मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर १ आइतबार १०:२३:००
Read Time : > 2 मिनेट
सेयर बजार

सेयरबजारमा लाभांश घोषणा र वित्तीय विवरणको प्रभाव

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर १ आइतबार १०:२३:००

कात्तिक महिनाको अन्तिम साता सेयरबजारमा वित्तीय विवरण र लाभांश घोषणाको प्रभाव देखिएको थियो । सो साता उच्च लाभांश घोषणा गरेका र नाफामूलक वित्तीय विवरण प्रकाशित गरेका कम्पनीमा लगानीकर्ताको विशेष आकर्षण देखिएको थियो । गत साता उच्च लाभंश घोषणा गरेका केही कम्पनीहरूको सेयरमूल्यमा निरन्तरजसो सकारात्मक सर्किट लागेको थियो । लाभांश घोषणा र नाफामूलक वित्तीय विवरणका कारण गत साताको सेयरबजार सकारात्मक भएर बन्द भएको छ । लामो समयदेखि नाफा कमाउन नपाएका लगानीकर्ताहरूले नाफा सुरक्षित गर्दा गत साताको मंगलबार र बुधबार बजारमा करेक्सन भएको थियो ।

लगानीकर्ताहरूको कमजोर मनोबलका कारण लामो समयदेखि बजार बढ्न सकिरहेको थिएन । कम्पनीहरूले घोषणा गरेको लाभांश र नाफामूलक वित्तीय विवरणले लगानीकर्ताहरूको मनोबल बढाउन केही टेवा पुगेको छ । बजार सुधार तथा विस्तारका कार्यले गति नलिएका कारण लगानीकर्ताको मनोबल घटेको थियो । नियामक निकायहरूले सेयरबजारमा सुधारका कार्यहरू भइरहेको दाबी गरे पनि लगानीकर्ताहरूको माग सम्बोधन नभएको एक लगानीकर्ताले बताए । 

बजार सारांश
गत साता नेप्से परिसूचक ३ दशमलव ९८ अंक बढेर १ हजार १ सय ३५ दशमलव ९५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता १ दशमलव ७४ अंक बढेर २ सय ५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स सो साता शून्य दशमलव ३८ अंक बढेर ८४ दशमलव ३३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८७ अंक बढेर ८० दशमलव ६० बिन्दुमा पुगेको छ । सो साता १ सय ८७ कम्पनीको २५ हजार ४ सय ८१ पटकको कारोबारमा १ अर्ब ७२ करोड ६७ लाख ८२ हजार रुपैयाँबराबरको ५८ लाख २८ हजार ९ सय १६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआईः गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४४ दशमलव ७१ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको आरएसआईले बजारमा सेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता १ दशमलव २९ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । सो साता कारोबारमा आएका १ सय ८७ कम्पनीमध्ये ८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ६७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३३ कम्पनीको सेयरमूल्य सो साता स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३७ दशमलव ८६ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय २७ दशमलव ९२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय १९ दशमलव ९० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ४५ दशमलव ८८ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ५५ दशमलव ८२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सर्वाधिक कारोबार हुनेमा एनएमबि बैंक
गत साता कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता ३ हजार ८० पटकको कारोबारमा ३३ करोड ५४ लाख ६७ हजार रुपैयाँबराबरको ८ लाख ९४ हजार ३ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सोही कारण लगानीकर्ता यस बैंकतर्फ आकर्षित भएका हुन् । ओम डेभलपमेन्ट बैंकसँगको सफल मर्जरपश्चात् अघिल्लो साताको बिहीबारदेखि बैंकको कारोबार सुरु भएको थियो । सो साता प्रभु बैंकको २ सय २७ पटकको कारोबारमा १२ करोड १९ लाख २७ हजार रुपैयाँबराबरको ४ लाख ७४ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 सर्वाधिक कमाउने सबैको लघुवित्त वित्तीय संस्था
गत साता सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक २३ दशमलव ९ प्रतिशत बढेको छ । कम्पनीले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र बोनस सेयरपश्चात् शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरोसँगै लगानीकर्ताहरू सो कम्पनीको सेयर खरिद गर्नतर्फ आकर्षित भएका हुन् । कम्पनीले सो बोनस सेयर र हकप्रद सेयरको प्रस्ताव पारित गर्न मंसिर २१ गते साधारणसभा आयोजना गर्दै छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गर्नेछ । त्यसैगरी, १ सय २ प्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिस्टिलरीको सेयरमूल्य १८ प्रतिशत बढेको छ । सो साता साल्टट्रेडिङ कर्पोरसनको सेयरमूल्य १६ दशमलव ७ प्रतिशत र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको १६ दशमलव १ प्रतिशत बढेको छ । चिलिमे हाइड्रोपावरको सेयरमूल्य सोसाता सर्वाधिक १७ प्रतिशत घटेको छ ।