१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर २ सोमबार ११:२७:००
Read Time : > 1 मिनेट
विश्व

श्रीलंकामा गृहयुद्धकालीन  रक्षासचिव राष्ट्रपतिमा विजयी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार ११:२७:००

श्रीलंकाको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार गोताबय राजापाक्षे निर्वाचित भएका छन् । राष्ट्रपतिमा निर्वाचित राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । गोताबयले झन्डै ५३ प्रतिशत मत प्राप्त गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । ‘गोताबयको प्रस्ट जित भएको छ, यो जितले हामी खुसी छौँ,’ राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने । राजापाक्षे विजयी भएको उनका प्रतिस्पर्धी सजिथ प्रेमादासले स्विकारेका छन् । तर, निर्वाचन आयोगले ७० वर्षीय राजपाक्षे विजयी भएको पुष्टि गर्न बाँकी नै छ ।

श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँगको सम्बन्धलाई गोताबय राजापाक्षेले जोड दिँदै आएका थिए । शनिबारको निर्वाचन सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको तेस्रो चुनाव हो ।

निर्वाचन अभियानमा उम्मेदवारहरूले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधारलगायत विषयलाई मुख्य एजेन्डा बनाएका थिए । मतदानका लागि देशभरि १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदातामध्ये झन्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए । 

को हुन् गोताबय राजापाक्षे ?
पूर्वरक्षासचिव गोताबय श्रीलंकाका विवादित नेता हुन् । श्रीलंकामा १० वर्ष लामो रक्तपातपूर्ण गृहयुद्धमा तमिल विद्रोहीलाई दमन गर्न उनको महत्वपूर्ण भूमिका रहेको भन्दै गोताबयको आलोचना हुँदै आएको छ । अल्पसंख्यक तमिलमाझ उनी अलोकप्रिय भए पनि बहुसंख्यक सिंहाली जनसंख्याले भने उनलाई वास्तविक नायक मान्छन् ।

श्रीलंकामा अतिवादी हमला बढिरहेका वेला त्यसलाई नियन्त्रण गर्न आफू सक्षम रहेको उनले बताउँदै आएका छन् । ‘आमश्रीलंकालीको सुरक्षाको जिम्मा लिन चाहन्छु,’ यसै साता कोलम्बोमा आयोजित श्रीलंका पिपुल्स फ्रन्टको सम्मेलनमा उनले भनेका थिए । ७ महिनाअघि २५३ जनाको मृत्यु हुने गरी भएको अतिवादी हमलापछि वर्तमान सरकारप्रति श्रीलंकाभर आक्रोश छ । आलोचनाकै कारण वर्तमान राष्ट्रपतिले उम्मेदवारी दिने साहस गरेनन् ।

राजापाक्षेको विजयले सन् २००५ देखि २०१५ को अवधिमा उनी रक्षासचिव हुँदा पीडित बनेका व्यक्ति दुःखी छन् । सो अवधिमा उनका दाजु महिन्दा राजापाक्षे राष्ट्रपति थिए । 

गोताबय राजापाक्षे रक्षासचिव हुँदा सरकारको आलोचना गर्ने दर्जनाैँ पत्रकारको अपहरणपछि यातना दिएर हत्या गरिएको थियो । त्यस्तै हजाराैं तमिल विद्रोहीलाई बेपत्ता पारिएको थियो । तर, सात महिनाअघि इस्टर सन्डे हमलापछि मानिसको मन परिवर्तन भइसकेको थियो । हमलामा मारिएका आफन्तको अन्त्येष्टिमा पुगेका एक व्यक्तिले रुँदै भनेका थिए, ‘हामीलाई गोताबय चाहिन्छ । मुलुकलाई उनको खाँचो छ ।’

आफूमाथि लागेको युद्ध अपराधको आरोप गोताबयले अस्वीकार गर्दै आएका छन् । उनको शासनकालमा धार्मिक तथा अल्पसंख्यक समुदायको अधिकारको सम्मान नहुने चिन्ता बढेको छ । तर, गोताबयले त्यस्तो चिन्ता हटाउने कोसिस गरेका छन् । ‘सबै धर्म र समुदायलाई शान्तिपूर्ण बाँच्न सक्ने अवस्था सिर्जना गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन् । 

उनीमाथि अमेरिकी अदालतमा मुद्दा चलिरहेको छ । अप्रिलमा दायर गरिएको एउटा उजुरीमा उनीमाथि एक समाचार पत्रका सम्पादक लसान्था विक्रमातुंगेको एक दशकअघि हत्या गरेको आरोप लागेको छ । त्यस्तै, अर्को मुद्दा गृहयुद्धको समयमा थुनामा रहेका तमिललाई यातना दिएको विषयसँग सम्बन्धित छ । विक्रमातुंगे दि सन्डे लिडरका प्रसिद्ध सम्पादक थिए । उनी राजापाक्षेका प्रखर आलोचकसमेत थिए । रक्षामन्त्री राजापाक्षेले हतियार किन्ने क्रममा भ्रष्टाचार गरेको भन्दै उनले शृंखलाबद्ध रिपोर्ट प्रकाशित गरेका थिए ।