१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०९:३९:००
Read Time : < 1 मिनेट
विश्व

महाअभियोगबारे भएको  सार्वजनिक सुनुवाइ ठट्टा : ट्रम्प

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०९:३९:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोग प्रस्तावअन्तर्गत आफूविरुद्ध अघि बढाइएकोे सार्वजनिक सुनुवाइलाई ठट्टा भनेका छन् । बुधबार राति पहिलो चरणको सुनुवाइ भएपछि ट्रम्पले भने, ‘मैले एक मिनेट पनि सो सुनुवाइ हेरेको छैन । किनभने, महत्वपूर्ण भेटघाटमा व्यस्त थिएँ । सुनुवाइमा भनिएका सबै कुरा बनावटी हुन् । सुनुवाइ अघि बढ्न दिनु हुँदैनथ्यो ।’

आफ्ना राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्वउपराष्ट्रपति जे बाइडेन र उनका छोरामाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको विषयमा ट्रम्पविरुद्ध डेमोक्र्याटिक पार्टीले महाभियोग प्रस्ताव दर्ता गरेको थियो । सोही प्रस्तावअन्तर्गत बुधबार साँझ सार्वजनिक सुनुवाइ भएको थियो ।

आफ्नो विस्तृत सम्बोधनमा युक्रेनका लागि अमेरिकाका कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्पले पूर्वउपराष्ट्रपति बाइडेनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने आफ्ना एक सहयोगीलाई भनेको बताएका थिए । टेलरका अनुसार राष्ट्रपति ट्रम्पले बाइडेनमाथि गर्न भनिएको अनुसन्धानबारे बोलेको टेलिफोन संवाद छेउमा बसेका ती कर्मचारीले सुनेका थिए ।

ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच के संवाद भएको थियो ?
ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको टेलिफोन वार्तामा डेमोक्र्याटिक नेता जे बाइडेनमाथि अनुसन्धान गर्न दबाब दिएको विवरण सार्वजनिक भएको थियो । सोही फोनवार्तालाई लिएर डेमोक्र्याटिक पार्टीले ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेको थियो ।

ह्वाइट हाउसले सार्वजनिक गरेको कल डिटेल्समा २५ जुलाईमा पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार बाइडेन र अन्य डेमोक्र्याटिक नेतामाथि भ्रष्टाचारको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई महान्याधिवक्ता विलियम पी बार र आफ्ना निजी वकिल रुडोल्फ डब्लु गिउलियानीसँग मिलेर काम गर्न अनुरोध गरेका थिए । फोन रेकर्डमा युक्रेनको एउटा ग्यास फर्ममा काम गर्ने बाइडेनका छोराविरुद्ध पनि अनुसन्धान सुरु गर्न भनिएको छ । ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडेनविरुद्ध अभियान चलाएको तथा उनको छवि धुमिल पार्न अमेरिकी सैन्य सहायता बन्द गरेको आरोप अस्वीकार गरेका छन् ।