Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ३० शनिबार ०६:३०:००
Read Time : > 2 मिनेट
खेलकुद

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर  काठमाडौंमा

काठमाडौंका बालबालिकासँग आज कीर्तिपुरमा क्रिकेट खेल्दै, एउटा टिमको कप्तान सचिन, अर्कोको कप्तान विनोद दास

Read Time : > 2 मिनेट
२०७६ कार्तिक ३० शनिबार ०६:३०:००

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । उनी एक प्रदर्शनी खेलका लागि शुक्रबार अबेर राति नेपाल आइपुगेका हुन् ।  तेन्दुलकर नेपाल एयरलाइन्सको नियमित उडानमार्फत शुक्रबार राति ११.०६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनी शनिबार नै फर्कंदै छन् ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै तेन्दुलकरले भने, ‘नेपाल आउँदा निकै खुसी लागेको छ ।’ धेरै समर्थकले क्रिकेटका जिउँदा भगवान् मान्ने तेन्दुलकर नेपाल भ्रमण गर्ने अहिलेसम्मकै ‘हाई प्रोफाइल’ क्रिकेटर हुन् । उनीअघि भारतीय अन्य क्रिकेटर कपिल देव, सुनिल गवास्करले पनि नेपालको भ्रमण गरेका थिए । देव सन् १९९८ मा कीर्तिपुर मैदानमा भारतीय टेलिभिजन जी टिभीले आयोजना गरेको एक प्रतियोगिता खेल्न नेपाल आएका थिए । गवास्कर एक फरक कार्यक्रमका लागि नेपाल आएका थिए । 

त्यसपछि सन् २०१४ मा भारतीय राष्ट्रिय टोलीको कप्तान रहेकै वेला महेन्द्र सिंह धोनीले पनि नेपालको भ्रमण गरेका थिए । दक्षिण अफ्रिकी जोन्टी रोड्सलगायत क्रिकेटर पनि नेपाल आएका छन् । तर, तेन्दुलकरलाई भने नेपाली समर्थकले काठमाडौंमा पहिलोपटक स्वागत गर्ने अवसर पाएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेटका एक इतिहास तेन्दुलकरको भ्रमणबाट नेपाली क्रिकेटरले थप प्रेरणा लिने विश्वास गरिएको छ । नेपाली टोलीका पूर्वकप्तान विनोद दासले तेन्दुलकरको नेपाल भ्रमणको खबरले आफू निकै उत्साहित बनेको बताएका छन् । 

‘बाल्यकालदेखि नै म उनलाई नजिकबाट हेर्न चाहन्थेँ । यदि सबै चिज योजनाअनुसार नै भए क्रिकेटको पर्यायवाची व्यक्तित्वसँग म एउटै मैदानमा खेलिरहेको हुनेछु,’ पूर्वकप्तान दासले सचिनको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘कम्तीमा म क्रिकेटप्रति पागल देशका समर्थकसँगै त्रिवि मैदानमा उनको स्वागत गरिरहेको हुनेछु ।’

युनिसेफको निमन्त्रणामा शुक्रबार नेपाल आएका चर्चित क्रिकेटर सचिन तेल्दुलकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटेलतर्फ जाँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

शनिबार कीर्तिपुर मैदानमा तेन्दुलकरले उनै दास नेतृत्वको टोलीविरुद्ध प्रदर्शनी खेल खेल्दै छन् । तेन्दुलकर बालबालिकाको अधिकारका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् । बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा उनलाई नेपाल ल्याउन युनिसेफ सफल भएको हो । तेन्दुलकर र दासले काठमाडौंका विभिन्न विद्यालयबाट युनिसेफ आफैँले छनोट गरेका विद्यार्थी टोलीको नेतृत्व गर्दै प्रदर्शनी खेल खेल्नेछन् । युनिसेफले तेन्दुलकरसँग खेल्नका लागि विद्यार्थीको छनोट गरिसकेको छ । त्यसमा महिला र पुरुष दुवै छन् । खेल १०–१० ओभरको हुनेछ ।

१६ नोभेम्बर २०१३ मा सबै खाले क्रिकेटबाट सन्न्यास लिएका तेन्दुलकरले ६ वर्षपछि त्रिवि मैदानमा ब्याट समात्दाको उद्देश्य फरक हुनेछ । प्रदर्शनी खेल र उनले आफ्नो नेपाल बसाइका क्रममा गर्ने सबै गतिविधि बालबालिकासम्बन्धी अधिकारको प्रवद्र्धनका लागि हुनेछ । युनिसेफका सद्भाव दूतसमेत रहेका तेन्दुलकरले त्रिवि मैदानमा बालअधिकारको पक्षमा ब्याटिङ गर्नेछन् ।

झन्डै दुई घन्टा चल्ने खेलपछि तेन्दुलकरले त्रिवि मैदानमै नेपाली पत्रकारका प्रश्नको जवाफ दिनेछन् । मैदानमा नेपाली पत्रकारले तेन्दुलकरलाई सीधै प्रश्न गर्न भने पाउनेछैनन् । उनलाई सोधिने प्रश्न युनिसेफले शुक्रबार नै संकलन गरिसकेको छ । त्रिवि मैदानमा युनिसेफले नै सम्बन्धित पत्रकारको तर्फबाट सचिनलाई प्रश्न सोध्नेछ । त्यसमा उनले जवाफ दिनेछन् । 

तेन्दुलकरका केही कीर्तिमान

  •  अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक (टेस्टमा ५१, एकदिवसीयमा ४९ – १०० शतक)
  •  अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन (टेस्टमा १५,९२१, एकदिवसीयमा १८,४२६)
  •  विश्वकपमा सर्वाधिक सहभागिता (६ विश्वकप)
  •  एकदिवसीय क्रिकेटमा धेरैपटक प्लेयर अफ दी सिरिज (१५ पटक) 
  •  एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी (२०१०, दक्षिण अफ्रिकाविरुद्ध)

नेपाली खेलाडीले तोडेको तेन्दुलकरको कीर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरले दर्जनौँ कीर्तिमान आफ्नो नाममा बनाएका छन् । त्यसमध्ये एउटा कीर्तिमान नेपाली खेलाडी रोहित पौडेलले तोडिदिएका छन् । रोहितले सचिनको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । 

तेन्दुलकरले पाकिस्तानविरुद्धको टेस्ट खेलमा १६ वर्ष २१३ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए । उनको यो प्रदर्शन अन्तर्राष्ट्रिय सबै खाले क्रिकेटमा सबैभन्दा कम उमेरमा प्रहार गरिएको अर्धशतक थियो ।

उनको यो कीर्तिमान रोहितले गत १२ माघमा १६ वर्ष १४६ दिनको उमेरमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको एकदिवसीय खेलका क्रममा तोडेका हुन् । रोहितले सो खेलमा ५८ बलमा ५५ रन प्रहार गरेका थिए ।