१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०९:०७:००
Read Time : > 1 मिनेट
अर्थ

६ महिनामा फूलबारी रिसोर्ट सञ्चालनमा ल्याउने तयारी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०९:०७:००

रिसोर्टमा फसेको लगानी उठाउन तीन सरकारी बैंकले ऋण पुनर्संरचना गर्दै

पोखरास्थित फूलबारी रिसोर्टमा फसेको कर्जा उठाउन बैंकहरूले कर्जा पुनर्संरचना गर्ने भएका छन् । कुनै समय ‘दक्षिण एसिया’कै नमुना होटेलका रूपमा रहेको फूलबारी रिसोर्टलाई बैंकहरूले १० वर्षको अवधि दिएर कर्जा पुनर्संरचना गर्न लागेका हुन् । 

पाँचतारे होटेल फूलबारीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चयकोषले लगानी गरेका थिए । ०५३ सालमा यी संस्थाले होटेलमा १ अर्ब ३० करोड लगानी गरेका थिए । नेपाल बैंक ६५ करोड, वाणिज्य बैंकले ३५ करोड र बाँकी ३० करोड लगानी सञ्चयकोषको रहेको थियो ।     

अहिले पुरानो साँवा र साधारण ब्याज पुनर्संरचना गरेर करिब ३ अर्ब ४६ करोडको नयाँ कर्जा बनाइन लागिएको हो । ‘पहिलो वर्ष प्रत्येक त्रैमासमा ब्याज तिर्नुपर्ने र दोस्रो वर्षदेखि साँवा र ब्याज दुवै तिनुपर्ने गरी व्यवस्था मिलाइएको छ,’ नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने । नेपाल बैंकले यो परियोजनामा कर्जा लगानीको नेतृत्व गरेको थियो । पुनर्संरचना गरिएको कर्जाको औसत ब्याजदर ७.५ प्रतिशत तोकिएको छ । साँवामा परिणत भएको पुरानो ब्याज रकम २ अर्ब १५ करोडमा भने ब्याजदर कम लाग्नेछ । 

होटेल सञ्चालक पुयुषबहादुर अमात्यले पहिलो चरणमा ४० करोड रुपैयाँबाट होटेल पुनः सञ्चालनमा ल्याउन लागेका हुन् । उनले पोखरामा होटेलले चर्चेकोभन्दा बाहिरको जग्गा, वीरगन्ज र काठमाडौंमा रहेका केही जग्गा बिक्री गरेर सो रकमको जोहो गर्ने भएका छन् । फूलबारी रिसोर्ट र त्यसको आसपासमा मात्रै अमात्यको ४ सय रोपनी जग्गा रहेको बताइएको छ । ४० करोड रकम सबै ऋण लगानीको नेतृत्व गरेको नेपाल बैंकमा जम्मा हुनेछ । यसमध्ये १० करोड रुपैयाँ पुरानो ऋण तिर्न प्रयोग गर्ने र ३० करोड रुपैयाँ होटेलको पुनर्निर्माण, साजसज्जा र सञ्चालनमा खर्च गर्ने सहमति भएको छ ।  

अमात्यले आफूखुसी पैसा चलाउन भने पाउनेछैनन् । बैंकमा खाता खोलेरै ३० करोड रुपैयाँ राखिने र होटेलमा खर्च भएको प्रमाणित गर्ने बिल पेस भएपछि मात्रै बैंकबाट भुक्तानी हुने गरी व्यवस्था मिलाइएको छ । 

व्यवस्थापन म्यारियटले चलाउने 
महँगा पर्यटकभित्र्याउने उद्देश्यले खोलिएको यो होटेल मुलुकमा पर्यटन पूर्वाधार अभाव र सञ्चालकमा व्यवस्थापन क्षमता अभावका कारण फस्टाउन नसकेको मानिन्छ । अब भने होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले सम्हाल्ने भएको छ । म्यारियटले व्यवस्थापन मात्र सम्हाल्ने गरी आएको हो ।  

०५० सालको द्वन्द्वसँगै पर्यटन क्षेत्र ओरालो लागेपछि यसको मार यस होटेलमा समेत परेको मानिन्छ । मजदुर आन्दोलनसमेत खेपेको यो होटेल ०७३ फागुनदेखि पूर्ण रूपमा बन्द छ । हाल पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको र होटेलले पोखराका अन्य होटेलहरूको तुलनामा केही सुलभदरमा सेवा उपलब्ध गराउन सक्ने अपेक्षामा बैंकहरूले कर्जा पुनर्संरचना गरेका हुन् । 

कसरी हुन्छ कर्जा पुनर्संरचना ?
ऋणीले पेस गरेको लिखित कार्ययोजनामा बैंकहरू विश्वस्त भएमा कर्जाहरूलाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने व्यवस्था छ । कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा कर्जासम्बन्धी कागजात तथा सुरक्षणहरू पर्याप्त भएको हुनुपर्छ । 

रुग्ण उद्योगका लागि कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गर्दा भने बैैंकहरूले न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्छ । रुग्ण उद्योगमा गएको बैंकको साँवा तथा ब्याजमध्ये हर्जाना ब्याजलाई मिनाहा हुन सक्ने व्यवस्था गरी साधारण ब्याजलाई पुँजीकृत नगरी छुट्टै राखी निश्चित अवधिपछि असुल गर्ने व्यवस्था गर्नुपर्छ ।