उपनिर्वाचनमा नेकपाको विकल्प छैन : नेपाल
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले १४ मंसिरमा हुने उपनिर्वाचनमा नेकपालाई मतदान गर्नुको विकल्प नभएको बताएका छन् । ‘संघ, प्रदेश र स्थानीय तहमा नेकपाकै बहुमत छ, यस्तो वेला तीनै तहमा समन्वय गर्दै आफ्नो ठाउँको विकास गर्ने नेतृत्व लिन नेकपाका उम्मेदवारले मात्रै सक्छन्,’ उनले भने ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वतीखेलमा भएको चुनावीसभालाई सम्बोधन गर्दै नेता नेपालले नेकपाले अब शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको सिर्जना गर्दै जाने बताए । नेता नेपालले उपनिर्वाचनमा भक्तपुरबाट नेकपाका उम्मेदवार देवीप्रसाद (डिपी) ढकाललाई जिताउन मतदातासँग आग्रह गरे । चुनावी सभाअघि सरस्वतीखेलमा नेता नेपालले उम्मेदवार ढकालसँगै घरदैलो गरेका थिए ।
उनले यसअघि पनि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपाकै उम्मेदवार हरिशरण लामिछाने विजयी भएको स्मरण गर्दै लामिछानेले यहाँका बासिन्दाको उज्ज्वल भविष्यका लागि देखेका सपना पूरा गर्न पनि पुनः नेकपाकै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफ्नो जोडी मिल्ने बताए ।