१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २ सोमबार ०८:५०:००
Read Time : > 1 मिनेट
सम्पादकीय

विद्युतमा तीन वर्षको फड्को

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २ सोमबार ०८:५०:००

तीन वर्षअगाडि दीपावलीको समयमा काठमाडौं उपत्यकामा विद्युत् निरन्तर प्रवाह भएपछि मानिस अचम्म मानिरहेका थिए । त्यसअघि साताको १८ घन्टासम्म विद्युत् नआउने गरी लोडसेडिङ व्यहोरिरहेका उपभोक्ता एक्कासि यो विद्युत् कताबाट आपूर्ति भयो भनेर हिसाब गर्दै थिए । लामो समय चलेको लोडसेडिङका कारण देशमा एकप्रकारको निराशा छाएको थियो । नेपाल बन्छ भनेर तर्क गर्नेहरूले हार मान्ने र नेपाल कहिल्यै उँभो लाग्दैन भन्नेहरूको मत बलियो हुने अवस्था थियो । उद्योग, व्यवसाय चौपट थियो । पूर्ण क्षमतामा उद्योग चल्ने सम्भावनै थिएन । डिजेल र अन्य उपकरणको आयातले समग्र आयात क्षेत्रलाई माथि उकालिरहेको थियो । अचानक लोडसेडिङबाट काठमाडौं उपत्यकालाई मुक्त गरियो । यसरी लोडसेडिङ मुक्ति सम्भव छैन भन्ने दाबी प्रतिदाबी पनि चलिरहे ।

तर, कार्यकारी निर्देशक भएर आएका कुलमान घिसिङ आफ्ना योजनामा निरन्तर डटिरहे । बिस्तारै काठमाडौं र अन्य ठूला सहरबाट सुरु भएको लोडसेडिङ हटाउने अभियानले देशभर विद्युतीकरण भएका सबै क्षेत्रलाई समेट्यो । अब नेपाल उज्यालो बन्दै छ भन्ने सन्देश गयो । उद्योग व्यवसायदेखि घर–भान्छासम्म यसको सकारात्मक प्रभाव प¥यो । यस वर्षको आखिरीसम्ममा नेपालमा आफ्नो उपभोगका लागि कमसेकम विद्युत् आयात गर्नुपर्ने अवस्था समाप्त हुँदै छ । अपुग समयमा जे–जति अयात हुनेछ, त्योभन्दा बढी निर्यातको सम्भावना बढेको छ । अहिले नै कुल आपूर्ति क्षमताको अनुपातमा माग कम हुन थालेको भनेर प्राधिकरण नै छटपटीमा छ । अब उसले घरेलु उपभोग बढाउने र निर्यातसमेत गर्ने गरी विद्युत् प्रणालीलाई पुनव्र्यवस्थापन गर्ने भएको छ । नेपालको समग्र अर्थतन्त्रमा यसका सकारात्मक प्रभाव त हुने नै छन् सँगै नेपालीमा अब नेपाल बन्न सक्छ भन्ने आशावाद बढाउँदै लानेछ । 

यसको अर्को सकारात्मक प्रभाव भने नेपालले आफूसँग भएको प्राकृतिक स्रोतको उपयोगबाटै ऊर्जा आपूर्तिको ठूलो हिस्सा ओगट्ने सम्भावना बढाइदिएको छ । विद्युत् खपत बढी गर्ने गरी विद्युत् प्रयोगलाई नयाँ क्षेत्रतिर विस्तार गर्नुपर्ने छ । यसका मुख्य क्षेत्रका रूपमा रहेका भान्सामा विद्युत् प्रयोगको माग बढाउने र यातायातका साधनलाई खासगरी नगरबस र साना निजी तथा सरकारी क्षेत्रका कारलाई अहिले प्रयोग भइरहेको खनिज इन्धनको साटो विद्युतीय सवारीमा रूपान्तरण गर्नु अबको बाटो बन्नुपर्छ । नेपालले वार्षिक खर्बौंको खनिज इन्धन आयात गर्दै आएको छ । यसलाई विस्थापन गर्ने प्रभावकारी साधनका रूपमा जलविद्युत्ले अब भूमिका खेल्ने आशा गर्न थालिएको छ । निजी र सरकारी क्षेत्रका निर्माणाधीन विद्युत् आयोजनाबाट उत्पादन सुरु भइसक्दा बर्सेनि अर्बौं रुपैयाँको विद्युत् निर्यात हुने सम्भावना छ । यसरी विद्युत् क्षेत्रले नेपालको अर्थतन्त्रका सूचकलाई सकारात्मक मोड दिने सम्भावना देखिँदै छ ।

नेपालको अर्थतन्त्रलाई वर्तमान अविकासको गोलचक्करबाट माथि निकाल्ने उपाय भनेकै नेपालको आफ्नो स्रोतमा आधारित उत्पादनका क्षेत्र पहिचान गरी विस्तार गर्नु र सकेसम्म आन्तरिक रूपमा रोजगारी सिर्जना गर्ने क्षेत्रमै लगानी आकर्षित गर्नु हो । विद्युत् आफैँमा अन्तिम उपभोग्य उत्पादन मात्र होइन, बरु यो अरू उद्योग र व्यवसायका लागि अनिवार्य कच्चापदार्थ पनि हो । विद्युत्मा बढ्दै गएको आत्मनिर्भरताले थप उद्योग र व्यवसाय विस्तारमा सहयोग पुग्ने र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहज हुनेछ । विद्युत्को खपत वृद्धि गर्न प्राधिकरणले वितरण प्रणालीलाई थप विश्वसनीय बनाउने र शुल्कलाई लचकदार बनाउने प्रयास गर्नुपर्ने देखिन्छ ।