१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०९:३२:००
Read Time : > 1 मिनेट
अर्थ

सहमतिपछि पनि भएन प्रसारण लाइनको काम 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०९:३२:००

४५ दिनभित्र निर्माण सम्पन्न गर्ने गरी सहमति भएको एक महिना  बितिसक्दा पनि विवादित दुहबी–कटहरी ३३ केभी विद्युत् प्रसारण लाइनको ठप्प काम अझै सुरु हुन सकेको छैन । घना मानव बस्तीबाट हाइटेन्सन लाइन लान लागेको भनेर स्थानीयले काममा अवरोध गरेपछि जोखिम क्षेत्रमा ४५ दिनभित्र अन्डरग्राउन्ड गरेर प्रसारण लाइन विस्तारको काम सबै सक्ने विद्युत् प्राधिकरण र स्थानीयबीच सहमति भएको २२ दिन बितिसक्दा पनि काम सुरु हुन नसकेको हो । 

मोरङको कटहरी औद्योगिक क्षेत्रका लागि सुनसरीको दुहबीस्थित विद्युत् प्राधिकरणको ग्रिडबाट ३३ केभी प्रसारण लाइन विस्तार गर्न थालिएको थियो । तर, मोरङको ग्रामथान गाउँपालिका–३ मा पर्ने गिधानियावासीले घना मानव बस्तीबाट हाइटेन्सन लाइन विस्तार गर्न थालेको भन्दै काम ठप्प बनाएका थिए । उनीहरूले कि मानव बस्ती सानुपर्ने कि अन्डरग्राउन्ड गरेर प्रसारण लाइन विस्तार गर्नुपर्ने माग गरेका थिए । मोरङ ४ नम्बर निर्वाचन क्षेत्रमा पर्ने गिधानियावासीलाई संघीय सांसद अमनलाल मोदीले विकल्प खोजी गर्ने स्थानीयलाई आश्वासन दिएका थिए । 

विकल्पका लागि पहल गर्ने आश्वासन दिएपछि सांसद अमनलाल मोदीले नै गिधानिया क्षेत्रमा प्रसारण लाइन विस्तारमा अवरोध गराएको आरोप लागेको थियो । सोही विषयमा आरोप–प्रत्यारोप हुँदा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद अमनलालबीच मनमुटाब पनि बढेको थियो । संसदीय समितिको बैठकमा उनीहरूबीच आरोप–प्रत्यारोपसमेत भएको थियो । औद्योगिक प्रसारण लाइनमा स्थानीयले अवरोध गरेपछि १ कात्तिकमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेर ४५ दिनभित्र सबै काम सक्ने गरी सम्झौता गराएर अवरोध खुला गराएका थिए । सम्झौतामा घना मानव बसोवास भएको गिधानिया बस्तीको अढाई किलोमिटर क्षेत्रमा अन्डरग्राउन्ड गरेर ३३ केभी लाइन ४५ दिनभित्र बिस्तार गरिसक्ने उल्लेख गरिएको थियो । 

दुहबी–कटहरी ३३ केभी प्रसारण लाइन विस्तार परियोजना हेरिरहेका इन्जिनियर शैलेस सापकोटाले अवरोध भएको अढाई किलोमिटर क्षेत्रमा के–कस्तो गरी लाइन विस्तार गर्ने भन्नेबारे टेक्निकल अडिट भइरहेकाले काम सुरु हुन नसकेको बताए । उनले भने, ‘अडिट रिपोर्ट माथि पठाएका छौँ, स्वीकृत भएर आएपछि तुरुन्तै काम सुरु गर्नेछौँ ।’   
दुहबी ग्रिडका अनुसार दुहबी–कटहरी ३३ केभी प्रसारण लाइनको काम अवरोध भएको गिधानिया बस्तीको अढाई किलोमिटर क्षेत्रमा बाहेक सम्पन्न भइसकेको छ । ३३ केभी प्रसारण नहुँदा हालसम्म कटहरी औद्योगिक क्षेत्रमा टंकिसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । इन्जिनियरका अनुसार दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या पूर्ण रूपमा समाधान हुन्छ । विराटनगरमा समेत लो भोल्टेजको समस्या देखिँदैन ।