोधन हुन छुटेका छाउपडी, दाइजो, बोक्सी, छुवाछुतजस्ता अमानवीय कुरीतिविरुद्ध कलम चलाएका छन्, यस संग्रहमा उनले । १२ कविता र ४२ गीत रहेको उक्त संग्रहका २२ वटा गीत रेकर्ड भएर बजारमा आइसकेका छन् । उनका गीतमा आनी छोइङ डोल्मा, राज सागर, स्वरूपराज आचार्य, जेम्स प्रधान, उदय सोताङ, आनन्द कार्की, उदय श्रेष्ठ, बानिका प्रधान, अञ्जु पन्त, मनोजराजलगायतले स्वर दिएका छन् ।

कोल्ड स्टोर, रेस्टुराँ, स्कुल, बुटिक हुँदै अमर कोलोनीसमेतका मालिक उनले भविष्यमा सिर्जना र साहित्य साधनालाई बढी समय दिने योजना बनाएका छन् । समाजसेवातिर पनि ढल्किएका छन्, उनी । यसअघि ‘अमर भावना’ शीर्षकको एल्बम ल्याएका उनी छिटै ‘आमा’ नामक गीति एल्बमका साथ आउँदै छन् ।