१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर १ आइतबार ०७:०८:००
Read Time : > 1 मिनेट
खेलकुद

विश्वकप छनोट खेल्न  क्लोज क्याम्पमा राखिएका खेलाडी नाइट क्लबमा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर १ आइतबार ०७:०८:००

विश्वकप छनोट खेल्न शनिबार भुटान उड्नुपर्ने खेलाडी सामान लिन घर जाने बहानामा शुक्रबार रातभर ठमेलमा बरालिएपछि निलम्बनमा परेका छन् । विश्वकप छनोट टिमका स्ट्राइकर विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरको हो । 

एन्फा प्रवक्ता किरण राईले शुक्रबार अबेर रातिसम्म ठमेलका विभिन्न क्लब चहारेको बलियो सूचना आएपछि तत्काल निलम्बन गरिएको बताए । ‘हामीले खेलाडीको सेवा–सुविधादेखि फुटबल विकासका लागि सक्दो प्रयास गरिरहेका छौँ, तर खेलाडी भने क्लोज क्याम्प छाडेर नाइट क्लबमा पुग्नु दुःखद छ,’ राईले भने । 

ठमेलमा उनीहरू रातभर मदिरामा लठ्ठिएर डिस्कोमा झुमेको मात्रै होइन, मोटरसाइकल दुर्घटनामा परेको पनि एन्फा स्रोतले बतायो । ‘खेलाडीहरू मदिरामा लठ्ठिएर रातभर डिस्कोमा मस्ती मात्रै गरेनन्, उनीहरू चढेको मोटरसाइकलसमेत दुर्घटनामा परेको छ, खुट्टामा चोट लागेको छ,’ एन्फा स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘लर्खरिँदै राति २ बजेतिर एन्फा कम्प्लेक्स आइपुगेका थिए । क्षमा दिनै नसकिने अवस्था भएपछि एन्फाले कारबाही गरेको हो ।’ विश्वकप छनोट खेलका लागि राष्ट्रिय टिम म्यानेजर मधुसुदन उपाध्यायले भने आफूले घटनाबारे विहान मात्रै थाहा पाएको बताए ।

शुक्रबार उनीहरू सागको क्लोज क्याम्पमा थिए । शनिबार भुटान जाने तयारीका लागि लगेज मिलाउनुपर्ने भन्दै साँझ त्यहाँबाट निस्किएको सागका टिम म्यानेजर अरुणमान जोशीले बताए । ‘हाम्रो टिम सांग्रीला ब्लु होटल कुपन्डोलमा बसेको थियो । हामीसँग भएका राष्ट्रिय टिमका सबै सदस्य लगेज मिलाउनुपर्ने भन्दै छुटी मागेर साँझ ७ बजेतिर यहाँबाट गएका हुन्,’ जोशीले भने, ‘त्यसपछि उनीहरू कता गए मलाई थाहा भएन ।’ 

सागको क्लोज क्याम्पबाट निस्किएपछि चार खेलाडी ठमेल गएका थिए । उनीहरू यसअघि पनि राति–राति डिस्को जाने गरेको एन्फा स्रोतले बतायो । ‘उनीहरू पहिले पनि त्यसरी जाने गरेको सूचना छ,’ स्रोतले भन्यो । 

खेलाडीको हर्कत थाहा भएपछि शनिबार बिहान एन्फा पदाधिकारी र प्रशिक्षक योहान कालिनबीच बैठक भएको थियो । बैठकले चारै खेलाडीलाई कुवेतविरुद्ध ३ मंसिरमा भुटानमा हुने खेलमा सहभागी नगराउने निर्णय गरेको छ । एन्फा प्रवक्ता राईले उनीहरूलाई तत्काल टिमबाट हटाउँदै कुवेतविरुद्धको खेलमा सहभागी नगराउने तथा थप कारबाहीबारे विस्तृत रिपोर्ट आएपछि निर्णय हुने बताए । ‘अहिले अध्यक्ष बाहिर हुनुहुन्छ । हामीले तत्काललाई निलम्बनमा राखेका छौँ । विस्तृत रिपोर्ट तयार भएपछि कस्तो कारबाही गर्ने भन्ने निष्कर्ष एन्फा बैठकले निकाल्छ,’ राईले भने । 

विमल टिमका भरपर्दा ट्राइकर हुन् । विश्वकप छनोटमै चाइनिज ताइपेविरुद्ध २–० को जित निकाल्दा मिडफिल्डर अञ्जनले दुवै गोल गरेका थिए । अर्का मिडफिल्डर सन्तोष र डिफेन्डर दिनेश पनि टिममा उत्कृष्ट खेलाडीमा पर्छन् । भरपर्दा खेलाडीले नै अनुशासन तोड्दा विश्वकप छनोट खेलमा नेपाललाई दबाब बढेको छ । एन्फाले शनिबार भुटान उडाउन २३ खेलाडी तयार पारेको थियो । तर, चारजना कारबाहीमा परेपछि २० खेलाडी मात्रै लगेको छ । सुवास गुरुङलाई शनिबार नै टिममा थपेर लगिएको हो । 

एम्फाको अनुशासन समिति नै निष्क्रिय
पदाधिकारीदेखि खेलाडीसम्मको अनुशासन हेर्न एन्फाले डेढ वर्षअघि समिति बनाएको थियो । तर, कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई एन्फाले उल्टै सम्मान गरेपछि समिति संयोजकले नै राजीनामा दिएका छन् । पाँचसदस्यीय सो समितिका संयोजक विजयनारायण मानन्धर भन्छन्, ‘मैले एक वर्षअघि नै राजीनामा बुझाइसकेँ । त्यसयता मलाई अनुशासनसम्बन्धी कुनै पनि विषय जानकारी छैन । कारबाही सिफारिस गरेको व्यक्तिलाई एन्फाले उल्टै सम्मान गरेपछि कसरी त्यहाँ बसिरहनू ?’