१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १ आइतबार १०:५०:००
Read Time : > 1 मिनेट
नयाँCity

धुलिखेलमा  सुपरम्यान

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार १०:५०:००

फ्लाइङ

सहरका गन्तव्य

काठमाडौंनजिकको पर्यटकीय गन्तव्य, धुलिखेल । मनोरम प्राकृतिक वातावरणमा रमाउन चाहनेका लागि प्रिय ठाउँ । आँखैमा ठोक्किन आइपुग्ने सेताम्य हिमाल, मनमोहक बस्ती र हरियालीमा रमाउने पर्यटकले १० महिनायता साहसिक खेल जिपलाइनको मजा लिइरहेका छन् । धुलिखेलबाट डोरीमा झुन्डिएर मनोरम दृश्यावलोकन गर्दै पाँचखाल पुगिन्छ । गत चैतदेखि यो जिपलाइन सुरु भएको हो ।

धुलिखेलको थाक्ले डाँडादेखि पाँचखालको खावासम्म ११ सय मिटर लामो जिपलाइन सञ्चालनमा छ, जुन काठमाडौंबाट ३३ किमि टाढा पर्छ । फलामको डोरीमा घिर्नीको सहायताले झुन्डिएर तल झर्दै गर्दा लाङटाङ, दोर्जे लाक्पालगायत हिमालका साथमा पाँचखालको मनोरम फाँट देखिन्छ । उद्यमीद्वय भूपेश श्रेष्ठ र केदार थापाले यो जिपलाइन सञ्चालनमा ल्याएका हुन् । यसअघि पोखरामा मात्र जिपलाइन सञ्चालनमा थियो ।

धुलिखेलको जिपलाइनमा तीनवटा आकर्षण छन्– क्लासिक, सुपरम्यान र टेन्डम । क्लासिक र सुपरम्यान सिंगल उडान हुन् । टेन्डममा दुईजना एकसाथ उड्न मिल्छ । श्रेष्ठका अनुसार क्लासिक उडानका लागि २५ सय रुपैयाँ तिर्नुपर्छ । देशकै पहिलो सुपरम्यान जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । टेन्डम जिपलाइनमा दुईजनाको ४५ सय रुपैयाँ तिर्नुपर्छ ।

नवविवाहित जोडी, प्रेमी–प्रेमिका र साथीहरूसँग आउनेले टेन्डम रोज्छन् । सिंगल फ्लाइङ गर्न चाहनेको रोजाइ सुपरम्यान हुन्छ । जिपलाइनमा उड्दै गर्दा भिडियो बनाउने चाहना भए सुपर म्यान र क्लासिकको सात सय र जोडीको एक हजार तिर्नुपर्छ ।

१० देखि ७० वर्षसम्मका मानिसले जिपफ्लाई गरिरहेका छन् । श्रेष्ठ भन्छन्, ‘हाम्रो जिपलाइनमा धेरै फ्री फल हुँदैन, स्पिड पनि धेरै हुँदैन । तर, थ्रिलचाहिँ हुन्छ ।’ तौलअनुसार ६० देखि ९५ किमि प्रतिघन्टाको गति हुन्छ । सुरुको ६ सय मिटरसम्म अलि स्पिड हुन्छ, त्यसपछि बिस्तारै स्लो हुन्छ । तौलअनुसार बढीमा एक सय २० सेकेन्डमा यात्रा पूरा हुन्छ ।

श्रेष्ठ र थापा मिलेर जिपलाइनको ल्यान्डिङ स्टेसन खावामा रिसोर्ट पनि खोल्दै छन्, जसको साजसज्जाको काम हुँदै छ । एक महिनाभित्र सञ्चालनमा आइसक्ने रिसोर्टमा आठवटा कोठा हुनेछन् । रिसोर्ट परिसरमा पाँचवटा ठूला टेन्ट टाँग्ने योजना पनि छ । ‘धुलिखेलमा नाइट स्टेमा आउने ग्राहकलाई लक्षित गरेर रिसोर्ट खोल्न लागेका हौँ,’ श्रेष्ठ भन्छन् ।