मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २ सोमबार ११:४४:००
Read Time : > 1 मिनेट
प्रदेश

धनगढी विमानस्थल स्तरोन्नति हुँदै, हवाई सेवा प्रभावित

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार ११:४४:००

धनगढी विमानस्थलको धावनमार्ग मर्मतको काम सुरु भएको छ । धावनमार्ग मर्मत सुरु भएपछि आइतबारबाट विमानस्थल आंशिक रूपमा बन्द गरिएको छ । बिहान सात बजेदेखि बेलुकी तीन बजेसम्म मात्र विमानस्थल सञ्चालन हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढ्थापाले बताए ।

उनका अनुसार धावनमार्गमा कालोपत्रे थप गर्न लागिएको हो । अहिलेको कालोपत्रेमा ११ सेन्टिमिटर मोटाइमा कालोपत्रे थपिने विमानस्थल कार्यालयले जनाएको छ । एक हजार आठ सय मिटर लामो धावनमार्गको चार सय २० मिटर क्षेत्रमा कालोपत्रे थप्न लागिएको विमानस्थल प्रमुख बुढ्थापाले जानकारी दिए ।

धावनमार्गको बाँकी भागको स्तरोन्नति गत आर्थिक वर्षमा गरिएको थियो । अहिले पार्किङ क्षेत्र विस्तारको काम हुने बताइएको छ । गत वर्ष थालिएको स्तरोन्नतिको काम वर्षायाम सुरु भएपछि रोकिएको थियो । त्यसवेला एक महिनासम्म विमानस्थल पूर्ण रूपमा बन्द गरिएको थियो ।

अहिले आंशिक रूपमा बन्द गर्नुपरेपछि उडान कार्यतालिका फेरबदल गर्न विमान कम्पनीहरूलाई आग्रह गरिएको बुढ्थापाले जानकारी दिए । निजी विमान कम्पनीहरूले काठमाडौं–धनगढी–काठमाडौं दैनिक चारवटा उडान भर्दै आएका छन् । यस्तै, नेपाल वायु सेवा निगमले हप्तामा तीन दिन उडान भर्ने गरेको छ । बुद्ध एयरले बेलुकी पौने ६ बजे र श्री एअरलायन्सले साढे तीन बजे उडान गर्ने गरेका थिए ।  

तीन बजेपछि विमानस्थल बन्द गरिएपछि उडान कार्यतालिकामा फेरबदल भएको छ । बुद्ध एयरले बेलुकीको उडान तत्कालका लागि स्थगित गरेको जनाएको छ । उसले बिहान १०ः४० मा हुने धनगढी–काठमाडौंको उडानलाई ११ ः३५ मिनेटमा सारेको छ । 

‘विमानस्थल बन्द भएकाले बेलुकीको उडान तत्कालका लागि रोकेका हौँ,’ बुद्ध एयर धनगढीका प्रमुख बुधराम माझीले भने,‘यात्रुको माग र चाप हेरेर तीन बजेअघि हुने गरी दैनिक दुई उडान पनि गर्न सकिन्छ ।’ श्री एअरलायन्सले भने उडान घटाएको छैन । श्री दोस्रो उडानलाई तीन बजेअघि सारेको जनाएको छ ।  

हाल एउटा सानोसहित तीनवटा जहाज पार्किङको सुविधा रहेकोमा पार्किङस्थल विस्तार भएपछि चारवटा ठूला जहाज पार्किङ गर्न सकिने विमानस्थल प्रमुख बुढ्थापाले बताए । यस्तै, धावनमार्गको दुवैतर्फ लाइटिङ पोलका लागि दुई÷दुई मिटर चौडाइ कालोपत्रे गरिनेछ । 

धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम लुम्बिनी–कोसी एन्ड न्यौपाने–खड्का–कृष्ण जेभी काठमाडौंले १७ करोड, ८८ लाख ८८ हजार रुपैयाँको लागतमा गरिरहेको छ ।